१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एमालेले बनायो स्थायी कमिटी र पोलिटब्युरो

मापदण्डबिनै नाम आएको भन्दै पृथ्वी सुब्बा गुरूङको समेत आपत्ति
वरीयतामा सचिव गोकर्ण विष्ट र योगेश भट्टराई असन्तुष्ट
बबिता शर्मा

काठमाडौँ — अध्यक्ष केपी शर्मा ओलीले ‘बिनामापदण्ड’ राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजन गरिएको भन्दै एमाले नेताहरू असन्तुष्ट बनेका छन् । ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा तथा ९९ सदस्यीय पोलिटब्युरो र ४५ सदस्यीय स्थायी कमिटी बनाउँदा छलफल नगरिएको भनी ओलीनिकट नेताहरूले समेत गुनासो गरेका छन् । 

एमालेले बनायो स्थायी कमिटी र पोलिटब्युरो

भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा ओलीले नाम प्रस्ताव गरेलगत्तै उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीका साथै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मापदण्डबिनै नाम आएको भन्दै विरोध जनाएका थिए । ‘कम्तीमा १९ पदाधिकारीबीच छलफल गरेर मापदण्ड बनाउनुपर्थ्यो । त्यसो गर्दा सबैले चित्त बुझाउने ठाउँ हुन्थ्यो । पार्टीलाई सामूहिक नेतृत्वमा चलाउनुपर्छ,’ बैठकमा ज्ञवालीले भनेका थिए ।

उपाध्यक्ष शाक्यले अध्यक्षको प्रस्तावले पार्टीमा न्याय नभएको भन्दै असन्तुष्टि जनाएकी थिइन् । ‘महत्त्वपूर्ण कमिटी गठन र केन्द्रीय सदस्यको मनोनयनमा अध्यक्षले सल्लाह गरेको भए सजिलो हुन्थ्यो । यसअघि छलफल र सल्लाह भएन । मूल्यांकनको परिपाटी हिजो थियो । आज त्यसलाई नजरअन्दाज गरियो,’ शाक्यको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

अध्यक्ष ओलीले व्यक्तिगत निर्णय लिएको भन्दै उपमहासचिव गुरुङले असन्तुष्टि जनाएका थिए । मापदण्ड नबनाई व्यक्तिगत निर्णय गर्दा वरिष्ठ नेताहरूसमेत पोलिटब्युरोमा छुटेको उनको भनाइ थियो । ‘विधिसम्मत तरिकाले छलफलबाट सबै टुंग्याउनुपर्थ्यो । व्यक्तिगत निर्णय लिनु गलत हुन्छ । पार्टीलाई सामूहिक निर्णय प्रणालीमा लैजानुपर्छ,’ गुरुङले भनेका थिए । केन्द्रीय सदस्यको मनोनयन र पोलिटब्युरो गठनमा उपाध्यक्ष सुवास नेम्वाङ, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पनि असन्तुष्टि राखेका थिए । नेम्वाङले इलामबाट मणि लिम्बूलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्ने बताएका थिए । भुसालले अन्यायपूर्ण र अपमानपूर्ण प्रस्ताव आएको टिप्पणी गरे ।

केन्द्रीय सदस्य भगवती चौधरीले कार्यविभाजनमा अन्याय भएको बताइन् । ‘मभन्दा जुनियरलाई कुन मापदण्डबाट पोलिटब्युरो बनाइयो ?’ उनले कान्तिपुरसँग भनिन् । केन्द्रीय सदस्यहरू श्रीमाया थकाली, टुका हमाल, ममता गिरी, लालबहादुर थापालगायतका नेता पनि पोलिटब्युरोमा नपरेपछि असन्तुष्ट छन् ।

‘पूर्वमाओवादी समूहको असन्तुष्टि छैन । पहिला माधव नेपालको पक्षमा रहेर काम गरेकाहरूमाथि प्रतिशोध साधियो । यसले राम्रो पक्कै गर्दैन,’ एक नेताले भने । केन्द्रीय सदस्य नीरज आचार्यले कार्यविभाजनप्रति लिखित रूपमा नै असन्तुष्टि राखेका छन् ।

बैठकले केन्द्रीय पदाधिकारीको वरीयताक्रम पनि तय गरेको छ । अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षको पहिलो वरीयतामा युवराज ज्ञवाली छन् । त्यसपछि उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे छन् । महासचिव शंकर पोखरेलपछि तीन उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो वरीयतामा छन् । दोस्रोमा पृथ्वीसुब्बा गुरुङ र तेस्रोमा विष्णु रिमाल छन् । सचिवमा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी पहिलो र लेखराज भट्ट दोस्रो वरीयतामा छन् । त्यसपछि रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल छन् । एक नेताका अनुसार सचिव विष्ट र भट्टराई वरीयता र कार्यविभाजनप्रति असन्तुष्ट छन् ।

