यी हुन् १४ औं महाधिवेशनपछि कांग्रेसको पहिलो बैठकका पाँच निर्णय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यी हुन् १४ औं महाधिवेशनपछि कांग्रेसको पहिलो बैठकका पाँच निर्णय

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार बसेको छ । केन्द्रीय निर्वाचन समितिबाट प्रमाण पत्र लिएलगत्तै सभापति शेरबहादुर देउवाले पहिलो बैठक राखेका हुन् । बैठकले विभिन्न पाँच वटा निर्णयहरू गरेको महामन्त्री गगन थापाले जानकारी दिए । 

बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री थापाले बताए ।

त्यस्तै, पार्टीको महाधिवेशनलाई सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ । बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

१४ औं महाधिवेशनबाट कांग्रेसमा १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ । शनिबार समितिका पदाधिकारीले प्रमाण पत्र बुझेलगत्तै पहिलो केन्द्रीय समिति बैठक बसेको हो ।

प्रकाशित : पुस १०, २०७८ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्

खुकुरी हानेर भाग्दै गरेकालाई समाउन खोज्दा प्रहरीमाथि नै प्रहार

कान्तिपुर संवाददाता

काठमाडौँ — शनिबार मध्यरातमा तारकेश्वरमा एक जनालाई खुकुरी हानेर भाग्दै गरेकालाई समाउन खोज्दा उल्टै प्रहरीमाथि नै खुकुरी प्रहार भएको छ ।

रामेछापका शनि तामाङको खुकुरी प्रहारबाट दोलखा चरिकोट गाउँपालिका–१ का सुवास तामाङ र महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायब निरीक्षक पदम अवस्थी घाइते भएका हुन् ।

प्रहरीका अनुसार तार्केश्वर नगरपालिका–८ शेषमती लामबगर नजिक सामान्य विषयमा विवाद हुँदा रामेछापको मन्थलीस्थित लिखु गाउँपालिका घर भई हाल तार्केश्वर नगरपालिका जरङ्खु बस्ने २९ वर्षीय शनि तामाङले सुवास तामाङलाई खुकुरी प्रहार गरेका थिए । उनको टाउको र घाँटीको पछाडिको भागमा चोट लागेको छ । उनीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

तामाङलाई घाइते बनाई भाग्ने क्रममा लखेट्दै जाँदा महानगरिय प्रहरी वृत्त बालाजु दरबन्दी भई हाल महानगरी प्रहरी प्रभाग धर्मस्थलीमा कार्यारत प्रहरी नायब निरीक्षक पदम अवस्थीलाई समेत खुकुरी प्रहार गरेका थिए । अवस्थीको टाउकोमा चोट लागेको र उनको नेपाल प्रहरी अस्पतालमा उपचार थालिएको छ । खुकुरी प्रहार गर्ने तामाङ प्रहरीको नियन्त्रणमा आइसकेको र उनीमाथि अनुसन्धान जारी रहेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

प्रकाशित : पुस १०, २०७८ १४:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×