पुस ४ गतेदेखि बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको 'मोडर्ना' खोप दिइने

बुनु थारु

काठमाडौँ — सरकारले पुस ४ गतेदेखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ ।

पुस ४ गतेदेखि बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको 'मोडर्ना' खोप दिइने

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले पुस ४ देखि १४ गतेसम्म ५७ जिल्लामा १२ देखि १७ उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने बताए । त्यसैगरी दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र सञ्चालन गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका प्रमुख विवेक लालले कान्तिपुरलाई भने–‘जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर कुन विद्यालयमा कति जना विद्यार्थीहरु छन् भनेर तथ्यांक संकलन गरिँदैछ । त्यहीअनुसार पायक पर्ने खोप केन्द्र राखिनेछ ।’

यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबैमा मोडर्ना खोप दिइने विभागले जनाएको छ । यसअघि फाइजर खोपहरु सञ्चालन गरेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की बागलुङ, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत र डडेलधुरा रहेका छन् ।

यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइसकेको छ । बिहीबारसम्म नेपालमा लक्षित जनसंख्याको ५४‍.४ प्रतिशतले एक मात्राको कोभिडविरुद्धको खोप लगाइसकेका छन् भने ४५.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ लाख ९८ हजार ८०० र १ लाख ८८ हजार ४०० गरी १६ लाख ८७ हजार २०० मात्रा माेर्डना खाेप आइसकेकाे छ ।

प्रकाशित : मंसिर २३, २०७८ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?