सर्वसम्मत भन्दै प्रतिस्पर्धा रोक्ने प्रयास- समाचार - कान्तिपुर समाचार
माओवादी प्रदेश सम्मेलन

सर्वसम्मत भन्दै प्रतिस्पर्धा रोक्ने प्रयास

नेतृत्व चयनका सबै प्रक्रिया एक साता पछाडि सारिँदा नेता–कार्यकर्ता सजिलो विकल्प खोज्दै 
जितेन्द्र साह, सन्तोष सिंह, प्रतीक्षा काफ्ले, दुर्गालाल केसी, कृष्णप्रसाद गौतम, चित्रांग थापा

विराटनगर/धनुषा/कास्की/दाङ/सुर्खेत/धनगढी — वडा र पालिका तहको नेतृत्व चयन सकेर शनिबारदेखि प्रदेश सम्मेलनमा जुटेको नेकपा माओवादी केन्द्रमा सर्वसम्मतको नाममा प्रतिस्पर्धा गर्न नदिई पदाधिकारी छनोट प्रयास भइरहेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले शनिबार सबै प्रदेश सम्मेलनको भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गरेका हुन् ।

प्रदेश २ बाहेकमा आइतबारको बन्द सत्रबाट नयाँ नेतृत्व चयन गर्ने तयारी छ । प्रदेश २ का ३० वटा स्थानीय तहको सम्मेलन बाँकी भएकाले शनिबार उद्घाटन सकेर बन्द सत्र पुस ३ मा सारिएको हो । सबैजसो प्रदेशमा नेतृत्वका आकांक्षी धेरै छ तर कसैले पनि उम्मेदवारी सार्वजनिक गरेका छैनन् । सबैजसोले बन्द सत्र सुरु भएपछि मात्रै प्रक्रियामा जाने बताइरहेका छन् । प्रदेश नेतृत्व चयन सर्वसम्मत हुने दाबी नेताहरू गरिरहेका छन् । स्थानीय तहमा उम्मेदवार चयनलगायतमा भूमिका हुने भएकाले प्रदेशमा आकांक्षीको संख्या बढेको छ ।

मोरङको विराट चोकमा शनिबार सुरु भएको प्रदेश १ को प्रथम सम्मेलनमा झन्डै १ हजार ५ सय प्रतिनिधि सहभागी छन् । प्रदेश अध्यक्षको प्रतिस्पर्धामा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र धर्मशीला चापागाईंलगायत छन् । राई प्रदेश कमिटीका वर्तमान संयोजक एवं उदयपुरबाट संघीय सांसद हुन् । धनकुटाका भण्डारी प्रदेश सचिव छन् भने पाँचथरका आङ्बो प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री हुन् । झापाकी चापागार्इं प्रदेश १ सह–इन्चार्ज हुन् । पार्टी विधानअनुसार प्रदेश सम्मेलनबाट १ अध्यक्ष, महिलासहित तीन उपाध्यक्ष, १ सचिव, तीन सहसचिव र कोषाध्यक्षसहित ९ जना पदाधिकारी चयन हुनेछन् । सम्मेलनले छान्ने २ सय ६९ सदस्यीय प्रदेश १ कमिटीले नै पदाधिकारी चयन गर्नेछ ।

प्रदेश सम्मेलनको बन्द सत्र अर्को साता सरेकाले प्रदेश २ मा भने नेतृत्वका लागि आकांक्षीबारे औपचारिक चर्चा छैन । पालिकाहरूको नेतृत्व चयन सकेर प्रदेश सम्मेलनको बन्द सत्र गरिने पार्टीका प्रदेश २ इन्चार्ज प्रल्हाद बुढाथोकीले बताए । १ सय ३६ स्थानीय तहमध्ये ३० वटामा अधिवेशन हुन सकेको छैन । शनिबार सम्मेलनमा एक हजार प्रतिनिधि सहभागी भएका थिए ।

माओवादीको वाग्मती प्रदेश अध्यक्षका लागि सरल सहयात्री, विशाल खड्का, दीननाथ गौतम, अनिल शर्मा, डीपी ढकाल, उमेश स्थापित, महेश्वर फुँयाल, रुपा महर्जनलगायतका आकांक्षी देखिएका छन् ।

पोखरास्थित सभागृहमा सुरु भएको माओवादी केन्द्रको गण्डकी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ । गण्डकी प्रदेश इन्चार्ज तथा केन्द्रीय सदस्य हितराज पाण्डेले अधिवेशनमा ८ सय ४६ जना प्रतिनिधि सहभागी भएको बताए । आइतबार नौ पदाधिकारीसहित २२९ सदस्यीय प्रदेश कमिटी चयन हुने जानकारी उनले दिए । ‘हामी सकभर सर्वसम्मत नेतृत्व चयनमा लाग्नेछौं, सक्दै सकेनौं भनेमात्र चुनावी प्रक्रियामा जान्छौं,’ इन्चार्ज पाण्डेले भने ।

