कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कम्ब्याटसित जोडिएका अधुरा सपना 

घाइते लडाकुको दुखेसो– ‘हामीलाई दयनीय बनाए, नेता पुँजीपति भए’

शक्तिखोर, चितवन — माओवादी लडाकुको तेस्रो डिभिजन राखिएको शक्तिखोर शिविर सेनाको कमान्डो तालिम केन्द्रमा परिणत भइसकेको छ । शिविरमा बसेका ५ हजार २ सय ६ लडाकु तितरबितर भइसकेका छन् । तीमध्ये केही नेपाली सेनामा समायोजन भइसके भने केही कम्ब्याटसित जोडिएका अधुरा सपना सँगाल्दै ‘नाफाको जिन्दगी’ बिताइरहेका छन् ।

कम्ब्याटसित जोडिएका अधुरा सपना 

लडाकु बसेको शिविरभन्दा दुई किलोमिटर पश्चिम सिमल बस्तीमा छन्, ऋषिराम मरहट्टा ‘सुरेश’ । उनीसँगै तेस्रो डिभिजनमा बसेका करिब ५० पूर्वलडाकु पनि त्यहीं एकतले घर बनाएर बसेका छन् ।

कालीका नगरपालिका–३ को जनप्रिय टोलमा एकतले टिनको घरमा बसिरहेका सुरेश युद्धकालीन सपनाले बेलाबेला झस्किन्छन् । लालपुर्जाबिनाको जमिनमा बनेको यो घर उनको सपनाको घर होइन, सपनाको सुन्दर घर त अर्कै थियो । जो सपनामै कतै छुट्यो । तर,पुरानो बाकसमा उनले एकजोर कम्ब्याट पोसाक जतनका साथ राखेका छन् । ‘यो कम्ब्याट मात्र होइन, योसँगै मेरा सयौं सपना जोडिएका छन्,’ पीएलए लेखेको कम्ब्याट सुमसुम्याउँदै उनी भावुक बने, ‘म यसलाई जीवनभर राख्नेछु ।’

माओवादी सशस्त्र युद्धका लडाकुको हैसियतले उनीसँग सम्झनालायक नासो बनेको छ, कम्ब्याट । ‘मेरो सपना जसरी खुइलिँदै गए, त्यसरी नै यो कम्ब्याट पनि खुइलिँदै गएको छ,’ उनले थपे, ‘अब म ती सपना धेरै कोट्याउन चाहन्नँ । मन दुख्छ ।’

सपनाहरू कसले खोस्यो ? त्यसको जवाफ खुइलिएको कम्ब्याटले दिन सक्दैन । भन्छन्, ‘हाम्रो सपना समानता, स्वतन्त्रता र नयाँ नेपालको थियो । ती सपना कसैले खोसेको होइन, माओवादीले नै निस्तेज पारेको हो । संसार बदल्न हिँडेका आफैं बदलिए । वर्गीय आन्दोलन थाती राखेर नवधनाढ्य वर्ग जन्मिए । उनीहरूसँग के गुनासो गर्नु ? राजनीतिक रूपमा माओवादी टीठ लाग्ने अवस्थामा पुगेको छ । हामीलाई दयनीय बनाए, नेता पुँजीपति भए ।’

लडाकुको तेस्रो डिभिजनअन्तर्गत बटालियन सहकमान्डर भएका सुरेशले दर्जनभन्दा बढी युद्ध लडेका छन् । स्याङ्जा, बेनी, सिन्धुपाल्चोकको चौतारा, मकवानपुरको झुरझरे, काभ्रेको पनौती मोर्चा लडेको उनले सुनाए । ‘एउटा मोर्चा जित्दा संसार जितेजस्तो हुन्थ्यो, हार्दा जित्ने सपना देखिन्थ्यो,’ उनले भने, ‘अहिले त हाम्रा सपना हारिसकेका छन् ।’

लमजुङ दोर्दीका सुरेशलाई युद्धका क्रममा गोली लाग्यो । पाँचवटा अप्रेसनपछि उनी ‘नाफाको जिन्दगी’ बिताइरहेका छन् । उनलाई सबभन्दा दुःख लाग्छ, आँखैअगाडि ढलेका सहयोद्धाको आशामा भएको तुषारापात । ‘सहिदहरूको रगतले गणतन्त्र आएको हो, उनीहरू वीर हुन् । सहिदलाई भुल्नेचाहिँ अवसरवादी,’ उनले भने । उनले लमजुङ बिचौरमा सहिद भएकी उषालाई सम्झिए । ‘दाइ, युद्ध मोर्चामा मरे केही छैन, सहिदका रूपमा पुनर्जन्म हुनेछौं,’ उषाको भनाइ सम्झिँदै उनले भने, ‘हाम्रो साझा सपना पूरा गर्नुहोला ।’ यति भनिरहँदा सुरेशको आँखा रसाए । र, लगत्तै आक्रोशित बने, ‘युद्धको नेतृत्व गर्ने अवसरवादी र दक्षिणपन्थी भए । हाम्रा जनयुद्धको कम्ब्याटसित जोडिएका सपनालाई धोका दिए ।’

शान्ति प्रक्रियामा आइसकेपछि माओवादीले राजनीतिक मुद्दा जोगाउन नसकेको उनको बुझाइ छ । ‘गणतन्त्र र संघीयता स्थापनाका लागि लडेका हौं । सर्वहारा गरिब वर्गको हितका लागि लडेका हौं,’ उनले भने, ‘हामीले नेता बदलिएको देख्यौं, सर्वहारा बदलिएको देखेनौं ।’

