सधैं 'शक्तिशाली' विजय कसरी भए कमजोर ?- समाचार - कान्तिपुर समाचार

सधैं 'शक्तिशाली' विजय कसरी भए कमजोर ?

कांग्रेस उपसभापतिमा धनराज गुरुङसँग २ मतले पराजित
उपेन्द्रराज पाण्डेय

काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा पार्टीका निवर्तमान उपसभापति विजयकुमार गच्छदार पराजित भएका छन् । उनी धनराज गुरुङभन्दा २ मतले पछि पर्दै पराजित भएका हुन् । पार्टीका २ जना उपसभापतिमा गुरुङ र निवर्तमान महामन्त्री पूर्णबहादुर खड्का निर्वाचित भएका छन् । खड्काले २१२१, गुरुङले १९०८ र गच्छदारले १९०६ मत प्राप्त गरेका छन् । 

उनी प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाको प्यानलबाट उसभापतिमा उठेका थिए । उपसभापतिमा देउवा प्यानलबाट खड्का र शेखर कोइराला प्यानलका गुरुङ निर्वाचित भएका हुन् ।

२०२७ सालदेखि पार्टी राजनीतिमा महत्त्वपूर्ण भूमिकामा देखिँदै आएका गच्छदार पछिल्ला केही वर्षयता भने गुमनाम जस्तै थिए । ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि केही समय उनी 'फरार' जस्तै थिए । गत असार ३० गते गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि लामो समय गुमनाम बसेका गच्छदार गत असोज ६ गते एक कार्यक्रममार्फत सार्वजनिक भएका हुन् । तीनकुनेको एक होटलमा पत्रकार सम्मेलन गरेर आफू राजनीतिमा सक्रिय रहेको उनले जानकारी गराएका थिए । त्यति मात्रै होइन पत्रकार सम्मेलनमा उनले आफ्नो ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक रुपमा फसाउने कोसिस गरिएको बताएका थिए । उनले आफू निर्दोष भएको समेत दाबी गरेका छन् । पार्टीभित्र बलियो पकड भए पनि बालुवाटार जग्गा प्रकरणमा मुछिएयता भने उनको लोकप्रियता घट्दै गएको छ । जग्गा प्रकरणमा मुछिएसँगै उनी सांसदबाट निलम्बित भएका थिए ।

२०१० सालमा सुनसरीमा जन्मिएका गच्छदार २०२७ सालदेखि पार्टी राजनीतिमा सक्रिय भएका हुन् । त्यसयता उनी पार्टी राजनीति र सरकारमा महत्त्वपूर्ण भूमिकामा रहँदै आएका थिए । २०२७ सालमा महेन्द्र मोरङ क्याम्पसबाट नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका उनी २०५२, २०५३ र २०५६ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । पार्टी विभाजनपछि शेरबहादुर देउवाको नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकमा २०६० देखि २०६४ सालसम्म उनी महामन्त्रीको भूमिकामा थिए ।

त्यसपछि भने उनी मधेसकेन्द्रित दलमा लागे । मधेसी जनअधिकार फोरम नेपाल हुँदै आफ्नै अध्यक्षतामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसमेत गठन गरे । २०७४ सालमा भने उनी पुरानै पार्टी कांग्रेसमा फर्किए । २०४८ सालदेखि उनले निरन्तर चुनाव जित्दै आएका छन् ।

२०४८, २०५१, २०५६ मा प्रतिनिधिसभा सदस्य तथा संविधासभामा २०६४ र २०७० मा प्रत्यक्ष निर्वाचित उनी २०७४ मा सुनसरी ३ बाट विजयी भएका हुन् । २०५२ देखि २०५९ सम्म पटक-पटक गरी पाँचपटक मन्त्री भएका गच्छदारले २०६६ २०६८, २०७२, २०७३ र २०७४ मा गरी पाँचपटक उपप्रधानमन्त्रीको समेत जिम्मेवारी पाएका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : पुस १, २०७८ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