गण्डकीमा प्रदेश अध्यक्षमा लागि चार जना आकांक्षी छन् । कास्कीका प्रदेश सांसद दीपक कोइराला, स्याङ्जाका शैलेन्द्र घिमिरे, लमजुङका पारसमणि पौडेल र म्याग्दीका गोविन्द पौडेलले दाबी गरिरहेका छन् ।

दाङको भालुबाङमा जारी लुम्बिनी प्रदेश सम्मेलनमा पनि सर्वसम्मतको प्रयास भइरहेको छ । एक व्यक्ति–एक पदको अवधारणाअनुसार प्रयास भइरहेको प्रदेश सचिव जगप्रसाद शर्माले बताए । अहिलेका केन्द्रीय सदस्यहरू नै प्रदेश कमिटीमा रहेकाले अब प्रदेश या केन्द्रमध्ये एक छान्नुपर्ने भएको छ । प्रदेश कमिटी कार्यकारी भएकाले पदाधिकारीमा केन्द्रीय सदस्यहरूको नै आकर्षण देखिएको छ । लुम्बिनीको अध्यक्षका लागि दाङका हेमराज शर्मा, रोल्पाका दीपेन्द्र पुन र पूर्वी रुकुमका तेजबहादुर वलीको चर्चा छ । लुम्बिनीमा सात पदाधिकारीसहित २ सय ५ सदस्यीय कमिटीमा १ सय ९ वटा स्थानीय तहबाट भौगोलिक उपस्थिति हुने माओवादीका केन्द्रीय सदस्य जीवन गौतमले बताए । बाँकी ७६ जना खुला सदस्यहरू छानिनेछन् । कमिटीमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम समुदायको सहभागिता हुने उनले बताए ।

कर्णालीमा प्रदेश नेतृत्वका लागि अर्थमन्त्री जनार्दन शर्मा र प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतबीच रस्साकसी छ । कर्णालीको नेतृत्वका लागि शर्मा पक्षबाट अहिलेका संयोजक राजकुमार शर्मा, पार्टीका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला इन्चार्ज नरबहादुर विष्ट, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही आकांक्षी छन् । शर्मा जिल्ला समन्वय समिति रुकुमका प्रमुख हुन् भने शाही पार्टीको प्रदेश सह–इन्चार्ज छन् ।

त्यस्तै बस्नेत पक्षबाट अहिलेका प्रदेश सचिव रामदीप आचार्य, केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका आर्थिक योजनामन्त्री विन्दमान विष्ट र प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्तेत नेतृत्वका आकांक्षी छन् । तीन पल्टसम्म सांसद रहेका बस्नेत दुवै संविधानसभाका सदस्य थिए । तर पार्टीको प्रदेश अधिवेशनमा सहभागी शर्मा र बस्नेतले आफूहरू एक रहेको दाबी गरे । शर्माले भने, ‘हामी दुवै माओवादी लाइनका हौं ।’

सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा भइरहेको छ । पार्टीका प्रदेश अध्यक्ष शरदसिंह भण्डारीका अनुसार नयाँ नेतृत्वसहितको कार्यसमितिको चयन हुने छ । ‘आइतबार बिहानैदेखि बन्द सत्र सुरु हुने कार्यक्रम छ,’ अध्यक्ष भण्डारीले भने, ‘बन्द सत्रमा प्रदेश अध्यक्षबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।’ उनका अनुसार राजनीतिक प्रतिवेदनमाथिको छलफल सकेर आइतबार साँझ अध्यक्षसहित २ सय २३ सदस्यीय प्रदेश कमिटी चयन हुनेछ । सुदूरपश्चिम प्रदेश सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्य खगराज भट्टलाई तोकिएको छ । प्रदेश अध्यक्षका लागि नरेन्द्र कुँवर, वीरभान चौधरी, मानबहादुर धामी, शरदसिंह भण्डारी, हरि चौधरी र हरि ज्ञवालीले दाबी गरिरहेका छन् । सम्मेलनमा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट १ हजार १ सय ९७ प्रतिनिधि सहभागी रहेको अध्यक्ष भण्डारीले बताए ।

प्रकाशित : मंसिर २६, २०७८ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्

अस्ट्रेलियाको जित

एएफपी

ब्रिसबेन — अस्ट्रेलियाले इंग्ल्यान्डमाथि पहिलो टेस्टमा ९ विकेटको जित हासिल गर्दै एसेज शृंखलामा १–० को अग्रता लिएको छ । इंग्ल्यान्डलाई दोस्रो इनिङ्समा २ सय ९७ रनमा अलआउट पारेपछि अस्ट्रेलियालाई जितनिम्ति २० रन आवश्यक थियो ।