एमाले र माओवादी मिलेर नेकपा बनेपछि उनी त्यहीं बसे । नेकपा विभाजनपछि माओवादीमा फर्केनन् । राजनीतिक रूपमा उनी दुई पार्टीमा खास अन्तर देख्दैनन् । उनी हाल एमाले नगर कमिटी सचिव छन् ।

***

तेस्रो डिभिजन शक्तिखोरका अर्का पूर्वलडाकु हुन्, पूर्णबहादुर बुढामगर । रोल्पा थवाङ फुन्टिबाङका उनले जनप्रिय टोलमै सानो घर बनाएका छन् । स्वैच्छिक अवकाश रोजेपछि उनी र श्रीमतीले पाएको रकमबाट लालपुर्जा नभएको जग्गा जोडे र घर बनाए ।

पूर्णबहादुर बुढा मगर र निर्मला सिटौला (मकै छोडाउँदै गरेका) ।

युद्धबाट विजयको शिखर चुम्ने लक्ष्य लिएर कलिलैमा युद्धमा होमिएका उनलाई पनि युद्धकालीन सपनाले लखेट्छ । ‘हिमाल चढ्ने सपना थियो, नालीमा पो पुगिएछ कि ?’ उनी भन्छन्, ‘युद्धका बेला नेताले जनतालाई सगरमाथा चढ्न भनेका थिए, उनीहरू फोहोर वाग्मतीमा हाम फाले ।’ सत्ताका लागि जे पनि गर्ने फोहोरी राजनीतिप्रति उनलाई घृणा छ । उनलाई राजनीतिक कुरा गर्नमा आजकल रुचि छैन । सानो टिनको घरमा किराना पसल र श्रम गरेर गुजारा चलाइरहनुमै उनी खुसी महसुस गरिरहेका छन् ।

उनका दर्जनौं साथी सहिद भए । कोही घाइते छन् । केही नेपाली सेनामा जागिरे भएका छन् त कोही खाडीमा पसिना बगाइरहेका छन् । शिखर चुम्ने उद्देश्य बोकेर युद्ध मोर्चामा देखेका सुन्दर सपना

यसरी अलपत्र पर्लान् भन्ने कल्पना नगरेका पूर्णबहादुरलाई विगतले चिमोटिरहन्छ । ‘हामी साथीभाइका साझा सपना थिए, मुलुक बदल्ने । जसरी साथीभाइहरू तितरबितर भए, त्यसरी नै हाम्रा सपना तितरबितर भए,’ उनले भने, ‘सुन्दर नेपाल बनाउने सपना नेताले खाए, हाम्रा कम्ब्याट ड्रेस मुसाले खाए ।’

नुवाकोटकी निर्मला सिटौलासँग शक्तिखोर शिविरमै उनको प्रेम विवाह भयो । स्कुल पढ्दापढ्दै युद्धमा हिँडेकी निर्मलालाई माओवादीको मिठो गफले तानेको थियो ।

‘१० कक्षा पढ्दापढ्दै युद्धमा लागियो, शान्ति प्रक्रियामा आइसकेपछि यथार्थ थाहा पाइयो,’ उनले पश्चाताप गरिन्, ‘यस्तो हुन्छ भन्ने थाहा पाएको भए हिँडिने थिएन होला ।’ माओवादी नेताहरू विभाजित भएकै कारण उद्देश्यमा पुग्न नसकेको उनको बुझाइ छ । ‘व्यक्तिगत स्वार्थका कारण विभाजन भए कि जनताका लागि ?’ उनले प्रश्न गरिन् तर त्यसको जवाफ खोज्ने पहुँच उनीसँग छैन । किनकि माओवादीको ओरालो यात्रासँगै पूर्वलडाकुको इतिहास पनि मधुरो हुँदै गएको उनको बुझाइ छ ।

***

त्यही बस्तीमा बस्ने माया लो ‘चर्चा’ को दैनिकी अलि फरक छ । नेपाली सेनामा लडाकु समायोजन हुनेबेला उनका श्रीमान् हस्तबहादुर मोक्तानले समायोजन रोजे । हाल उनी नेपाली सेनाका जमदार छन् । युद्धले जुराइदिएको यो जोडीको जीवन हाल सुखदुःख चलिरहेको छ । उनी सानो खाजा पसल चलाइरहेकी छन् । ‘परिवर्तनका सपना बाँकी छन् तर शान्ति स्थापना भइसकेपछि सुखसाथ बस्न पाइएको छ,’ उनले भनिन् ।

माया लो ।

तत्कालीन लडाकुको तेस्रो डिभिजन सचिव (ब्रिगेड कमान्डर) प्रकाश जीएमलाई समाज रूपान्तरणका लागि देखेका सपना र आजको यथार्थमा मेल नखाएको लाग्छ । ‘युद्धकालीन सपना र आजको राजनीतिक यथार्थमा आकाश–जमिनको फरक छ,’ उनले भने, ‘शान्ति प्रक्रियामा आइसकेपछि आंशिक सफलता मिल्यो । अब संसदीय व्यवस्थाको फेरो समात्ने कि नयाँ विचार विकास गरेर जाने ? भन्ने प्रश्न महत्त्वपूर्ण हो ।’ राष्ट्रिय सम्मेलनले नयाँ विचार विकास गर्न नसके अरूभन्दा फरक नहुने उनी बताउँछन् ।

बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ चैत अन्तिम साता लडाकुलाई सेना मातहत ल्याएर गरेको समायोजन प्रक्रियाले ठोस रूप लिएको थियो । संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) ले प्रमाणित गरेका १९ हजार ६ सय २ लडाकुमध्ये एक हजार ४ सय २१ जना सेनामा समायोजन भएका थिए । बाँकी लडाकुले जनही पाँचदेखि ९ लाख रुपैयाँ लिएर स्वैच्छिक अवकाश लिएका थिए ।

प्रकाशित : पुस १०, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?