माओवादी महाधिवेशन

देउवाको बोलीमा दाहालको लोली 

प्रकाश धौलाकोटी

काठमाडौँ — ५० को दशकपछि नेपाली राजनीतिमा निरन्तर छाएका पात्र हुन्–शेरबहादुर देउवा र पुष्पकमल दाहाल । यसबीचको करिब ३० वर्षमा देउवा–दाहालबीच राजनीतिका सबै चरित्र मेल हुने गरी द्वन्द्व, घोचपेच र मिलाप भएको छ । आइतबार फेरि एउटै मञ्चमा देउवाले दाहालको प्रशंसा गरे, त्यही मौकामा देउवाको बोलीमा दाहालले लोली मिलाए । 

देउवाको बोलीमा दाहालको लोली 

पाँचौँपटक प्रधानमन्त्री बनेका देउवा भर्खरै कांग्रेसको दोस्रो कार्यकालका लागि सभापति बनेका छन् । १० वर्षे सशस्त्र विद्रोह, शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै दुई पटक प्रधानमन्त्री भइसकेका दाहाल नेकपा माओवादी केन्द्रको अध्यक्ष छन् । यसपटक देउवा–दाहाल सम्बन्ध पाँच दलीय गठबन्धनमा बाँधिएको छ ।

संसद् विघटनविरुद्व मोर्चाबन्दी गरेका कांग्रेस, माओवादी केन्द्रसहित पाँच दलले आफूलाई प्रधानमन्त्री बनाएपछि देउवा पनि गठबन्धनप्रति उत्तरदायी देखिन्छन् । अनि पटक–पटक जुट र टुटफुटबाट एक्लिएका दाहाल त्यही गठबन्धनको लामो आयु चाहन्छन् । देउवा–दाहालको त्यो ‘गठबन्धन प्रेम’ आइतबार दाहालको पार्टी माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा पोखियो । माओवादी महाधिवेशनमा प्रमुख अतिथि बन्न पुगेका कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले करिब पाँच मिनेट बोले । तर, उनले त्यसमध्येको धेरै समय दाहाललाई खुसी पार्नमै खर्च गरे भने केही हँस्सीमजाकमा ।

दाहाललाई सम्बोधन गरेर बोल्न सुरु गरेका देउवाले अरु नेताहरूलाई एकमुष्ट सम्बोधन गर्दै भनेका थिए, ‘सबैको नाम सबैलाई थाहा छँदैछ, नाम भनेर किन टाइम खेर फाल्नु भन्ने लाग्यो ।’ हलमा हाँसो मच्चियो । दाहालसहित मञ्चासिन नेताहरू मुस्कुराए ।

त्यसपछि देउवाले माओवादी केन्द्रमा भइरहेको सहमतिको प्रशंसा गरे । ‘उहाँहरूले सहमतिबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा बदल्नुभएछ, हर कुरामा सहमति भएको अझै राम्रो हुन्छ,’ देउवाले भने, ‘हुन त मैले अर्को पार्टीको विषयमा जान्ने हुने कुरा छैन ।’

उनले नेपालको राजनीतिमा दाहालले धेरै ठूलो योगदान पुर्‍याएको बताए । ‘अहिले पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान दिनुभएको छ । शान्ति प्रक्रिया र संविधानसभाको चुनाव घोषणा, संविधान निर्माण कुरामा । वास्तवमा उहाँको बलले हामी संविधानसभामा गएका हौँ,’ देउवाले भने, ‘यस अर्थमा संविधान बनाउने कुरा जो हो, ००७ सालमै कांग्रेस पार्टीले प्राप्त गरेको कुरा हो । तर, धेरै ठूलो लडाइँ भएपछि मात्रै पुष्पकमल दाहालजीकै नेतृत्वमा संविधानसभाको चुनाव भएर संविधान बनेको छ, यो समावेशी छ, समानुपातिक आधारमा छ, र संघीयता छ, गणतन्त्र छ, र यसरी नेपालको संघीयतासहितको गणतन्त्रात्मक संविधान जो बनेको छ, यो काममा पुष्पकमल दाहालजीको योगदान सबैभन्दा माथि छ ।’

यसअघि सत्ता गठबन्धन राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्म मात्रै हुने भन्दै आएका देउवाले आइतबार दाहाललाई खुसी पार्ने अर्को वक्तव्य दिए, ‘यो गठबन्धन संसद्को‌ पुरै कार्यकाल चल्छ, म त अझै परसम्म लैजान चाहन्छु ।’ गठबन्धनको भविष्यबारे पटक–पटक चिन्ता व्यक्त गरिरहेका दाहाललाई देउवाको यो बोलीले पनि ठूलै राहत मिल्यो ।

देउवापछि महाधिवेशनलाई सम्बोधन गरेका दाहालले देउवाको जवाफी प्रशंसा त गरे नै, आफूबारे बोलेका दुई वक्तव्यले प्रफुल्लित भएको खुलेरै व्यक्त गरे । ‘बडो संक्षिप्त बोल्ने हाम्रो प्रधानमन्त्रीजीले आज बडो सुन्दर बोल्नुभयो, कस्तो मीठो बोल्न सक्या जस्तो लाग्यो !,’ दाहालले भने, ‘उहाँले कति सजिलै भनिदिनुभयो, यो सबै प्रचण्डले नै गर्दा भएको हो है, नत्र हुन्थेन भनेर । मलाई डर पनि लाग्यो कि उहाँको यही बोलीका कारण कांग्रेसभित्र अलिअलि आलोचना खेप्नुपर्ने त होइन ?’

