३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

ग्रिस दुर्घटनाका मृतक चार नेपालीको पहिचान खुल्यो

टर्कीबाट अवैध रुपमा छिर्न खोजेको कार ग्रिस प्रहरीले रोक्न खोजेपछि तीव्र गतिमा हुइँकिँदा पर्खालमा ठोक्किएको थियो
जनकराज सापकोटा

काठमाडौँ — संगठित मानव तस्करको भर परेर अवैध रूपमा टर्कीबाट ग्रिस छिर्न खोज्दा भएको गाडी दुर्घटनामा मृत्यु भएका चार नेपालीको पहिचान खुलेको छ । ग्रिसको राजधानी एथेन्सबाट ५ सय २ किमि पूर्वमा गत कात्तिक २५ मा भएको दुर्घटनामा ७ जनाको ज्यान गएकामा चार जना नेपाली परेको सोमबार मात्रै पुष्टि भएको हो ।

ग्रिस दुर्घटनाका मृतक चार नेपालीको पहिचान खुल्यो

प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले पहिचानका लागि दुर्घटनामा मृत्यु भएकाहरूको तस्बिर नेपाल प्रहरीको इन्टरपोल शाखामा पठाएको थियो । इन्टरपोल नेपालमार्फत प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका तस्बिर परिवारजनले सोमबार सनाखत गरेका थिए । ब्युरोका अनुसार दोलखाको भीमेश्वर नगरपालिका–६ का ३० वर्षीय राजु लामा, रसुवाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले, कैलालीको गौरीगंगा नगरपालिका–४ का ३८ वर्षीय लक्ष्मण सापकोटा र तनहुँको घिरिङ गाउँपालिका–५ का ओमबहादुर थापाको उक्त दुर्घटनामा मृत्यु भएको हो ।

ग्रिस इन्टरपोलले पठाएको पत्रअनुसार सवारी लाइसेन्स नभएका मोल्दोभाली चालकले चलाएको कालो कारमा १५ जना सवार थिए । ग्रिस प्रहरीले रोक्न खोजेपछि तीव्र गतिमा हुइँकिएको कार पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त कारको डिक्कीमा मात्रै चार जना रहेको जनाइएको छ । दुर्घटनामा घाइते भएका दोलखा, भीमेश्वर नगरपालिका–९ का मनु लामा र कैलालीको गौरीशंकर नगरपालिका–४ का लोकराज आचार्य केही दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थिए । लोकराज र लक्ष्मण असोज २ मा नेपालबाट सँगै टर्की उडेका थिए । मनु र राजु भने असोज ९ मा उडेका थिए ।

रसुवाको आमाछोदिङमो गाउँपालिका–४ की २१ वर्षीया शर्मिला भनिने रमिला घले

मृतक राजुका बाबु बलरामले कात्तिक २० गते भाइटीकाको दिन छोरासँग फोनमा कुराकानी भएको सुनाए । ‘उसले टर्कीबाट फोन गरेको थियो । मोबाइल, पासपोर्ट, लत्ताकपडा सबै यतै छाडेर ग्रिस छिर्न लागेको, अब केही दिन सम्पर्क हुँदैन भन्थ्यो । ग्रिस पुगेर फोन गर्छु भन्थ्यो,’ उनले भने, ‘धेरै दिनसम्मै छोरा सम्पर्कमा नआएपछि मनमा चिसो पस्यो ।’ उनले पटक–पटक गरेर दस लाख रुपैयाँ बुझेका एजेन्टहरू शम्भु लामा र ईश्वर लामालाई सम्पर्क गरे । तर उनीहरूले झूटा सूचना दिए । त्यसपछि उनले टर्कीबाट ग्रिस छिर्न लागेको गाडी दुर्घटनामा परेको र त्यसमा केही नेपाली परेको खबर सुने ।

छोराको खबर बुझ्न भन्दै मंसिर २५ मा काठमाडौं छिरेका बलरामले डेढ साता परराष्ट्र मन्त्रालयदेखि कन्सुलर विभाग, वैदेशिक रोजगार विभागदेखि प्रहरीका चोटाकोठामा चक्कर काटे । सोमबार प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेका उनलाई प्रहरीले कम्प्युटरको स्क्रिनमा ग्रिस प्रहरीबाट प्राप्त तस्बिर देखाएको थियो । उनले छोराको फोटो चिनिहाले ।

संयुक्त अरब इमिरेट्समा तीन वर्ष काम गरेर २०७२ को भूकम्पलगत्तै नेपाल फर्केका राजु कामविहीन थिए । गत भदौमा उनले बुबालाई भने, ‘म टर्की जाने भएँ । एजेन्टले सबै कुरा मिलाइसकेको छ । भनेको समयमा नउडे जरिवाना तिर्नुपर्छ ।’ बलरामले छोरालाई भनेका थिए, ‘कहाँ कस्तो काममा लैजाने हो ? कागजपत्र ठीक छ कि छैन ? राम्ररी कुरा नबुझीकन पैसा नर्तिनू ।’ तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका बलरामले ४ वर्षकी नातिनीको अनुहार र ८ महिनाकी गर्भ बोकेकी बुहारीलाई सम्झिरहेका छन् । कान्तिपुरसँग उनले भने, ‘परराष्ट्रमा शव ल्याइदिनलाई निवेदन दिएका छौं । अब के गर्छन् कुन्नि ?’

