कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

एमबीबीएस पढ्न जुम्ला

एलपी देवकोटा

जुम्ला — कर्णाली प्रदेशको जुम्लामा यतिखेर बेग्लै चहलपहल छ । यहाँ देशका कुनाकाप्चाबाट तन्नेरी आउन थालेका छन्, डाक्टर बन्ने सपना बोकेर । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने भएपछि विद्यार्थी यहाँ आएका हुन् ।

एमबीबीएस पढ्न जुम्ला

सुगम ठाउँमा जन्मे–हुर्केकाहरू दुर्गम जुम्लामा आउन परे पनि पढ्न पाउँदा खुसी छन् । तिनैमध्येका हुन्– जनकपुरका आनन्द उपाध्याय । उनी जुम्लामा पढ्ने पहिलो ब्याचका विद्यार्थीका रूपमा भर्ना हुन पाउँदा अतिरिक्त खुसी छन् । ‘कर्णालीले पहिले बिरामी बाहिर पठाउँथ्यो, अब आफैं डाक्टर पढाउन थाल्यो,’ उनले भने, ‘यो निकै खुसीको कुरा हो । यहाँको भूगोल र वस्तुस्थिति बुझ्न पनि मैले जुम्ला रोजेको हुँ ।’

सबै ठाउँका मानिस सधैं पुग्न खोज्ने राजधानी काठमाडौंलाई छाडेर दूरदराजको जुम्ला आएकी प्रतीक्षा शर्मा पनि उस्तै खुसी र उत्साही छिन् । ‘पहिलो पटक कक्षा सञ्चालन हुन लागेकाले व्यवस्थापन राम्रो हुन्न कि भन्ने लागेको थियो,’ उनले भनिन्, ‘यहाँ त काठमाडौंको भन्दा राम्रो व्यवस्थापन रै’छ, जुम्लाको सुन्दरताले पनि मोहित बनायो ।’

प्रतिष्ठानका अनुसार एमबीबीएसमा १९ जना विद्यार्थी भर्ना भइसकेका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले एमबीबीएस पढाइको उद्घाटन गर्ने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले एमबीबीएस अध्ययनका लागि २० जनाको कोटा तोकेको छ । त्यस्तै बीफार्ममा ११, बीएमएसतर्फ ८, बीएनएसमा १६ र बीपीएसमा ८ जना विद्यार्थी भर्ना भएका छन् ।

स्नातक तहमा अध्ययन गर्न जुम्ला पुगेका विद्यार्थी उत्साहित भएको बेसिक साइन्सका प्रमुख प्राध्यापक दिनेश बाँस्तोलाले बताए । उनका अनुसार विद्यार्थीका लागि आवश्यक सम्पूर्ण आधारभूत व्यवस्थापन भइसकेको छ । प्रतिष्ठान स्थापनाको एक दशकपछि आफ्नो मुख्य उद्देश्य डाक्टरी पढाइमा अघि बढेको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए ।

‘गुणस्तरीय शिक्षाका लागि कुनै कमीकमजोरी हुन दिने छैनौं,’ उनले भने, ‘प्रतिष्ठान आफ्नो लक्ष्यअनुसार अघि बढिरहेको छ ।’ प्रतिष्ठानले यसअघि नर्सिङ महाविद्यालयअन्तर्गत स्टाफ नर्स, ब्याचलर अफ मिड वाइफ्री, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ, एनएसथेसिया असिस्टेन्टलगायत विषयको अध्यापन गराइरहेको थियो ।

प्रतिष्ठानले अहिले ३ सय शय्यामा उपचार सेवा प्रवाह गरिरहेको छ । ‘कर्णालीलगायत पिछडिएको क्षेत्रमा स्वास्थ्य शिक्षा, सेवा र अनुसन्धानको मुख्य लक्ष्य लिएर स्थापना भएको प्रतिष्ठानले कोरोना महामारीमा पनि आफूलाई अब्बल देखाइसकेको छ,’ प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले भने, ‘सुगम ठाउँबाट डाक्टरहरू स्नातकोत्तर तहको शिक्षा हासिल गर्न र डाक्टरी पढ्न जुम्ला आइरहेका छन् ।’ उनले स्नातकोत्तर तहका एमडीजीपी, एमडी पेडियाट्रिक्स र एमडी एनेस्थेसिया कार्यक्रम प्रतिष्ठानमा सञ्चालन भइरहेको जानकारी दिए ।

हिजोका दिनमा एक जना डाक्टर नपाउने कर्णालीले अहिले डाक्टरहरूलाई पनि विशेषज्ञ पढाइरहेको प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाले बताए । ‘कुनै बेला कर्णालीमा यति ठूलो अस्पताल आवश्यक छैन र बनाउनु हुँदैन भन्ने मानसिकता थियो,’ उनले भने, ‘अहिले अस्पतालमा देखिने बिरामीको घुइँचोले सबै कुरा छर्लंग पारिदिएको छ ।’

प्रकाशित : मंसिर २३, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?