गान्धी हत्या : षड्यन्त्र र स्रोतको खोजबिन

गान्धीसँग वैचारिक मतभेद राख्न, उनको जीवनशैली र दर्शनको आलोचना गर्न पाइन्छ । तर, उनको हत्यालाई जायज र हत्यारालाई नायक मान्न कदापि सकिँदैन । गान्धी जन्मजयन्ती (अक्टोबर–२) का सन्दर्भमा अशोककुमार पांडेयको किताब ‘उसने गांधी को क्यों मारा’ माथिको समीक्षा :
उपेन्द्रराज पाण्डेय

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन जे विषयमा पनि सम्झौता गरेको आरोप लगाउँदै वाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले एक अभिव्यक्ति दिए, ‘खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है ! कोही नाथुराम गोड्सेको आवश्यक पर्‍यो अब, यो देश बचाउन । कोही गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’

कांग्रेस सांसद वैद्यले आत्मालोचनासहित पछि यो अभिव्यक्ति फिर्ता लिए । प्रदेशसभाको रेकर्डबाट पनि हटाइयो विवादित अभिव्यक्ति । तर, उनले ओलीको विरोध गर्न गोड्सेको सहारा किन लिए ? भारतीय स्वतन्त्रता संग्राममा अग्रणी भूमिका खेलेका महात्मा गान्धीको हत्या गर्ने गोड्से बन्छु भनेर उनले के सन्देश दिन खोजेका हुन् ? यी प्रश्नको उत्तर उनैले देलान् । तर, पछिल्लो समय गोड्सेको महिमा गाउने र गान्धीलाई खलपात्रका रूपमा प्रस्तुत गर्ने क्रम बढ्दो छ ।

अक्टोबर–२ का दिन गान्धी जयन्तीको सन्दर्भमा संयुक्त राष्ट्र संघले समेत विश्व अहिंसा दिवस मनाउने गर्छ । तर, पछिल्लो समय भारतमा गान्धी जयन्तीका अवसरमा गोड्सेको चर्चा मात्रै होइन, प्रशंसै बढी हुने गरेको छ । सामाजिक सञ्जालमा ह्‍यासट्याग नाथुराम गोड्से ट्रेन्ड हुनेगर्छ । गान्धीको व्यक्तित्व र उनको योगदानविरुद्ध ‘काउन्टर न्यारेटिभ’ बनाउने प्रयास भइरहेको छ । त्यो मात्रै होइन, ठाउँ–ठाउँमा गोड्से मन्दिर र सहरको नाम नै ‘गोड्से सिटी’ बनाउने प्रयत्न थालिएको छ । गान्धीको हत्या भएको ७३ वर्ष बितिसकेको छ । यसबीच उनको हत्या र हत्या गर्ने गोड्सेमाथि विभिन्न भ्रम फैलाइएका छन् । अहिले पनि हिन्दु अतिवादी समूहद्वारा गान्धीमाथि विभिन्न दोष थोपर्ने काम भइरहेकै छ । यसैलाई सत्य र इतिहास मान्दै एउटा पुस्ता हुर्किरहेको छ ।

गान्धीलाई ‘पाकिस्तानपरस्त’ को आरोप लाग्ने गरेको छ । उनीमाथिका केही आरोप यस्ता छन्, ‘भारत–पाकिस्तान विभाजन हुनुमा गान्धी नै मुख्य जिम्मेवार व्यक्ति हुन्’, ‘हिन्दुहरूलाई बेवास्ता गर्ने तर मुसलमानहरूलाई शरण दिएको’, ‘गान्धी बाँचिरहे हिन्दु राष्ट्रको निर्माणमा धक्का पुग्छ’, ‘पाकिस्तानलाई ५५ करोड भारतीय रुपैयाँ दिन गान्धीले नै दबाब दिएका थिए ।’ यी आरोपको खण्डनमा विभिन्न लेख र पुस्तक लेखिएका छन् । पछिल्लो समय कश्मीरको इतिहास र समकालका विशेषज्ञका रूपमा पहिचान बनाएका अशोककुमार पांडेयले आफ्नो किताब ‘उसने गान्धी को क्यों मारा : साजिस और स्रोत की पडताल’ मा गान्धी हत्यालाई सही ठहराउने प्रयासको खण्डन मात्रै होइन, त्यसको जरैसम्म पुगेर तथ्यपरक विश्लेषण गर्ने प्रयास गरेका छन् । गान्धी हत्यामा गोड्से मात्रै जिम्मेवार थिएनन्, यसपछाडि एउटा वैचारिक समूहको षड्यन्त्र नै थियो भन्ने प्रमाणित गर्ने प्रयासमा छन् पांडेय । ‘वे कौन थे ?’, ‘गान्धी हत्या : एक क्रोनोलोजी’ र ‘तुमने अदालतमे झूट बोले गोड्से’ गरी तीन खण्डमा विभाजित छ किताब ।

