माओवादीको बन्दसत्र सोमबार बिहानदेखि- समाचार - कान्तिपुर समाचार

माओवादीको बन्दसत्र सोमबार बिहानदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा(माओवादी केन्द्र)को बन्दसत्र सोमबार बिहान ११ बजेदेखि प्रज्ञा भवनमा सुरु हुने भएको छ । आइतबार उद्घाटनशत्र भव्य कार्यक्रमका साथ सम्पन्न गरेको माओवादीको बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरिएको छ ।

उद्घाटन सत्रको समापनको अवसरमा उद्घोषक समेत रहेका स्थायी समिति सदस्य जनार्दन शर्माले बन्दसत्रको बारेमा जानकारी दिएका हुन् । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुनेछ ।

विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ । कमलादीस्थित हलमा नै बन्दसत्र आयोजना गरिने भए पनि हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबारमात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।

नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्दसत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ ।

प्रकाशित : पुस ११, २०७८ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रियताको विषयमा कसैसँग नझुक्ने सबैले प्रतिबद्धता गर्नुपर्छ : नेता श्रेष्ठ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय राजनीतिमा पाँच वटा कार्यभार रहेको बताएका छन् । आठौं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने पाँच वटा कार्यभार भएको बताएका हुन् ।

उनले राष्ट्रियताको सम्वर्द्धन, संविधानको रक्षा, लोकतन्त्रमा आधार बाएर सामाजिक आर्थिक रुपान्तरण, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने र समाजवादी क्रान्ति गर्ने कार्यभार रहेको बताए । 'राष्ट्रियताको विषयमा कसैसँग नझुक्ने सबै प्रतिबद्ध हुनुपर्छ, संविधानको रक्षा गर्ने र त्यसमा आवश्यकताअनुसार संशोधन गर्ने,' श्रेष्ठले भने 'लोकतन्त्रलाई आधारमा सामाजिक आर्थिक रुपान्तरण गर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने समाजवादी क्रान्ति सम्पन्न गर्ने हो ।'

उनले संविधानको आवश्यकताअनुसार संशोधन गरे पनि यसको महत्वपूर्ण विशेषता रक्षा गर्नुपर्ने बताए । त्यसैगरी शान्ति प्रक्रियाको बाँकी रहेको सत्य तथा मेलमिलाप, बेपत्ताको छानबिन बाँकी काम चाँडो समाधान गर्नुपर्ने बताए ।

प्रकाशित : पुस ११, २०७८ २२:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×