विद्यालय छिर्न नदिएपछि आत्महत्या

विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध आत्महत्या दुरुत्साहनमा उजुरी
कुम्भराज राई

ओखलढुंगा — सोमबार बिहान १० बजेर २० मिनेट भएको थियो । चम्पादेवी गाउँपालिका–३, कालिकास्थित बालज्योति माध्यमिक विद्यालयका विद्यार्थी नियमित प्रार्थनामा राष्ट्रियगान गाउँदै थिए । झन्डै २० जना विद्यार्थी भने गेटबाहिर थिए । उनीहरूलाई ढिलो आएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले प्रवेश गर्न दिएनन् ।

प्रार्थना सकिएपछि केहीलाई नाम टिपेर आइन्दा ढिला नआउने निर्देशनसहित भित्र जान दिए । समयमा उपस्थित नभए स्कुलबाट निष्कासन गर्नेसम्मको धम्की दिएको विद्यार्थीको भनाइ छ । त्यतिन्जेलसम्म करिब १२ छात्रछात्रा घर फर्किसकेका थिए । फर्किनेमध्येकै थिइन्, कक्षा ८ की १४ वर्षीया विमला बोगटी ।

घरको कोठामा पसेको केही मिनेटमै चिच्याउँदै उनले बुबालाई बोलाइन् । बुबा पुग्दा उनले विष सेवन गरिसकेकी रहिछन् । ‘कारण सोध्दा स्कुलभित्र पस्न नपाएकाले दु:ख लागेको र आवेशमा आएर विष पिएको बताइन्,’ विमलाका बुबा खुर्कबहादुर बोगटीले भने, ‘त्यसपछि साबुनपानी बनाएर ख्वाएँ, घरेलु उपाय अपनाउँदै गाडी खोजेर ओखलढुंगा मिसन अस्पताल ल्याइयो । हिजो बिहान (मंगलबार) ११ बजेतिर छोरीको निधन भयो ।’ खुर्कबहादुरका अनुसार विमलाले तरकारी बालीमा लगाउने बुलेट ५०५ नामक कीटनाशक औषधि पिएकी थिइन् ।

घटनापछि खुर्कबहादुरले बुधबार जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीलाई प्रतिवादी बनाएर आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गरेका छन् । अध्यक्ष बुढाथोकीले गालीगलौज गर्दै स्कुल छिर्न नदिएपछि आत्महत्या गरेको आरोप लगाइएको छ । अध्यक्ष बुढाथोकीले आफूले ढिला आउने विद्यार्थीहरूलाई प्रार्थनाको समयमा छिर्न नदिएको स्विकारे । ‘प्रार्थनापछि मैले एकजना शिक्षक बोलाएर नाम टिपाउँदै भित्र छिर्ने अनुमति दिएको थिएँ,’ उनले भने, ‘त्यसअघि नै केही विद्यार्थी भाइबहिनी फर्किसक्नुभएको थियो । मैले गालीगलौज केही गरेको हैन । समयमा आउन निर्देशनमात्र दिएको हुँ ।’

पीडितका आफन्त अध्यक्षको काम गेटमा बसेर विद्यार्थीलाई गाली गर्ने र प्रवेशमा रोक लगाउने होइन भन्दै आक्रोशित बनेका छन् । प्रधानाध्यापक मधुकरप्रसाद चौधरी भने घटना भइसकेपछि मात्र विद्यालय पुगेका थिए । ‘अवकाशका लागि राजीनामा दिने उद्देश्यले कागजात मिलाउँदा मिलाउँदै ढिलो भयो,’ चौधरीले भने, ‘त्यही दिन त्यस्तो घटना भएछ । म स्कुल आइपुगेपछि थाहा पाएँ । केही घण्टामा त विष सेवन गरेको सुनियो ।’ यसअघि विद्यार्थीलाई ढिला भएकै कारण गेटबाट प्रवेश गर्नमा रोक नलगाइएको प्रअ चौधरीले बताए ।

पीडितको उजुरी दर्ता भएपछि मृतकको शव पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रहरीका नायब उपरीक्षक गोविन्दराज काफ्लेले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए । आरोपित अध्यक्ष बुढाथोकी प्रहरीको नियन्त्रणमा आइसकेका छन् ।

प्रकाशित : पुस ७, २०७८ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?