२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेतृत्वमा सधैं दाहाल, जसको विमति उसकै बहिर्गमन

विगतका महाधिवेशन र सम्मेलनसँग दाँज्ने हो भने अहिलेकाे मा‌ओवादीको सम्मेलनमा शून्यता छ । किनकि यो सम्मेलनसम्म आइपुग्दा माओवादीमा दाहालका खास अनुयायीहरु मात्र बाँकी छन् । जो जसले उनीसँग वैचारिक संघर्ष गरे ती सबै पार्टीबाट पाखा लागिसकेका छन् । सम्मेलन दाहालको नेतृत्वलाई पुन: वैधानिकता दिने एउटा मञ्चको रुपमा प्रस्तुत हुँदैछ ।
मणि दाहाल

काठमाडौँ — एमालेसँगको एकता भंग भएर पुरानै अवस्थामा फर्किएपछि माओवादी केन्द्रको आइतबारबाट प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ । पंचायतकालदेखि सशस्त्र युद्ध हुँदै शान्ति प्रक्रियामा आएर डेढ दशकदेखि संसदीय अभ्यासमा अभ्यस्त भइरहेको मा‌ओवादीमा नेतृत्व भने पुरानै छ । सम्मेलन, महाधिवेशन जे भए पनि तीन दशकदेखि पार्टीको मूल नेतृत्वमा पुष्पकमल दाहाल नै छन् । यसपटककाे सम्मेलनले पनि मूल नेतृत्वबाहेकका केन्द्रीय नेताहरु मात्र चयन गर्दै छ ।  

नेतृत्वमा सधैं दाहाल, जसको विमति उसकै बहिर्गमन

देशभरका प्रतिनिधि भेला पारेर हुँदै गरेकाे सम्मेलनमा कोही पनि दाहालको विकल्पको कुरा गर्न सकेका छैनन् । न त वैचारिक विषयमा दाहालसँग स‌ंघर्ष नै गर्न आँट गरेका छन् ।

विगतका महाधिवेशन र सम्मेलनसँग दाँज्ने हो भने अहिलेकाे मा‌ओवादीको सम्मेलनमा शून्यता छ । किनकि यो सम्मेलनसम्म आइपुग्दा माओवादीमा दाहालका खास अनुयायीहरु मात्र बाँकी छन् । जो जसले उनीसँग वैचारिक संघर्ष गरे ती सबै पार्टीबाट पाखा लागिसकेका छन् ।

अर्कोतर्फ ३२ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका दाहाललाई राजनीतिक र संगठनात्मक नेतृत्वको चुनौती दिने नेताहरु टिक्न सकेका छैनन् । त्यसैले याे सम्मेलन दाहालको नेतृत्वलाई पुन: वैधानिकता दिने एउटा मञ्चको रुपमा प्रस्तुत हुँदैछ ।

नेकपा (क्रान्तकारी माओवादी) का नेता सीपी गजुरेल दाहाललाई संगठनात्मक र वैचारिक रुपमा चुनौती दिने नेताहरु अहिले माओवादी केन्द्रमा नभएको र पार्टी झनै कमजोर बन्दै गएको बताउँछन् ।

'अहिले नेकपा माओवादी केन्द्रमा प्रचण्डभन्दा सिनियर वा उनी जतिको हाइटको अर्को नेता छैन । त्यसैले अहिले पनि निर्विवाद अध्यक्ष हुने देख्छु,' गजुरेलले भने, 'उहाँ आफूसँग फरक मत राख्ने नेताहरुलाई मिलाएर लैजाने स्वभावको नेता होइन । माओवादी कति टुक्रामा विभाजित भयो त्यसले पनि देखाइहाल्छ ।'

गजुरेलकाअनुसार पार्टीभित्रको सबै पक्षलाई समेटेर लैजान र एकीकृत बनाइराख्ने विषयमा दाहाल जति जिम्मेवारी बन्नु पर्ने हो त्यत्ति छैनन् ।

