२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

माओवादीको प्रमुख अन्तर्विरोध के ?

मणि दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आन्तरिक रुपमा माओवादी सशस्त्र विद्रोह र आन्दोलनको उपलब्धिलाई उल्टाउन खोज्ने शक्ति र बाह्य क्षेत्रमा अन्तर्राष्ट्रिय वित्तीय पुँजीवाद अहिलेको प्रमुख अन्तर्विरोध रहेको प्रतिवदेन प्रस्तुत गरेका छन् ।

माओवादीको प्रमुख अन्तर्विरोध के ?

प्रथम एकता राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नका लागि तयार पारिएको राजनीतिक प्रतिवेदनमा दाहालले आन्तरिक र बाह्य अन्तर्विरोधको बारेमा व्याख्या गरेका छन् । जुन उनले शुक्रबारको स्थायी कमिटी बैठकमा प्रस्तुत गरेका छन् ।

'कुनै पनि देशको आर्थिक, सामाजिक र राजकीय क्षेत्रसहितको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय शक्तिहरूले वित्तीय पुँजीवादमार्फत हस्ताक्षेप गर्ने गरेको छ,' प्रतिवेदनलाई उद्धृत गर्दै एक स्थायी कमिटीका सदस्यले भने, 'अहिले युद्ध र आन्दोलनबाट प्राप्त गरेको उपलब्धी जुन खतरामा परेको छ । त्यो खतरामा पार्ने विभिन्न प्रकारको प्रतिगामी शक्तिहरूको विरुद्ध संघर्ष गर्नुपर्ने हुन्छ।'

वित्तीय पुँजीवाद अहिले साम्राज्यवादको नयाँ रुपमा देखिएको प्रतिवेदनमा उल्लेख छ । जसले देशभित्र दुई प्रकारले प्रभाव पार्ने बताइएको छ । विभिन्न सम्झौताको माध्यमबाट राज्यको सामाजिक आर्थिक चरित्रमाथि हस्ताक्षेप गर्ने र अनुत्पादनक क्षेत्रमा लगानी गर्ने गरी पुँजीको प्रवाह हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

'राज्य व्यवस्थामा हस्ताक्षेप गर्ने, देशको सामाजिक सम्बन्धलाई बिथोल्ने, निर्देशन दिने, देशको शोधानान्तरमा पनि घाटा लगाउने काम अन्तर्राष्ट्रिय पुँजीपतिहरूले गरिरहेका छन्' प्रतिवेदनको व्याख्या गर्दै ती नेताले भने ।

दाहालले सैद्धान्तिक रुपमा गरेको व्याख्यामा प्रतिवदेनमा उल्लेख गरेको प्रवृत्ति कुन शक्तिले प्रतिनिधित्व गर्छ भन्नेबारे केही पनि खुलाएका छैनन् । तर वित्तीय पुँजीवादको दबाब संसारभर बढेर गएको उल्लेख छ ।

एक दशकअघि हेटौंडामा भएको महाधिवेशनबाट माओवादीले नेपालमा जनवादी क्रान्ति सम्पन्न भएको र बाह्य अन्तर्विरोध दलाल पुँजिवादसँग रहेको निष्कर्ष निकालेको थियो ।

'हिजो दलाल र वित्तीय पुँजीवादको हस्तक्षेप भनिएको थियो । हिजो त्यो उचाइबाट यो विषयलाई उठाइएको थिएन । अहिले दलाल पुँजीवाद वित्तीय पुँजीवादको एउटा अंशको रुपमा रहेको भनिएको छ' ती नेताले भने ।

गत साता प्रदेश सम्मेलनको भर्चुअल रुपमा उद्घाटन गर्दै अध्यक्ष दाहालले वित्तीय साम्राज्यवादको अंशको रुपमा शेयर बजार रहेको बताएपछि शेयर बजार नै प्रभावित बन्यो ।

तर त्यस अभिव्यक्तिको चौतर्फी विरोध भएपछि दाहालले त्यस विषयमा विज्ञप्ति जारी गर्दै स्पष्टिकरणसमेत दिएका थिए । तर शेयर बजारमा साना लगानीकर्ताले गुमाउने र ठूला लगानीकर्ताले मात्रै कमाउने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

'त्यसले राष्ट्रिय पुँजी निर्माण गर्नका लागि योगदान गर्दैन' ती नेताले भने, 'राष्ट्रिय रुपमा हेर्दा त्यो प्रयोगविहीन हुने भयो । दलाल र पुँजीपति वर्गले श्रमबिना नै सहज रुपमा कमाउने भए ।'

प्रतिवदेनमा पनि शेयरमा रहेको लगानीलाई अनुपात्पदक क्षेत्रको लगानीको रुपमा व्याख्या गरिएको छ । 'पुँजीवादी देशमा लगानी गर्ने ठाउँ खुम्चिँदै गएको छ र उनीहरूको विकासशील देशको शेयर बजारसहितको क्षेत्रमा लगानी गर्ने र अत्याधीक मूनाफा लैजाने काम हुन्छ' प्रतिवेदनलाई उद्धृत गर्दै ती नेताले भने ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने प्रतिवेदनको विषय वस्तुलाई अध्यक्ष दाहालले बैठकमा मौखिक रुपमा प्रस्तुत गरेका थिए । त्यसमै स्थायी कमिटीमा सदस्यहरूले आफ्नो धारणा राखेका थिए । लिखित प्रतिवेदन भने स्थायी कमिटीका सदस्यहरूलाई पनि उपलब्ध गराइएको छैन ।

दाहालको प्रतिवदेनमा देशको स्थापनादेखि कम्युनिस्ट पार्टीको संक्षिप्त इतिहाससम्म समेटिएको छ । बैठकमा दाहालले सम्मेलनलाई वैचारिक बहसको केन्द्र बनाउन पनि छलफलको आह्वान गरेका थिए ।

यस्तै अहिले राष्ट्रिय स्वाधिनता सबैभन्दा जटिल मोडमा पुगेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय स्वाधिनताको विषयलाई गम्भीर रुपमा लिइएको स्थायी कमिटीका एक सदस्यले बताए ।

प्रकाशित : पुस ९, २०७८ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?