गान्धी हत्यामा गोड्सेबाहेक पनि धेरैको नाम आउँछ । फेब्रुअरी १० सन् १९४९ मा भएको फैसलाअनुसार, गोड्से र नारायण दत्तात्रेय आप्टेलाई नोभेम्बर १५, १९४९ मा मृत्युदण्ड नै दिइएको थियो । त्यस्तै गान्धी हत्याको षड्यन्त्रमा लागेका विष्णु आर करकरे, मदनलाल पाहवा, गोपाल गोड्से, शंकर किस्तैया र दत्तात्रेय परचुरेलाई आजीवन कारावासको सजाय दिइएको थियो । गान्धी हत्या मुद्दामा १४९ जना साक्षी र १ हजार पृष्ठको दस्ताबेज पेस गरिएको थियो । यी सबै पुनामा आधारित धार्मिक कट्टरपन्थी समूह हिन्दु महासभासँग आबद्ध थिए । गान्धी हत्या

षड्यन्त्रमा हिन्दु महासभाका नेता विनायक दामोदर सावरकरको समेत हात रहेको बताइए पनि पर्याप्त प्रमाण नपुगेको उल्लेख गर्दै उनलाई निर्दोष ठहराइएको थियो । गान्धीको हत्या हुनुपूर्व गोड्से, आप्टेलगायतले सावरकरलाई पटक–पटक भेटेका थिए । त्यति मात्र होइन, अदालतमा गोड्सेले दिएको सात घण्टा लामो बयान पनि सावरकरले नै लेखेको पांडेयलगायतका लेखक बताउँछन् । यस सम्बन्धमा गान्धीकै पनाति तुषार गान्धीले समेत ‘लेट्स किल गान्धी’ मा भनेका छन्, ‘उक्त बयान गोड्सेद्वारा लेखिएकै होइन, भाषामा उनको यस्तो पकड कहिल्यै देखिएको थिएन । भावनात्मक रूपमा प्रभाव पार्ने उद्देश्यले बयान लेखिएको छ । गोड्सेको बयानमा सावरकरको शिल्पकलाको झलक पाइन्छ ।’ नोभेम्बर ८, १९४८ मा गोड्सेले अदालतमा ९२ पेजको लिखित बयान पढेका थिए ।

सावरकर भारतमा हिन्दुत्वको एजेन्डालाई प्रवेश गराउने व्यक्ति हुन् । धार्मिक कट्टरपन्थी विचारधारा अघि बढाउनका लागि सन् १९२३ मा उनले नै ‘हिन्दुत्व’ शब्द पहिलोपटक प्रयोग गरेका थिए । सावरकरको हिन्दुवादी एजेन्डालाई नै भारतमा अहिले सत्तारूढ दल भाजपाले अगाडि बढाएको छ । गान्धी चाहिँ हिन्दु कट्टरपन्थ रुचाउँदैनथे । ‘हिन्द स्वराज’ लगायत विभिन्न लेखमा गान्धीले ‘हिन्दुत्व दृष्टिकोण’ को कडा आलोचना गरेका छन् ।