भेट्रान अफ स्पिनर नाथन लायनले ४ सय टेस्ट विकेट पुर्‍याएको खेलमा अस्ट्रेलियाका लागि मार्कस ह्यारिसले विजयी चौका प्रहार गर्दै ५.१ ओभरमै जित दिलाए । ओपनिङ ब्याटिङ गरेका एलेक्स केरी ९ रनमा आउट भए ।

नियमित ओपनर डेविड वार्नर पहिलो इनिङ्समा चोटग्रस्त भएपछि केरीले उपल्लो क्रमको जिम्मेवारी पाएका हुन् । टेस्ट कप्तानीको पहिलो खेलमै अस्ट्रेलियालाई जित दिलाएपछि प्याट कमिन्सले भने, ‘यसपल्ट धेरै कुरा सकारात्मक रह्यो । सबैजना मलाई हेरेर मुस्कुराइरहेका छन् । वास्तवमा मलाई सबैप्रति गर्व छ । मेरो विचारमा यो हाम्रो पूर्ण प्रदर्शन थियो ।’

गावामा ब्याट र बल दुवैमा ध्वस्त बनेको इंग्ल्यान्डले आफूलाई फेरि संगठिन गर्नुपर्नेछ । पहलो इनिङ्समा १ सय ४७ रनमै अलआउट इंग्ल्यान्ड बलमा पनि सकारात्मक प्रदर्शन गर्न असफल रह्यो । प्लेयर अफ द म्याच ट्राभिस हेड (१५२), वार्नर (९४) र मार्नस लावुसचेन (७४) ले इंग्लिस बलरमाथि धावा बोले ।

विशेष गरी बायाँहाते स्पिन ज्याक लिच सबैभन्दा बढी निशानामा परे । पाहुना टोलीले तेस्रो दिन कप्तान जो रुट र डेभिड मलानबीच एक उत्कृष्ट साझेदारीले पुनरागमन प्रयास गरेको थियो । अघिल्लो दिन अविजित दुवै ब्याटर शनिबार छिट्टै आउट भए । तब इंग्लिस ब्याटिङक्रम तीव्र गतिमा पतन भयो ।

‘निराशाजनक रह्यो । हामीले यो खेललाई नियन्त्रणमा लिन वास्तवमै कडा मिहिनेत गरेका थियौं । चौथो दिनको पहिलो सत्र कति महत्त्वपूर्ण हुन्छ भन्ने हामीले राम्ररी बुझेका थियौं,’ इंग्लिस कप्तान रुटले भने, ‘हामीले नयाँ बलमा राम्ररी खेलेर साझेदारी अगाडि बढाउन सकेको भए विपक्षीमाथि प्रतिस्पर्धात्मक स्कोर खडा गर्न सक्थ्यौं ।’ इंग्ल्यान्डले २२०–२ को स्थितिबाट दिनको सुरुआत गरेको थियो । शनिबार चौथो दिन पहिलो सत्रमा ७७ रन जोड्दा बाँकी विकेट गुमायो । गावामा बिजुलीको समस्याका कारण ४५ मिनेटको खेल टेलिभिजनबाट प्रशारण हुन पाएन । त्यो अवधिमा कुनै पनि विकेट गएन ।

३४ वर्षीय अफ स्पिनर लायन शुक्रबार आफ्नो टेस्ट करिअरको ४ सय विकेटको कोसेढुंगा पार गर्न असफल थिए । तर ८२ रनको स्कोरमा खेलिरहेका अघिल्लो दिनका अविजित ब्याटर मलानलाई आउट गरेपछि उनको खुसी हेर्नलायक थियो । आफ्नो १ सय १ औं टेस्टमा ४ सय विकेट लिने उनी विश्वका १६ औं क्रिकेटर बने । यो कीर्तिमानमा पुग्ने शेन वार्न र ग्लेन म्याकग्रापछि उनी तेस्रो अस्ट्रेलियाली खेलाडी बने ।

अर्को ओभरमा अस्ट्रेलियाका विकेटकिपर एलेक्स केरीले रुटको विकेट अवसर गुमाए । त्यसलगत्तै क्यामरुन ग्रिनले अस्ट्रेलियामा पहिलो टेस्ट शतक खोजीमा रहेका रुटलाई ८९ रनमा आउट गरेपछि इंग्ल्यान्ड २२९–४ को स्थितिमा पुग्यो । ओलि पोपलाई स्लिपमा स्टिभ स्मिथबाट क्याच गराएर लायनले अर्को विकेट लिए । बेन स्टोक्स र जस बटलरले इंग्ल्यान्डलाई अझै अगाडि लैजाने प्रयासस्वरुप केही राम्रा शटहरू खेले । कप्तान कमिन्स आफैं बलिङ गर्न आए र तत्कालै सफलता पाए ।

प्रकाशित : मंसिर २६, २०७८ ०७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×