लामो समय साउदी अरबमा काम गरेका लक्ष्मण सापकोटा केही वर्षअघि नेपाल फर्केका थिए । केही समय घर बसेर उनी फेरि काम गर्न झन्डै डेढ वर्ष बेंगलुरु बसे । त्यहाँबाट फर्केपछि उनी फेरि वैदेशिक रोजगारीमा जाने ताकमा थिए । गाउँकै डिल्लीराज सापकोटा र जीवलाल कँडेल केही समयअघि टर्की हुँदै ग्रिस छिरेका थिए । उनीहरूले नै भनेपछि लक्ष्मण पनि कस्सिए । परिवारका सदस्यका अनुसार उनी एजेन्ट सुरज लिम्बूमार्फत ५ लाख रुपैयाँ खर्चेर व्यक्तिगत रूपमा एक वर्षको कामदार भिसामा टर्की पुगेका थिए । स्थानीयका अनुसार सुरजमार्फत सोही गाउँका अन्य दुई जना पनि टर्की पुगेका छन् । त्यहाँबाट उनी संगठित मानव तस्करको भर परेर अवैध रूपमा ग्रिस छिर्न खोजेका थिए । भतिज गणेश सापकोटाले भने, ‘वैदेशिक रोजगार बोर्डमा शव ल्याइदिनका लागि पहल गरिदिन भनेर निवेदन दिएका छौं ।’

रसुवा आमाछोदिङमोका फुर्वा लामाले तीन वर्षअघि रोजगारीको खोजीमा दलालको पछि लागेर भारतको बाटो हुँदै इराक पुगेकी साली शर्मिला भनिने रमिला घलेको खोजीमा काठमाडौं आएको सुनाए । उनकी सालीले कात्तिकको मध्यतिर फोन गरेर भनेकी थिइन्, ‘म इराकबाट टर्की आइसकें । अब यहाँबाट ग्रिस छिर्छु ।’ फुर्वाका अनुसार शर्मिलाले दलाललाई बुझाउन भन्दै चार लाख रुपैयाँ खोजिरहेकी थिइन् । उनले भने, ‘धेरै दिनसम्म सम्पर्कमा नआएपछि खबर बुझ्न काठमाडौं आएको थिएँ । अहिले त यस्तो खबर पो सुन्नुपर्‍यो ।’

तनहुँका ओमबहादुर थापा दुई वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका थिए । त्यहाँबाट उनी इराक छिरेका थिए । ‘भाइटीकाको अघिल्लो दिन बुबाले टर्कीबाट खबर गर्नुभएको थियो,’ ओमका छोरा मिलनले भने । दुर्घटनामा बाँचेका कैलालीका लोकराज आचार्यले परिवारका सदस्यहरूलाई आफूहरू १३ दिनसम्म जंगलको बाटो हिँडेर ग्रिस छिर्ने सिमानामा पुगेको बताएका थिए ।

संगठित मानव तस्करका गिरोहको भर परेर नेपालबाट टर्की हुँदै ग्रिस पुग्दासम्म नेपालीले ११ लाखदेखि १५ लाख रुपैयाँसम्म खर्च गरेको पाइएको छ । २०७५ साउनमा अवैध रूपमा टर्कीबाट ग्रिस छिर्न खोजेका नवलपरासी कावासोतीका नवीन तिवारी बीचैमा हराएको खबर सार्वजनिक भएको थियो । नवीनसँगै ग्रिस छिर्न खोजेका इलामका एक युवाले त्यतिबेला कान्तिपुरसँग भनेका थिए, ‘चिसो हिउँ

पछ्याउँदै भोकै प्यासै कैयन् दिन घना जंगलको बाटो हुँदै ग्रिस छिरे पनि सजिलै काम भेटिँदैन रहेछ र कमाइ पनि राम्रो नहुँदो रहेछ ।’

...

हिन्द महासागरको मृत्यु घटनामा एक पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा परी दुबई हुँदै सोमालिया पुगेका एक नेपालीको मृत्यु भएको घटनामा भक्तपुर थिमि नगरपालिका–३ का कविराज कटुवाललाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

ब्युरोका अनुसार गत वैशाख १२ मा ती युवालाई कविराजले मासिक ९ सय अमेरिकी डलर तलब हुने सुरक्षा गार्डको कामका लागि दक्षिण अफ्रिकाको टापु देश सिसेल्स लैजाने भनेर दुबई पुर्‍याएका थिए । दुबईबाट उनलाई समुद्रमा जोखिमपूर्ण सुरक्षा गार्डको काममा लगाई सोमालिया पुर्‍याइएको थियो । समुद्रमा काम गर्दागर्दै उनको खुट्टा सुन्निने र श्वासप्रश्वाससम्बन्धी समस्या भएको थियो । बिरामी हुँदा पनि उपचार नपाएका उनको पानीजहाजमै भएका बेला गत असोज २ मा मृत्यु भएको थियो । मृतकको परिवारले शव नेपाल झिकाइदिन कविराजसँग हारगुहार गरेका थिए । प्रहरीका अनुसार कविराजले त्यसका लागि ४० लाख रुपैयाँ लाग्ने भन्दै उल्टो पैसा मागेका थिए । प्रहरीले कविराजविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

प्रकाशित : पुस ८, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?