गान्धी हत्यामाथि पांडेयले नयाँ खुलासा गरेका त छैनन्, तर पछिल्लो समय बनाउन खोजिएको एउटा भाष्यको चिरफार भने गरेका छन् । गान्धीमाथि विभिन्न आरोप लगाएर ‘खलनायक’ र गोड्सेलाई ‘नायक’ का रूपमा चित्रित गर्ने प्रयास भइरहँदा उनले ऐतिहासिक तथ्य र विभिन्न सन्दर्भ सामग्रीको सहारामा गान्धी–हत्या पछाडिका वास्तविक वैचारिक षड्यन्त्रबारे खोजबिन गरेका छन् । ‘गान्धी हत्या : एक क्रोनोलोजी’ खण्डमा पांडेयले चुन्नीभाई वैद्यको ‘एसेसिनेसन अफ गान्धी : द फ्याक्ट्स बिहाइन्ड’ पुस्तकबाट गान्धी किन कट्टरपन्थी हिन्दुहरूको तारो बने भन्ने प्रसंग उद्धृत गरेका छन्– ‘गान्धीजीको हत्या दशकौंदेखिको व्यवस्थित ‘ब्रेनवासिङ’ को परिणाम थियो । गान्धीजी कट्टरपन्थी हिन्दुहरूको बाटोमा काँडा बनेका थिए । समयक्रमसँगै यो असन्तुष्टि घृणामा परिणत भयो ।’

विनोभा भावेदेखि जयप्रकाश नारायणको नजिक रहेर काम गरेका वैद्य र पछिल्लो समय गान्धी हत्यामा नयाँ सिद्धान्तका रूपमा जवाहरलाल नेहरूलाई कठघरामा उभ्याउने संघसमर्थक शबू प्रसादसम्मले पाकिस्तानलाई ५५ करोड दिइएका कारण उब्जिएको आक्रोश गान्धी हत्याको कारण नभएको मान्ने पांडेयको तर्क छ । गोड्सेले अदालतमा दिएको बयानदेखि आजसम्म पनि पाकिस्तानलाई ५५ करोड दिइएको कुरालाई बहसको विषय बनाइने गरेको छ । पाकिस्तानलाई ५५ करोड भारत–पाकिस्तानबीचको विभाजनका सम्झौताअनुसार दिइएको थियो । पांडेय लेख्छन्, ‘५५ करोड कुनै उपहार, अनुदान वा भीख थिएन । जब भारत र पाकिस्तान अलग–अलग भए सबैचिज बाँडियो ।... भारतीय रिजर्भ बैंकमा रहेको नगद पनि बाँड्नुपर्ने थियो (पृष्ठ १९१–९२) ।’ बैंकमा भएको ४ सय करोडमध्ये पाकिस्तानलाई ७५ करोड दिने सम्झौता भएको थियो । विभाजनलगत्तै पहिलो किस्तामा २० करोड र बाँकी ५५ करोड पछि दिने सहमति भएको थियो ।

हिन्दु अतिवादी समूहले मुसलमानलाई दुश्मन र हिन्दु–मुस्लिम एकताका पक्षमा उभिएका गान्धीलाई हिन्दु राष्ट्र निर्माणको तगारोका रूपमा लिएका थिए । यस कामलाई सबैभन्दा धेरै हिन्दु महासभाले बढावा दियो । त्यसै क्रममा सन् १९३७ मा अहमदाबादमा भएको हिन्दु महासभाको अधिवेशनमा सावरकरले दिएको भाषण थियो, ‘भारत आज एउटा एकाइ समरूप देश बन्न सक्दैन । यसको ठीकविपरीत यहाँ मुख्य रूपले दुई देश छन्— हिन्दु र मुसलमान ।’ भारतीय स्वतन्त्रता संग्रामका लागि हिन्दु–मुस्लिम एकता एउटा मजबुत हतियारका रूपमा तयार भइरहेका बेला सावरकरले भने त्यसलाई कमजोर बनाउने प्रयास गरेका थिए ।

