उपलब्धि उल्ट्याउन खोज्नेसँग माओवादी केन्द्रको प्रमुख अन्तरविरोध

आफ्नै शक्तिमा क्रान्तिकारी पार्टी निर्माण गर्ने, विचार मिल्ने वामपन्थी शक्तिसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्दै जाने प्रस्ताव

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक रूपमा माओवादी सशस्त्र विद्रोह र आन्दोलनको उपलब्धिलाई उल्ट्याउन खोज्ने शक्ति तथा बाह्य क्षेत्रमा अन्तर्राष्ट्रिय वित्तीय पुँजीवादसँग प्रमुख अन्तरविरोध रहेको दाबीसहित राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आइतबार सुरु हुने प्रथम एकता राष्ट्रिय सम्मेलनमा पेस हुने प्रतिवेदन स्थायी कमिटीमा प्रस्तुत गरेका छन् ।

उपलब्धि उल्ट्याउन खोज्नेसँग माओवादी केन्द्रको प्रमुख अन्तरविरोध

‘कुनै पनि देशको आर्थिक, सामाजिक र राजकीय क्षेत्रसहितको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय शक्तिहरूले वित्तीय पुँजीवादमार्फत हस्तक्षेप गर्ने गरेका छन्,’ प्रतिवेदनलाई उद्धृत गर्दै एक स्थायी कमिटीका सदस्यले भने, ‘अहिले युद्ध र आन्दोलनबाट प्राप्त गरेको उपलब्धि खतरामा पार्ने विभिन्न प्रकारका प्रतिगामी शक्तिहरूविरुद्ध संघर्ष गर्नुपर्छ ।’ प्रतिवेदनमा दाहालले उपलब्धिको रक्षा गर्ने र संविधानले व्यवस्था गरेको समाजवादको आधार तयार पार्ने विषयमा जोड दिएका छन् ।

प्रतिवेदनमा विभिन्न सम्झौताको माध्यमबाट राज्यका सामाजिक–आर्थिक चरित्रमाथि हस्तक्षेप गरी अर्को अनुत्पादक क्षेत्रमा लगानी गर्ने गरी पुँजी आएको उल्लेख छ । ‘राज्य व्यवस्थामा हस्तक्षेप गर्ने, देशको सामाजिक सम्बन्धलाई बिथोल्ने, निर्देशन दिने, देशको शोधानान्तरमा पनि घाटा लगाउने काम अन्तर्राष्ट्रिय पुँजीपतिहरूले गरिरहेका छन्,’ प्रतिवेदन उद्धृत गर्दै ती नेताले भने ।

राजनीतिक हिसाबले सर्वहारा–उत्पीडित वर्गको अग्रदस्ता तथा समाजवाद निर्माणको मुख्य शक्तिका रूपमा पार्टीलाई विकास गर्ने दाबी दाहालले गरेका छन् । सम्मेलनमार्फत ‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने संकल्प’ सहित उनले प्रतिवेदनमा समाजवादउन्मुख समृद्धिको कार्यनीति अगाडि सारेका छन् ।

बैठकमा दाहालले प्रतिवेदनमा समेटिएको राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, नेपाल र विश्व कम्युनिस्ट अवस्था, शान्ति प्रक्रियाको समीक्षा, आगामी कार्यदिशा र पार्टी संगठनको संरचनालगायत विषयमा संक्षिप्त ‘ब्रिफिङ’ गरेका छन् । उनले प्रतिवेदनमा एमालेसँगको एकता, संसद् विघटन, नेकपा भंग, शेरबहादुर देउवा नेतृत्वको सरकार गठनलगायत विषयमा पनि चर्चा गरेका छन् ।

शनिबार बस्ने स्थायी कमिटी बैठकले प्रतिवेदन अनुमोदन गरेपछि पत्रकार सम्मेलन गरेर यसका प्रमुख विषयवस्तुबारे जानकारी दिने दाहालको तयारी छ । स्थायी कमिटी बैठकमा सदस्यहरूलाई प्रतिवेदन भने वितरण गरिएको छैन ।

प्रतिवेदनमा दाहालले माओवादीले अंगीकार गर्ने समाजवादको मोडलको विस्तृत व्याख्या गरेको उनीनिकट नेताहरूले बताएका छन् । ‘अध्यक्ष कमरेडको प्रतिवेदनले अन्य राजनीति दलले भनेको समाजवादभन्दा माओवादीले भनेको समाजवाद कति फरक छ भन्ने स्पष्ट गर्नेछ,’ स्थायी कमिटीका एक सदस्यले भने ।