केन्द्रीय सदस्य झपट रावलले अध्यक्ष ओलीको बोली र व्यवहार फरक देखिएको बताए । यसअघि ओलीले पार्टीमा कसैलाई पक्षपात र अन्याय नगर्ने भने पनि व्यवहारमा प्रतिशोध देखिएको उनको भनाइ छ । ‘अध्यक्षले चार श्रेणीमा विभाजन गर्नॅभयो । क श्रेणीमा उहाँसँग रहेका पर्नॅभयो । ख श्रेणीमा माओवादीबाट आएका परे । ग श्रेणीमा ८ बुँदे गरेर गएका र पार्टी प्रवेश गरेका, एक, दुई र तीन महिना नपुगेकाहरू परेका छन्,’ रावलले भने, ‘१० बुँदे गरेर एमालेमै रहेकाहरू घ श्रेणीमा परेका छौं । उहाँले प्रतिशोधपूर्ण, पूर्वाग्रहपूर्ण र पक्षपातपूर्ण मनोनयन र कार्यविभाजन गर्नुभयो ।’

बैठकले प्रदेश कमिटीको इन्चार्ज र पदाधिकारीमा पनि मनोनयन गरेको छ । उक्त कमिटीले प्रदेश अधिवेशन आयोजना गर्नेछ । महासचिव पोखरेलका अनुसार प्रदेश १ मा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, वाग्मतीमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज बनेका छन् । शनिबारको बैठकले आगामी पुस २३ मा जिल्ला अधिवेशन, माघ ८ मा प्रदेश कमिटीको अधिवेशन र फागुन मसान्तसम्म सबै जनवर्गीय संगठनको अधिवेशन गर्ने निर्णय गरेको थियो । प्रचार विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव गुरुङलाई दिइएको छ ।

उपमहासचिव ज्ञवाली स्कुल विभाग र स्थायी कमिटी सदस्य खगराज अधिकारी संगठन विभाग प्रमुख बनेका छन् । युवा संघको इन्चार्ज महेश बस्नेतलाई बनाउने निर्णय भएको छ । आगामी पुसमा जिल्लाभरि तयारी गरेर माघ र फागुनमा पार्टी विस्तार तथा पार्टी प्रवेश कार्यक्रम गराउने कार्ययोजना एमालेले बनाएको छ । महाधिवेशनको सन्देश प्रवाह गर्ने अभियान चलाउने निर्णय गरेको एमालेमा कार्यविभाजनलाई लिएर सुरुदेखि नै असन्तुष्टि छ । महाधिवेशनमै समेत अध्यक्ष ओलीले निकट व्यक्तिलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको भन्दै उनकै समूहमा असन्तुष्टि देखिएको थियो । केन्द्रीय सदस्यमा निर्वाचित भए पनि अस्वीकार गर्दै शपथ नलिएका कारण पूर्वउपाध्यक्ष भीम रावल भने बैठक उपस्थिति थिएनन् ।

स्थायी कमिटी को–को ?

१९ पदाधिकारी सबै, घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे र हिक्मत कार्की ।

पोलिटब्युरोमा को–को ?

स्थायी कमिटी सदस्य सबै, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, देवी ज्ञवाली, पर्शु मेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्द पोखरेल, लीला गिरी, जगत विश्वकर्मा, कमलप्रसाद चौलागाईं, बालकृष्ण ढुंगेल, ईश्वरबहादुर रिजाल, जितबहादुर गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, राम दयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, टुकराज सिग्देल, लीलानाथ श्रेष्ठ, खेममान खड्का, राजेन्द्र रावल, नारदमुनि राना, लिलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बानियाँ, मञ्जुकुमारी चौधरी, अच्युत मैनाली, विशाल भट्टराई, गणेश ठगुन्ना, खिमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फुयाँल, ठाकुर गैरे, तिलकुमार मेन्याङ्बो, जुलीकुमारी महतो, गौरी वली, निरुदेवी पाल, विमला घिमिरे, लीलाकुमारी भण्डारी, शान्ता चौधरी, सीता गिरी वली, नन्दलाल चौधरी, कृष्णबहादुर राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल, सूर्यबहादुर थापा, मनकुमार जैसी, सुशीला नेपाल, पार्वत गुरुङ ।

मनोनीत केन्द्रीय सदस्य

दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन श्रेष्ठ, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रूपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, चन्द्रमोहन गौतम, रेशम लामा, दुर्गा प्रसाईं, चूडा तामाङ, कृष्ण केसी, गोविन्द दुलाल, सहदेव बोगटी, कालसिं काउचा, विषमलाल अधिकारी, इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोक्का, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला पुर्जा, मञ्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जेल, गीता कार्की, शान्ति अधिकारी, सरिता बराल, तारादेवी गुरुङ र रुक्मणि राना ।

प्रकाशित : मंसिर २७, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?