भारत–पाकिस्तान विभाजनअघि सुरु भएको धार्मिक कट्टरपन्थका कारण गान्धी मात्रै होइन, लाखौंको ज्यान गयो । धार्मिक कट्टरपन्थी समूहबाटै पाकिस्तानी प्रधानमन्त्री लियाकत अली खान, बेनजिर भुट्टो, भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी, राजीव गान्धी, लेखक तथा अभियन्ता गौरी लंकेश, नरेन्द्र दाभोलकर, एमएम कलबुर्गीलगायतको हत्या भयो । भारतमा अहिले पनि भीडतन्त्र, लभजिहाद, घरवापसीलगायतका नाममा धार्मिक कट्टरपन्थ हावी छ । गान्धी हत्याको प्रमुख कारणका रूपमा चर्चा गरिने भारत–पाकिस्तान विभाजनबारे पनि लेखक पांडेय भन्छन्, ‘भारत–पाकिस्तान विभाजन हुनुको प्रमुख कारण अंग्रेजको ‘डिभाइड एन्ड रुल’ नीति र त्यसलाई साम्प्रदायिक हिन्दु र मुस्लिम संगठनले साथ दिनु नै हो ।’ गान्धी सुरुमा विभाजनको पक्षमा थिएनन् । एकता कायम राख्ने आफ्ना सबै प्रयास असफल भएपछि अन्त्यमा ‘हार स्वीकार्दै’ मन भारी बनाएर गान्धी विभाजनको पक्षमा उभिएको पांडेय बताउँछन् ।

दक्षिण अफ्रिकाबाहेककै कुरा गर्ने हो भने पनि भारतमा गान्धीमाथि हत्या हुनुपूर्व ४ पटक आक्रमण भएको थियो । सन् १९३४ देखि १९४८ बीच गान्धीमाथि भएका आक्रमणमा कुनै न कुनै रूपमा हिन्दु महासभासँग जोडिएका व्यक्तिकै हात थियो । त्यसमध्ये पनि गोड्से र आप्टेकै संलग्नतामा गान्धीमाथि धेरैपटक आक्रमण भएको थियो । गान्धीमाथि पहिलो आक्रमण सन् १९३४ मा पूनामा एउटा कार्यक्रममा सहभागी हुने क्रममा भएको थियो ।

त्यस्तै सन् १९४४ र हत्या हुनु १० दिनअघि सन् १९४८ जनवरी २० मा पनि गान्धीमाथि आक्रमण भएको थियो । जनवरी २० को आक्रमणको योजनामा गोड्सेसहित आप्टे, भड्गे, शंकर र करकरे सहभागी थिए । दिल्लीस्थित बिरला भवनमा प्रार्थनासभाका क्रममा आक्रमण गर्ने योजना बनेको थियो । तर, उनीहरू सफल भएनन् । बिरला भवननजिकै उनीहरूले बम विस्फोट गराए । सबै भाग्न सफल भए सिवाय मदनलाल पाहवा । पाहवाले आक्रमण र त्यसमा संलग्न मानिसबारे प्रहरीलाई केही जानकारी दिएका पनि थिए । तर, प्रहरीले गान्धीको सुरक्षा र आक्रमणकारीको खोजतलासमा लापरबाही गरेको आरोप लाग्दै आएको छ । पाहवा सन् १९६४ मा रिहा भए । गान्धीमाथिको आक्रमणमा संलग्न भएकोमा उनमा कुनै पछुतो थिएन । सन् १९९८ मा आउटलुकसँगको कुराकानीमा उनले भनेका थिए, ‘यदि गान्धीको हत्या मैले नै गरेको भए !’

गान्धी–हत्याका लागि पटक–पटक भएका आक्रमणको विस्तृत जानकारी तुषार गान्धीको ‘लेट्स किल गान्धी’ र कपूर आयोगको सन् १९६९ को रिपोर्टमा पनि पाउन सकिन्छ ।

गान्धी हत्या भलै गोड्सेको ९ एमएम बरेटा पेस्तोलबाट भयो, तर हत्यारा हिन्दु अतिवादी वैचारिक समूह नै थियो । गान्धीसँग वैचारिक मतभेद राख्न र उनका कदमको आलोचना गर्न सकिन्छ । अहिले पनि गान्धीको दर्शन, जीवनशैली र विचारमाथि बहस हुने गरेको छ । उनका विचार र कदमको आलोचना भगत सिंह, नेताजी सुवासचन्द्र बोसजस्ता क्रान्तिकारी नेताले समेत गरेका छन् । तर, उनको हत्यालाई ‘जायज’ र हत्यारालाई ‘नायक’ मान्न भने कदापि सकिँदैन ।

प्रकाशित : आश्विन १६, २०७८ १०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×