सेक्टर काण्डपछि दाहाललाई नेतृत्व सुम्पेका मोहन वैद्यमात्रै नभएर बाबुराम भट्टराई, सीपी गजुरेल, रामबहादुर थापा, नेत्रविक्रम चन्द हुँदै गोपाल किराती, विश्वभक्त दुलाल आहुति, टोपबहादुर रायमाझी, हिसिला यमी, रविन्द्र श्रेष्ठ हुँदै मणि थापासम्म अहिले बाहिर रहेका छन् । आहुतिबाहेक अन्य नेताहरु जनयुद्धकालीन हुन् ।

सशस्त्र विद्रोहको नीति असफल भएपछि २०४६ सालमा तत्कालीन नेकपा मशालका महामन्त्री वैद्यले आफूसहितको नेताहरुको जिम्मेवारी एक/एक तह घटुवा गर्ने प्रस्ताव गर्दै दाहाललाई पार्टीको महामन्त्री बनाएका थिए ।

त्यसयता नेकपा एकता केन्द्र, नेकपा माओवादी, एकीकृत नेकपा माओवादी, नेकपा माओवादी केन्द्रसम्म आइपुग्दा दाहालको अविच्छिन्न नेतृत्व रहँदै आएको छ ।

दाहाललाई साथ छाडेकाहरु थापा, रायमाझीसहित केही नेता एमालेमा पुगेका छन् । उनीहरु एमाले र माओवादी केन्द्र एकता हुँदा नेकपा बनेका थिए । २०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले पछि एमाले र माओवादी विभाजन हुँदै थापा, रायमाझी सहितका नेताहरु एमालेमै रहे । उनीहरुको दाहालसँग वैचारिक विमति रह्याे ।

दाहालसँग निकै लामो समयदेखि सहकार्य गर्दै आएका थापा २०६९ मा दाहाल संसदीय भासमा गएको भन्दै अलग्गिएका थिए । उनीहरु जनयुद्धको कार्यदिशालाई दाहालले विसर्जन गरेर संसदीय भासमा डुबेको आरोप लगाउँदै वैद्यको नेतृत्वमा रहेका समूहले नेकपा-माओवादी (नेकपा-माओवादी) गठन गर्दा थापा पनि सँगै रहेका थिए ।

वैद्यसहितको नेतृत्व पनि क्रान्तिलाई अघि बढाउन आनाकानी गरेको भन्दै चन्दले अलग्गै दल नेपाल कम्युनिष्ट पार्टी गठन गरेका थिए । उनले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि बढाएको थियो ।

अर्कोतर्फ चन्दको नेतृत्वमा विभाजित भएको समूहले नेपाल कम्युनिष्ट पार्टी खोलेका थिए । सशस्त्र आन्दोलन गर्ने मनसायले हिँडेका चन्द अहिले सरकारसँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा फर्किएका छन् ।

किराती र आहुतिले भने एमालेसँगको एकीकरणपछि फरक-फरक दल गठन गरे । आहुतिले वैज्ञानिक समाजवाद नामको दल खोले र किरातीले नेकपा माओवादी केन्द्रको नामबाट राजनीतिलाई अघि बढाउने खोजेका थिए । दुवैले सैद्धान्तिक विषयमा स्पष्ट नभइ एकता गर्न हुने धारणा थिए । एमाले र माओवादीले आ-आफ्नो कार्यनीति कार्यदिशा जनता बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवादलाई स्थगित गरेको जनताको जनवाद लिएर अघि जाने सहमति गरेका थिए । किराती अहिले सबै माओवादी मिल्नुपर्ने धारणा राख्दै आएका छन् ।

रवीन्द्र श्रेष्ठ भने चुनवाङ बैठकपछि माओवादी छाडेका हुन् । सो बैठकले राजतन्त्रविरुद्ध राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्ने कार्यनीति पारित गरेको थियो ।