दाहालले देउवाले इतिहासका खास–खास मौकामा महत्वपूर्ण स्टेटमेन्ट दिने गरेको भन्दै प्रशंसा सुरु गरे । ‘म युद्व गरिरहेका थिएँ, उहाँ देशको प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यो बेला नै उहाँले मलाई ‘बहादुर नेता’ भन्नुभयो । एउटा विद्रोही नेतालाई सत्ताको नेतृत्व गरिरहेको प्रधानमन्त्रीले ‘बहादुर नेता’ भन्ने कुरा सानो कुरा होइन, तर उहाँले सहज ढंगले भनिदिनुभयो, त्यसको जबरजस्त प्रभाव देशमा परेको थियो,’ दाहालले भनेका थिए ।

त्यसपछि दाहालले देउवाको बोलीसँगै जोडिएको अर्को प्रसंग सुनाए, ‘पछिल्लो पटक हामीले प्रधानमन्त्री लेनदेन गर्‍यौँ, आलोपालो । मैले जतिबेला जस्तो अवस्थामा प्रधानमन्त्री हस्तान्तरण गर्ने भन्ने सहमति भएको थियो, मैले त्यसैगरी उहाँलाई प्रधानमन्त्री प्रस्ताव गरेँ । उहाँले संसद्को‌ मञ्चबाट बडो सजिलो गरी भन्नुभयो, प्रचण्ड त राजनेता नै रहेछन्, राजनेता भेटियो भन्नुभयो, कति सजिलै भन्नुभयो, तर उहाँले ठूलो स्टेटमेन्ट भन्नुभएको थियो ।’

दाहालले आफूबारे बोल्दा देउवा दाहाललाई ध्यानपूर्वक सुनिरहेका थिए । ‘अहिले मेरो भूमिकाबारे उहाँले जे भन्नुभयो, म उहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु,’ दाहालले भने, ‘अहिले पनि उहाँले कति सजिलै धेरै महत्वपूर्ण कुराहरू भन्नुभयो, वास्तवमा यो एकदमै ठूलो स्टेटमेन्ट हो कि उहाँले गठबन्धनलाई पनि परैसम्म लैजाने कुरा भन्नुभयो । हामी सबैले सुन्न चाहेको कुरा पनि त्यही थियो ।’

त्यसो त देउवा–दाहालबीच यस्ता अनेक राजनीतिक संयोग छन् । दाहाल जनयुद्वमा हुँदै खेरी देउवाले उनको प्रशंसा गर्ने गरी बोलेपछि देउवा–दाहालबीच अन्तरंग कुराकानी हुने गरेका निकट नेताहरू बताउँछन् ।

देउवा–दाहालबीचको राजनीतिक सम्बन्ध ०५२ देखि सुरु भएको देखिन्छ, तत्कालीन जनमोर्चाले मागपत्र बुझाउँदा देउवा नै प्रधानमन्त्री थिए । पछि देउवा दाहाल जनयुद्वको नेतृत्व गरेर भूमिगत भएपछि देउवाले नै दाहाललाई भूमिगत घोषणा गरेका थिए ।

तर, दाहाल शान्तिपूर्ण राजनीतिमा आएपछि भने उनीहरूबीच राजनीतिक सौदाबाजी नै भयो । देउवाको सहयोगमा ०७३ मा प्रधानमन्त्री बनेका दाहालले ०७४ मा चुनावी सरकारको नेतृत्वमा देउवालाई अघि सारेका थिए ।

०७४ को स्थानीय तहको चुनावमा देउवाले दाहालपुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाउन अन्तिम समयमा आफ्नो उम्मेदवारको उम्मेदवारी फिर्ता गरिदिएका थिए । तर, प्रतिनिधिसभा निर्वाचन दाहालले एमालेसँग गठबन्धन गरेपछि रुष्ट बनेका उनले कम्युनिष्टको भर नहुने भन्ने गरेका थिए । पछिल्लो पटक गठबन्धन र गठबन्धन सरकार निर्माणको वातावरण बनाउन पनि देउवा–दाहालको पुरानो सम्बन्ध उपयोगी बनेको नेताहरू बताउँछन् ।

प्रकाशित : पुस ११, २०७८ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?