पार्टीलाई संगठनात्मक रूपले जनआधारित विशाल कार्यकर्ता पंक्तिसहितको शक्तिका रूपमा विकास गर्ने दाहालको प्रस्ताव छ । आफ्नै शक्तिमा क्रान्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिसँग सहकार्य, मोर्चाबन्दी र ध्रुवीकरण गर्दै जानुपर्नेमा उनको जोड छ । प्रतिवेदनमा वाम लोकतान्त्रिक गठबन्धनलाई कायम राख्ने र एकीकृत समाजवादी, जसपासँग संयुक्त मोर्चा बनाएर अगाडि बढ्ने उल्लेख छ । साना वामपन्थी पार्टीहरूलाई एकताको प्रक्रियामा ल्याउन प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा वार्ता समिति बनाउने भएको छ ।

नेताहरूका अनुसार प्रतिवेदनमा शान्ति प्रक्रियामा आएपछि वैचारिक र सांगठनिक कुरामा ध्यान दिन नसकेको विषयमा कमजोरी भएको स्विकारोक्ति पनि छ । दाहालले तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सचिवालयमा पेस गरेका दस्ताबेजलाई सन्दर्भ सामग्रीका रूपमा राख्ने भएका छन् । प्रतिवेदनमा दाहालले विश्व साम्राज्यवादले लिएको नयाँ रूपलाई परास्त गर्न क्रान्तिकारी विचार र पार्टीको आवश्यकता रहेकामा जोड दिएका छन् । समाजवादउन्मुख समृद्धिको कार्यनीति पूरा गर्न आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण जरुरी भएको दाहालले व्याख्या गरेका छन् ।

दाहालका अनुसार संविधानमा भएका शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र सम्प्रभुता एवम् आवासको हकको पूर्ण कार्यान्वयन समाजवादतर्फका आधारभूत कदम हुन् । देशको औद्योगीकरण, राष्ट्रिय पुँजीको निर्माण र राष्ट्रिय आयको पछि परेका जनतालाई प्राथमिकतामा राखेर वितरण गर्न सके समाजवाद निर्माणका प्रारम्भिक काम हुने उनको विश्लेषण छ । स्थायी कमिटी सदस्य गणेश साहका अनुसार दाहालको प्रतिवेदनमा विज्ञान प्रविधिको विषय पनि छ ।

स्थायी कमिटी बैठकमा केन्द्रीय पदाधिकारी १५ सदस्यीय बनाउने प्रस्ताव पेस भएको छ । त्यसमा उपाध्यक्ष र सचिव कति राख्ने भन्नेबारे छलफल जारी छ । बैठकमा कतिपय नेताले वरिष्ठ उपाध्यक्ष वा वरिष्ठ नेता राख्ने प्रस्ताव गरेका छन् ।

चिनियाँ नेता माओको जन्मजयन्तीको सन्दर्भ पारेर माओवादीले (पुस ११–१३) राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । पार्टीको नयाँ विधान अनुमोदन र नयाँ केन्द्रीय नेतृत्व चयन पनि राष्ट्रिय सम्मेलनका मुख्य कार्यसूची छन् । माओवादीले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नारा लेखिएको छ । लोगोभित्र विश्व कम्युनिस्ट आन्दोलनका अग्रज नेताको प्रतीक छ । यस्तै पार्टीको झन्डा र निर्वाचन चिह्न छ ।

माओवादीको राष्ट्रिय सम्मेलनमा यसअघि १ हजार ५ सय ३३ प्रतिनिधि हुने बताइएकामा अब १ हजार ६ सय ३१ प्रतिनिधि रहने भएका छन् । स्थायी कमिटी बैठकले नियमित प्रक्रियाबाट आउने प्रतिनिधिको संख्या १ हजार ४ सय ८३ को १० प्रतिशत मनोनयन गर्ने निर्णय गरेको हो । यसअघि ५ प्रतिशत मनोनयन निर्णय थियो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार १ सय ४८ जना प्रतिनिधि मनोनयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।

यसैबीच माओवादी केन्द्रले नेकपा मसाल (सम्पर्क केन्द्र) सँग शुक्रबार एकता गरेको छ । मोहनविक्रम सिंह नेतृत्वको मसालबाट फुटेर गठन भएको सम्पर्क केन्द्रसँग राष्ट्रिय सम्मेलनको संघारमा एकता भएको हो । एकता घोषणासभामा माओवादीका तर्फबाट अध्यक्ष दाहाल र मसाल सम्पर्क केन्द्रका तर्फबाट संयोजक लोकेन्द्र लम्सालले हस्ताक्षर गरेका हुन् ।

प्रकाशित : पुस १०, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?