नाकामा खोप कार्ड देखाएर मात्रै प्रवेश

काँकडभिट्टा, मोरङ — कोरोना संक्रमणअघि पूर्वी नाकामा आउजाउ निर्बाध थियो । संक्रमणको त्रास सुरु भएपछि नाका अस्तव्यस्त बन्यो । आउजाउ निषेध गरियो । करिब दुई वर्षपछि भने यो नाका पुरानै लयमा फर्किंदै छ । सर्वसाधारणको आउजाउ पहिलाजस्तै बाक्लिएको छ । भारतीय सवारी आउने र नेपाली सवारी पारि जाने क्रम पनि बढेको छ ।

नाकामा खोप कार्ड देखाएर मात्रै प्रवेश

‘भारतीयलाई खोप कार्ड र भोट कार्डका आधारमा प्रवेश दिइएको छ,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका निरीक्षक होम अधिकारीले भने, ‘खोप कार्ड नभएकालाई नाकामा एन्टिजेन गरेर घर पठाइन्छ ।’

भारतीय सवारी भन्सार शुल्क तिरेर निर्बाध आउन थालेका छन् । भारतीय दूतावासको पासवाहक नेपाली सवारी पनि निर्बाध भारत जान थालेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका अनुसार सातामा ३ हजार ६ सय ७४ जना भारतीय र २ हजार १ सय २५ जना नेपाली नागरिक प्रवेश गरेका छन् । २ हजार ८ सय ६ जना नेपाली र २ हजार २ सय ७९ भारतीय यो अवधिमा बाहिरिएका छन् । नेपालीलाई पनि खोप कार्ड र नागरिकताका आधारमा भारतमा प्रवेश दिने गरिएको छ ।

मूलतः भारतीयहरू घुमघाम र आँखा उपचारका लागि तथा नेपालीहरू स्वास्थ्योपचार र किनमेलका लागि भारत जाने गरेका छन् । मेचीनगर नगरपालिका–१४ दुहागढीस्थित हँडिया खोलाको बगरमा निर्माणाधीन होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा छ । चार बिघा क्षेत्रफलमा फैलिएको एक हजार जना क्षमताको होल्डिङ सेन्टरमा २२ वटा छुट्टाछुट्टै पक्की भवन निर्माण गरिएको छ । जसमा १४ वटामा क्वारेन्टिन रहनेछ । होल्डिङ सेन्टरको कुल लागत २५ करोड हो ।

विराटनगरस्थित रानी नाकाबाट भारतीय नागरिकलाई प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ । भारतबाट नेपालतर्फ आउने प्रत्येक व्यक्तिलाई स्वास्थ्य जाँचपछि मात्रै नेपालतर्फ प्रवेश दिने व्यवस्था गरिएको छ । रानी नाकास्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले दैनिक भारतबाट आउने सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै आएको बताए । ‘स्वास्थ्य जाँच गरिएकोमध्ये दैनिक एक सयभन्दा बढी व्यक्तिको एन्टिजेन परीक्षण गर्दै आएका छौं,’ उनले भने, ‘पछिल्लो एक सातामा भारतको मदरसाबाट आएका विराटनगरको बरगाछीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।’ कोरोना संक्रमण पुष्टि भएका बिरामीलाई रेडक्रसको एम्बुलेन्समा कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा पठाउने गरेको यादवले बताए । उपचार केन्द्रमा भर्ना हुन नचाहनेलाई कागज गराएर निजी गाडीमा होम आइसोलेसनमा पठाउने गरेको उनको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले रानी नाकामा भारतबाट आउने प्रत्येक व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको बताए । ‘भारतीय नागरिकलाई नेपाल प्रवेशका लागि खोप कार्ड अनिवार्य गरेका छौं,’ उनले भने, ‘प्रत्येक व्यक्तिलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न स्थानीय तहमार्फत जनचेतना अभियान सञ्चालनको व्यवस्था गरेका छौं ।’ यसका साथै जिल्लावासीलाई खोप लगाउने व्यवस्थाका लागि पहल गरिरहेको बताए । प्रजिअ दाहालले रंगेली नाकामा पनि हेल्थ डेस्क राख्नका लागि संघीय र प्रदेश सरकारसँग पहल गरिरहेको बताए ।

प्रकाशित : पुस ५, २०७८ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?