नेपालबाट चोरिएको सम्पदा अक्सफोर्ड युनिभर्सिटी ग्यालरीमा

बरकत ग्यालरीले जवाफ दिएन : लण्डन दूतावास

काठमाडौँ — बेलायतको प्रसिद्ध अक्सफोर्ड युनिभर्सिटी अन्तर्गत रहेको एश्मोलियन म्युजियमको संग्रहमा नेपालबाट चोरी भएको अवलोकितेश्वर प्रस्तर मूर्ति फेला परेको छ ।

नेपालबाट चोरिएको सम्पदा अक्सफोर्ड युनिभर्सिटी ग्यालरीमा

सन् ८० को दशकमा काठमाडौं, ताबहाल, लगनटोलको बौद्धबिहारबाट हराइरहेको बोधिसत्व पद्मपाणीको यो मूर्तिको पहिचान गर्नमा स्वीस अध्येता उल्रिच भोन स्क्रोडरको ‘नेप्लीज स्टोन स्कल्प्चर’ पुस्तकले सघाउ पुऱ्याएको छ ।

हराएका र चोरिएका सम्पदाको खोजबिनमा अभियानका रुपमा रहेको ‘लस्ट आर्टस् अफ नेपाल’ले दिएको सूचनामा सन् १९७६ मै अन्वेषक स्क्रोडरले यो मूर्तिको तस्बिर खिचेका थिए । संग्रहित अवलोकितेश्वर मूर्तिबारे म्युजियमको वेबसाइटमा उल्लेख भएअनुसार, मूर्तिको माथिल्लो र तल्लो भाग (पिँध)मा केही चर्किएको हुनाले त्यसमा मर्मत गरिएको जनाइएको छ । यो सम्पदालाई सातौं/आठौं शताब्दीको सृजना मानिएको छ ।

यसैगरी, लस्ट आर्टस् अफ नेपालले दिएको सूचनाकै आधारमा लण्डनको निजी तहको बरकत ग्यालरीमा फेला परेका पुरातात्विक महत्त्वका नेपालका सम्पदा फिर्ता गर्न लण्डनस्थित दूतावासले पहल गरेपनि यसको सुनुवाइ भएको छैन । दूतावासकी चार्ज डे अफेयर्स रोशना खनालले दिएको जानकारीमा बरकत ग्यालरीमा रहेका नेपाली सम्पदाबारे चासो राखेर यसबारे सरोकार राख्दै ग्यालरीसँग सम्पर्क भएपनि ‘कुनै ठोस जवाफ’ पाउन सकिएको छैन । स्रोतका अनुसार, नेपाल सरकारले प्रक्रियागत ढंगबाट ती ग्यालरीमा रहेका सम्पदाको पहिचान र उत्पत्तिको प्रमाण नजुटाइकन ग्यालरीले सम्पदा फिर्ता गर्ने वा तत्काल ‘डिस्प्ले’बाट हटाउन नसकिने जवाफ दिएको छ ।

ताबहाल, लगनटोलस्थित बौद्धबिहार ।

उक्त ग्यालरीमा ओमबहालस्थित बौद्ध बिहारमा रहेको सत्रौं शताब्दीको ढुंगा मूर्ति र बसन्तपुरको कुमारी–छें (कुमारी घर) बाट चोरिएको दुर्गादेवीको आकृति कुदिएको काठको तोरण हालै फेला परेको थियो । यस्तै, सत्रौं शताब्दीको निर्माण मानिने कालभैरवको मूर्तिसमेत बरकतमैं बिक्रीमा राखिएको छ ।

तिब्बत हाउसले आफैं फर्काउने

यसैगरी, अमेरिकामा न्यूयोर्कस्थित तिब्बत ग्यालरीमा भेटिएको बुद्ध अक्षोभ्यको नेपाली सम्पदा फर्काउन ग्यालरी स्वयम तत्पर भएको छ । ओमबहालस्थित न्हू:छें बहाबाट सन् ८० को दशकमा चोरिएको बुद्ध अक्षोभ्यलाई ६ सय वर्ष पुरानो सिर्जना मानिएको छ ।

बुद्ध प्रतिमा तस्बिर

न्यूयोर्कस्थित जोन जे कलेजमा आर्ट–क्राइम विषयकी प्राध्यापक एरिन एल. थोम्सनसाग ग्यालरीका निर्देशक ग्यान्डेन थुरम्यानले गरेको संवादमा, आफूसँग रहेको नेपाली सम्पदा फर्काउने क्रममा न्यूयोर्कस्थित नेपाली कन्सुलेटमा सम्पर्क भइसकेको र मूर्तीको घरफिर्तीमा प्रक्रिया अघि बढेको छ ।

‘अरु म्युजियम र ग्यालरीले आफूसँग रहेका अरुकै सम्पदाहरु फिर्ता गर्नमा जसरी आनाकानी गरिरहेका छन् । त्यो प्रवृत्तिलाई तिब्बत ग्यालरीले जवाफ दिएको छ,’ थोम्सनले कान्तिपुरसँग भनिन्, ‘यसरी चोरेर ल्याइएका वा कतै हराइरहेका सम्पदा उपहार ग्रहण गर्ने बेलामा पनि म्युजियम–ग्यालरीले सोचतमग्न बन्नैपर्ने हुन्छ, बुद्ध प्रतिमा छिटै नेपाल फिर्ता भएको समाचार सुन्न पाइने प्रतीक्षामा छु ।’

प्रकाशित : पुस ८, २०७८ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?