२०७४ सालको आमनिर्वाचन अघि थापासहितको टोली वैद्यलाई छाडेर दाहाल भएको ठाउँमा आयो । उनी मात्रै नभएर माओवादीबाट बाहिरिएका मातृका यादव र मणि थापासहितको समूह पनि मिसिन आइपुगेको थियो । नारायणकाजी श्रेष्ठको नेकपा एकता केन्द्रसँग एकता हुँदा यादव माओवादीबाट चोइटिएका थिए । रविन्द्र श्रेष्ठ सँगसगै माओवादी छाडे पनि मणि थापाले छुट्टै दल खोलेका थिए । रामबहादुरसँगै नेकपा हुँदै एमाले भए ।

त्यसैगरी संविधान जारी हुनेबित्तिकै भट्टराई र हिसिला यमीहरुले २०७४ सालमा दाहालको साथ छाडेका हुन् । पुरानो राजनीतिक दलबाट नयाँ राजनीतिक कोर्सको नेतृत्व नहुन नसक्ने भन्दै नयाँ शक्ति गठन गरेका भट्टराई अहिलेजनता समाजवादी पार्टीमा छन् ।

गजुरेल दाहालको नेतृत्वमा माओवादी सफल र असफल दुवै भएको ठान्छन् । तर पछिल्लो समयमा दाहाल राजनीतिमा सफल नभएको बुझाइ छ । 'पहिलो संविधानसभा कहाँ थियौं । अहिले प्रचण्डले नेतृत्वको दलको अवस्था कस्तो छ यो हेर्दै थाहा भइहाल्छ । पार्टी रहने कि नरहने अवस्था छ,' गजुरेलले भने, 'उहाँको नेतृत्व सफल हो कि होइन भन्ने विषय अहिले परिणामले देखाइहालेको छ ।'

पहिलो संविधानसभा चुनावमा ६ सय १ सांसदमध्ये २ सय २० स्थान जित्दै माओवादी सबैभन्दा ठूलो दल बनेको थियो । अहिले प्रतिनिधिसभामा ४८ सीटका साथ तेस्रो स्थानमा छ । दोस्रो संविधानसभाको चुनाव माओवादी केन्द्र झनै कमजोर अवस्थामा रहेको थियो ।

राजनीतिक विश्लेषक हरि रोका बीपी कोइरालाको कांग्रेसको राजनीति जसरी माओवादीभित्र दाहालको डोमिनेसन रहेको कारण चुनौती दिने व्यक्ति निस्कन नसकेको बताउँछन् ।

'जसरी बीपी रहुन्जेल उहाँको कांग्रेस बीपीको डोमिनेसन रह्यो माओवादीमा पनि प्रचण्डको त्यस्तै हो । बीपी कोइरालाले पनि पनि आन्दोलन हाँकेर आउनु भएको हो र अहिले असफलताको विषयमा प्रचण्ड जति कुरा गरे पनि जनयुद्ध र २०६२-०६३ को आन्दोलन पनि माओवादीको छत्रछायामा भएको हो', रोकाले भने, 'प्रचण्डले नछाडुन्जेल उहाँलाई माओवादी चुनौती दिनसक्ने कोही निस्कन्छन भन्ने लाग्दैन । नयाँ पुस्ताको मानिसले चुनौती दिनका लागि वैचारिक, राजनीतिक विषयमा सार्प हुनुपर्‍यो नि ? संगठनिक विषयमा पनि त्यही प्रकारको हुनुपर्‍यो । प्रचण्डको जुन प्रकारको राजनीतिक चरित्र छ त्यो माओवादीभित्र प्रभावशाली नै छ ।' रोकाले अहिलेको एमाले र कांग्रेसमा पनि मूल नेतृत्वमा एक प्रकारको अवस्थामा देखिएको बताए ।

प्रकाशित : पुस १०, २०७८ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?