कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नगर कार्यालयमा बलात्कार प्रयास घटना : प्रहरीले मुद्दा नलिएपछि आयोगमा

पालिका कार्यालयभित्रै बलात्कार प्रयासको सिकार भएकी महिलाको दुखेसो– ‘दुई सातादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि मुद्दा दर्ता भएन’
लक्ष्मी साह

बारा — बलात्कार प्रयासको सिकार भएकी एक महिला दुई सातादेखि जिल्ला प्रहरी कार्यालय धाउँदा पनि प्रहरीले मुद्दा दर्ता नगरेपछि न्याय माग्दै राष्ट्रिय मानवअधिकार आयोगको प्रादेशिक कार्यालय जनकपुर पुगेकी छन् ।

गत मंसिर ९ मा पचरौता नगरपालिकाको सुनसान कार्यालयभित्रै ३२ वर्षीय कार्यालय सहायक सञ्जय पासवानले २२ वर्षीया महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेका थिए । घटनाबाहिर आउँदा र प्रहरीमा उजुरी पर्दासमेत आरोपित पक्राउ परेका छैनन् । प्रहरीले दुवै पक्षलाई छलफलमा बोलाए पनि मुद्दा दर्ता गरेको छैन । ‘घटना भएको दुई साता भइसक्दासमेत प्रहरीले मुद्दा दर्ता गरेन, छलफलका लागि ठाडो उजुरीमात्र लिएको छ,’ पीडित महिलाले भनिन्, ‘न नगर प्रमुखले चासो दिएका छन् न त प्रहरीले । त्यसैले न्यायका लागि मानवअधिकार आयोगमा निवेदन दिएकी छु ।’ घटना सामसुम पार्न जनप्रतिनिधिबाटै आर्थिक लेनदेनको प्रस्ताव आइरहेको पीडित महिलाले बताइन् । ‘घटनालाई सामसुम गर्न जनप्रतिनिधिहरूले बिचौलियाका रूपमा आर्थिक लेनदेन गरी टुंगो लगाउन दबाब दिइरहेका छन्,’ ती महिलाले भनिन्, ‘मलाई न्याय चाहिएको छ ।’

पालिका कार्यालयनजिकै कोठा लिएर बस्दै आएकी ती महिला पालिकाको आफैं बस्ने कोठामा कम्प्युटरबाट पेन ड्राइभमा ‘डकुमेन्ट’ लिन जाँदा बलात्कार प्रयास भएको थियो । प्रहरी र नगर प्रमुखले छलफलका लागि मात्र बोलाउँदै आएको उनले बताइन् । नगर प्रमुख रमेश यादव घटना सामसुम गर्न लागेको उनको गुनासो छ । घटना भएदेखि पटक–पटक गरी दुई दिन छलफलका लागि बोलाए पनि आफैं सहभागी नभएर आफ्ना खास व्यक्तिहरूलाई परिचालन गरेको ती महिलाको भनाइ छ ।

नगर प्रमुख यादव भने सम्पर्कमा आउन चाहेनन् । प्रहरी उपरीक्षक दीपेन्द्रबहादुर शाहीले घटनाबारे अनुसन्धान भइरहेको दाबी गरे । ‘महिलाको सुरक्षाप्रति संवेदनशील छौं,’ उनले भने, ‘घटना अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउँछौं ।’

राष्ट्रिय मानवअधिकार आयोग जनकपुर प्रादेशिक कार्यालय प्रमुख वीरबहादुर बुढामगरले उजुरी दर्ता भएको र प्रहरीबाट लिखित जवाफ बुझेर घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइने बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादवले महिला कर्मचारीबाट मौखिक जानकारी आएपछि आरोपित पासवानलाई आफूले हप्काएको बताए । ‘अरू समाधान हामीले गर्ने होइन, प्रहरीमा गएकाले उतैबाट अनुसन्धान होला,’ उनले भने । गत कात्तिक ९ मा पचरौता–१ स्थित पिपरपाती माविका विद्यार्थीले विद्यालयमा शिक्षक पदपूर्ति, कम्प्युटर प्रयोगशाला सञ्चालनको माग गर्दै कार्यालय तोडफोड गरेयता पालिका कार्यालय बन्द गरेर अन्यत्रैबाट काम भइरहेको छ ।

यस्तो थियो घटना

विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेपछि नगरपालिका कार्यालय बन्द भएर सुनसान थियो । यही बीचमा ती अविवाहित महिला कर्मचारी आफ्नो कम्प्युटरबाट पेन ड्राइभमा ‘डकुमेन्ट’ लिन पालिका गएकी रहिछन् । उद्योग मन्त्रालयबाट नगरपालिकामा लागू भएको ‘गरिबी निवारणका लागि लघु उद्यम विकास’ कार्यक्रमको ‘फोकल पर्सन’ ले बजेट स्वीकृत गर्ने र कार्यको योजना बनाउने उद्देश्यले प्रस्ताव तयार गरी पेस गर्न ती महिला कर्मचारीलाई अह्राएकाले उनी त्यहाँ गएकी थिइन् ।

आफ्नै कार्यकक्षमा गएर ‘डकुमेन्ट’ लिएर फर्किने तरखर गरिरहँदा कार्यालय सुरक्षामा खटिएका कार्यालय सहायक पासवानले पानी लिएर आउँछु भनेर कार्यालयको मुख्यद्वारतिर लागेर मूलढोकाको भित्रबाट चुकुल लगाइदिएको ती महिलाले बताइन् । बाहिर निस्कन खोज्दा ३२ वर्षीय पासवानले महिलालाई पछाडिबाट समातेर लछारपछार गर्दै बलात्कार प्रयास गरे । उनी रुँदै चिच्याउन थालेपछि बाहिर बसेका पालेले महिलालाई उद्धार गरे । ती महिला आत्तिएर रुँदै कोठा पुगिन् र आफ्ना छिमेकी, सहयोगी तथा आबद्ध संस्थाका पदाधिकारीलाई घटनाबारे सुनाइन् । महिला त्रासले अहिले त्यहाँबाट अन्तै सरेकी छन् ।

‘कर्मचारीले हाम्री सहकर्मीलाई यौन दुव्र्यवहार त गरे गरे, घटनाबारे छलफल गर्न जाँदा, न्याय माग्दा पनि दुव्र्यवहार गरे,’ उद्यम विकास तदर्थ समितिका अध्यक्षसमेत रहेका ‘गरिबी निवारणका लागि लघु उद्यम विकास’ कार्यक्रमका जिल्ला संयोजक दीपनारायण चौधरीले भने, ‘वडा–२ का वडाध्यक्ष मनोज यादव र अर्का कुशेश्वर साहले हाम्रो संस्थाका केन्द्रीय सदस्य मनोज साहलाई हेल्मेटले हिर्काए । जनप्रतिनिधिबाटै यस्तो व्यवहार र हर्कत भएपछि कसरी काम गर्ने ?’

प्रकाशित : मंसिर २३, २०७८ २२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?