१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

माओवादीको राष्ट्रिय सम्मेलन कसरी रुपान्तरण भयो महाधिवेशनमा ?

मणि दाहाल

काठमाडौँ — प्रथम राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको नेकपा (माओवादी केन्द्र)ले उद्घाटनको एक दिनअघि महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ । पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो । जसलाई औपचारिकता दिन केन्द्रीय समितिको बैठक आइतबार बिहान बस्नेछ ।

माओवादीको राष्ट्रिय सम्मेलन कसरी रुपान्तरण भयो महाधिवेशनमा ?

२०६९ माघमा हेटौंडामा सातौं महाधिवेशन गरेको माओवादीले नेतृत्व छान्न सकेको थिएन । अध्यक्ष पुष्पकमल दाहाल संस्थापन र बाबुराम भट्टराई पक्षबीच सहमति जुट्न नसकेपछि अध्यक्षमा दाहाललाई पुनर्निर्वाचित गरेको थियो । अर्को वर्ष विराटनगरमा राष्ट्रिय सम्मेलन गर्दै पदाधिकारी छानेको थियो ।

२०७४ को निर्वाचनको ठीक अघि रामबहादुर थापाको नेतृत्वको मोहन वैद्यसँग अलग्गिएको समूह, मातृका यादव र मणि थापासहितको समूहसँग एकीकरण गरेर नेकपा (माओवादी केन्द्र) बनेको थियो । एमालेसँग एकीकरणको शून्य अवधि गणना गरेर यसै वर्ष नेतृत्व छनोटका लागि महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्नुपर्ने बाध्यतामा माओवादी छ । वैचारिक र तयारीको विषयमा समय पर्याप्त नभएको भन्दै माओवादीले महाधिवेशन नभई राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनले पनि राजनीतिक दलहरुलाई ५ वर्षमा महाधिवेशन वा राष्ट्रिय सम्मेलनबाट नेतृत्वको निर्वाचन हुनुपर्ने व्यवस्था गरेको छ ।

माओवादीहरुले दुई वटा महाधिवेशनको बीचमा राष्ट्रिय सम्मेलन गर्ने अभ्यास गर्दै आएका थिए । वडा, पालिका हुँदै प्रदेशस्तरमा समेत कतिपय ठाउँमा चुनावै भएर प्रतिनिधिहरु राष्ट्रिय सम्मेलनका लागि तयार भएर आएका थिए ।

माओवादी नेतृत्वले आगामी वर्ष निर्वाचनको वर्ष भएको र त्यस कारणले 'डिस्टर्ब' हुनसक्ने, महाधिवेशनमा लागि जुन रुपमा प्रतिनिधि छनोट र वैचारिक विषयमा समेत छलफल पुगेको भन्ने निष्कर्ष निकालेको छ । स्थायी समितिको बैठकअघि माओवादीका नेताहरुले निर्वाचन आयोगसँग परामर्श गरेका थिए । पूर्वमहान्यायाधीवक्ता मुक्ति प्रधानसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । एक स्थायी समिति सदस्यले भने, 'हेर्डक्वार्टरबाट प्रस्ताव आयो । हामीले त्यसमा धेरै छलफल गरेनौं । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गर्‍यौं ।'

निर्वाचन आयोगले पनि राष्ट्रिय सम्मेलनलाई महाधिवेशनको रुपमा लिनेसक्ने भनेर ग्रिन सिग्लन दिएपछि माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणाम गरेको हो ।

'सुरुदेखि नै महाधिवेशन भनेको भए अर्कै माहोल हुन्थ्यो र यसमा अलिकति रणनीतिक रुपमा पनि परिवर्तन भएको हो,' एक नेताले भने, 'महाधिवेशनमा विचारदेखि नेतृत्वसम्मको विषयमा चुनौती पनि आउसक्ने संभावना हुन्थ्यो । अन्तिम समयमा रुपान्तरण गर्दा सकैले केही भन्ने अवसर नै नपाउने भए ।'

शनिबार स्थायी समितिको बैठकले गरेको निर्णयको विषयमा कतिपय केन्द्रीय समितिको सदस्यहरु अनविज्ञ रहेका थिए । जसमध्ये एक लेखनाथ न्यौपानेले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । राष्ट्रिय सम्मेलनमा महाधिवेशन अन्तर्गतको एउटा कार्यक्रम हो । महाधिवेशन सबैभन्दा माथिल्लो तहको केन्द्रीकरण हो । त्यस अन्तर्गतको राष्ट्रिय सम्मेलन हो ।

'विचारको विषयमा बहस अलि परिपक्क र परिस्कृत भइनसकेको कारणले राष्ट्रिय सम्मेलन गरेर महाधिवेशनमा गर्ने भन्ने थियो,' केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने, 'सम्मेलनलाई महाधिवेशनमा भन्दिने कुरामात्रै हुन्छ होला । राष्ट्रिय सम्मेलनभन्दा महाधिवेशनको आयतन, छलफल र बहसको प्रक्रिया नै फरक हुन्छ । कसैले भनिदिएर उत्तिनै खेर सम्मेलन महाधिवेशनमा परिणत भइहाल्ने भन्ने हुँदैन । प्रक्रियाको हिसाबले गम्भीर हुन्छ ।'

न्यौपानेले अन्तिम समयमा आएर बैठक बोलाउने र छलफलका लागि पर्याप्त समय नहुने र बोल्ने समय पनि नहुने भन्दै असन्तुष्टि व्यक्त गरे । 'अन्तिम समयमा कुरा हुन्छ । त्यसमा पर्याप्तसँग छलफल गर्ने अवसर पनि हुँदैन,' न्यौपानेले भने ।

माओवादी केन्द्रले शनिबार दिउँसोसम्म सबै कामहरु राष्ट्रिय सम्मेलनको नाममा तल्लो तहको सम्मेलन गर्ने, प्रतिनिधि छान्ने, प्रचार सामग्री बनाउने, प्रस्ताव लेख्ने काम गरेको थियो ।

महाधिवेशनमा परिणत गर्ने निर्णयलगत्तै तुल, व्यानर, प्रतिनिधिहरुको कार्डमा समेत आठौं महाधिवेशन लेखेको बनाउन सुरु गरिएको उपत्यका विशेष प्रदेश समितिका सचिव सुरेन्द्र बस्नेतले बताए । 'हलको सेटअपदेखि सबै कुरा राष्ट्रिय सम्मेलनको नाममा गरेका थियौं । स्थायी समितिको निर्णयपछि सबै विषयमा परिवर्तन गर्न खोजेका छौं', बस्नेतले भने, 'नयाँ व्यानर बनाउनका लागि हामीले दिइसकेका छौं । प्रतिनिधिहरुको पनि राष्ट्रिय सम्मेलनको कार्ड बनाएका थियौं । अब नयाँ कार्ड बन्छ ।'

राष्ट्रिय सम्मेलन भनेर गरिएको तयारीलाई महाधिवेशनमा परिणात गर्न समय लाग्ने भएकाले निर्धारित कार्यक्रम केही ढिलो हुनसक्ने अनुमान गरिएको छ । माओवादीले राष्ट्रिय सम्मेलनमा अन्य दलका नेताहरुलाई शुभकामनाका लागि बोलाउने गरेको छ । तर, राष्ट्रिय सम्मेलनमा भएकाले नबोलाउने निर्णय थियो । 'आइतबार बिहान बस्ने केन्द्रीय समिति बैठकले यस विषयमा अन्तिम निर्णय गर्न सक्छ,' एक नेताले भने ।

प्रकाशित : पुस १०, २०७८ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?