१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

जलनको जोखिममा महिला

खाना पकाउनेजस्ता घरायसी काममा संलग्न हुने र धोतीलगायतका लामा पहिरन लगाउने कारण बढी जोखिम
विद्या राई

काठमाडौँ — मंसिर दोस्रो साता सप्तरीको खड्क नगरपालिका–४ अमहामा आगो ताप्ने क्रममा साडीमा सल्किँदा एक महिला घाइते भइन् । मंसिर पहिलो साता धनुषाको बिहारी नगरपालिकामा घुर ताप्ने क्रममा आगो लाग्दा २८ वर्षीया महिला घाइते भइन् ।

जलनको जोखिममा महिला

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो एक वर्ष (२०७७ मंसिर १५ देखि २०७८ मंसिर १४ सम्म) को ‘दैनिक विपद् बुलेटिन’ लाई केलाउँदा आगलागीबाट देशभरि मानवीय क्षति (घाइते र मृत्यु) का ४८९ घटना भए । जसमध्ये २१५ महिला (अधिकांश वयस्क र वृद्धा तथा बालिकासमेत), १८० पुरुष र ९४ जना पहिचान नखुलेका थिए । पहिचान खुलेका महिला २१५ जनामध्ये ५८ को मृत्यु भयो भने १५७ जना घाइते भए ।

खाना पकाउने क्रममा आगो लागेर, ग्यास चुहिएर तथा पड्केर ५८ वटा घटना भए । जाडोयाम नोभेम्बर, डिसेम्बर, जनवरी र फेब्रुअरीमा आगो अथवा घुर ताप्ने क्रममा २५ महिलाको मृत्यु र ४२ महिला घाइते भएका थिए । तीमध्ये ५१ जनाको साडी र शरीरमा लगाएका अन्य कपडाबाट आगो सल्किएको थियो । साडीबाट आगो सल्किएका ३५ महिलामध्ये ३३ जना तराईका बाँके, बारा, धनुषा, झापा, महोत्तरी, मोरङ, रौतहट, रूपन्देही, सप्तरी, सर्लाही र सुनसरीका थिए ।

यी घटनाले खाना पकाउनेजस्ता काममा संलग्न हुने र धोतीलगायत पहिरन लगाउने गरेका कारण अधिक जोखिममा महिला रहेको देखाउँछ । अधिकांश पुरुष भने ग्यास लिकेज भएर, बिजुली सर्ट भएर, आगो निभाउने क्रममा, फ्याक्ट्री, फार्म, पेट्रोल पम्प, होटल, पसल, घर तथा गोठमा आगजनीका घटनामा पर्ने गरेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अध्ययनले पनि पुरुषको तुलनामा महिला आगलागीको उच्च जोखिममा रहेको देखाउँछ । डब्लूएचओका अनुसार महिलाका लागि आगलागीको उच्च जोखिम खुला आगोमा खाना पकाउने वा असुरक्षित चुलोसँग सम्बन्धित छ र उनीहरूले लगाउने कपडाबाटै आगलागीको जोखिम हुन्छ । साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा सन् २०२० र २०२१ मा क्रमशः ३७० र ३५६ गरी ७२८ जना जलनका बिरामी उपचारका लागि आएका थिए । तीमध्ये तराईका २२ जिल्लाका १९५ जना थिए, जसमा महिला १८० थिए ।

महिला मानवीय सहायता तथा विपद् जोखिम न्यूनीकरण मञ्चकी संयोजक कृष्णा कार्की भन्छिन्, ‘खाना पकाउने काममा घरभित्र धेरैजसो महिला नै हुन्छन्, पुरुष घर बाहिर–बाहिर काममा हुन्छन्, भान्सा पनि घरको कुनामा हुन्छ, आगो लागिहाले पुरुषजसरी फुत्त भाग्न सक्दैनन्, विशेषगरी तराईतिर महिलाले साडी लगाउँछन्, पहिरनका कारण पनि दौडेर भाग्न कठिन हुन्छ, पूर्वी पहाडी भेगतिर रक्सी पकाउँदा आगोमा हालेर स्वाद जाँच्ने गर्दा ह्वार्रर बलेर पनि महिला जल्ने गरेका छन् ।’

कीर्तिपुर अस्पतालका बर्न एन्ड प्लास्टिक सर्जन तथा सिनियर कन्सल्ट्यान्ट सुरेन्द्रजंग बस्नेत पनि भातभान्सा, पहिरन, घरेलु हिंसाका कारण महिला जलनको सिकार भइरहेको सुनाउँछन् । ‘हाम्रोजस्तो पुरुषप्रधान समाजमा महिलाले खाना पकाउने, बच्चा स्याहार्ने गर्छन्, भान्सामै खाना पकाउने, सुत्ने, लामो कपडा लगाउने गर्दा आगोको जोखिममा पर्छन्, दाइजोका कारणले गर्दा पनि तराईका महिला जलाइन्छन् ।’

उनका अनुसार महिला धेरैजसो महिला घरायसी काम गर्दागर्दै आगलागीमा परेका छन् । सचेतना जगाउने, आगो प्रयोग गर्दा प्राविधिक कुरामा ध्यान दिने जस्ता सावधानी अपनाउने गरेमा आगलागीको जोखिमलाई न्यूनीकरण र नियन्त्रण गर्न सकिने बर्न एन्ड प्लास्टिक सर्जन तथा सिनियर कन्सल्ट्यान्ट बस्नेतले बताए । डब्लूएचओले पनि गरिबी, विपन्नता, आगोको असुरक्षित प्रयोगले गर्दा आगलागीको जोखिम हुने भएकाले सावधानी अपनाउन भनेको छ ।

प्रकाशित : पुस ६, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?