१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा (एस)का प्रमुख सचेतक आमन्त्रित

काठमाडौँ — प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा मंगलबार बस्ने प्रतिनिधिसभाको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको हो ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा (एस)का प्रमुख सचेतक आमन्त्रित

कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलगायत राजनीतिक दलका पदाधिकारीको सहभागिता रहेको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठ पनि सहभागी रहेका छन् । उनलाई सभामुखले आमन्त्रित सदस्यका रूपमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोलाएका हुन् ।

यसअघिको बैठक (मंसिर २८ गते) मा एकीकृत समाजवादीका प्रमुख सचेतक श्रेष्ठलाई कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोलाएकोमा एमालेका प्रतिनिधिले आपत्ति जनाएका थिए । मंगलबारको बैठकमा भने एमालेका प्रतिनिधिले आपत्ति नजनाएको सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखले आवश्यकताअनुसार सदस्य आमन्त्रण गर्न पाउने अधिकार प्रयोग गरेर श्रेष्ठलाई बोलाएको बताइएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सदस्यहरु लालबहादुर थापा र कृष्णभक्त पोखरेल रहेका छन् । माओवादीका प्रमुख सचेतक देव गुरुङ र सदस्य रेखा शर्मा लगायत उपस्थित छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही हुनुपर्ने माग राख्दै अघिल्लो अधिवेशनदेखि नै एमालेले संसद् अवरुद्ध गर्दै आएको छ । मंसिर २८ गतेदेखि जारी प्रतिनिधिसभाको अधिवेशनमा पनि एमालेले अवरोध जारी राखेको छ ।

प्रकाशित : पुस ६, २०७८ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?