माओवादी राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी राष्ट्रिय सम्मेलनमा १५ सय प्रतिनिधि

दाहाल प्रतिवेदन लेखनमा व्यस्त, समाजवाद निर्माणका लागि ‘नयाँ विचार र राजनीतिक कार्यदिशासहितको नयाँ क्रान्तिकारी पार्टी’ निर्माणमा जोड
बबिता शर्मा

काठमाडौँ — माओवादीको राष्ट्रिय सम्मेलनमा करिब १ हजार ५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । पुस ११–१३ सम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा प्रत्येक प्रदेशबाट ३० जनाका दरले प्रतिनिधि छनोट गर्ने र बाँकी १ हजार ५ सय संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने निर्णय माओवादीले गरेको छ ।

नयाँ नेतृत्वसहित राजनीतिक र वैचारिक विषय टुंगो लगाउने राष्ट्रिय सम्मेलनमा केन्द्रीय सदस्य स्वतः प्रतिनिधि हुनेछन् । त्यस्तै, प्रत्येक प्रदेशले कम्तीमा १ जना घाइते/अपांगहरूलाई राष्ट्रिय सम्मेलनको प्रतिनिधि अनिवार्य चयन गर्नुपर्ने निर्णय माओवादीले गरेको छ । केन्द्रीय कार्यालयबाट ५ प्रतिशत मनोनीतसहित केन्द्रीय विभागबाट ३/३ जना प्रतिनिधि हुनेछन् ।

‘भूगोलबाट निर्वाचित भएर ८ सय र केन्द्रीय पदाधिकारीबाट करिब ५ सय (केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारबाट सबै र केन्द्रीय विभागबाट ३/३) जना राष्ट्रिय सम्मेलनका प्रतिनिधि हुनेछन्, त्यसबाहेक केन्द्रीय कार्यालयले ५ प्रतिशत मनोनीत गरी बढीमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन्,’ स्थायी कमिटी सदस्य गणेश साहले कान्तिपुरसँग भने ।

सम्मेलनमा सहभागी हुने प्रतिनिधिलाई प्रतिव्यक्ति २ हजार प्रतिनिधि शुल्क तोकिएको छ । राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले खाने, बस्नेलगायत खर्चको व्यवस्थापन आफैं गर्नुपर्ने माओवादीले जनाएको छ । यसबाहेक केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने लेबी, सदस्यता नवीकरण शुल्क र राष्ट्रिय सम्मेलनका लागि निर्वाचित प्रतिनिधिको नामावली मंसिर २९ सम्म केन्द्रीय कार्यालयमा पठाउन सर्कुलरमार्फत दाहालले निर्देशन दिएका छन् । वडा र पालिका सम्मेलन गरिसकेको माओवादीले मंसिर २५ मा प्रदेश सम्मेलन गर्दै छ ।

राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने विधानको आवश्यक परिमार्जन गर्न माओवादीले देव गुरुङको संयोजकत्वमा जनार्दन शर्मा, लीलामणि पोखरेल, पम्फा भुसाल र मातृका यादव रहेको समिति गठन गरेको छ । यसबाहेक सम्मेलनमा समसामयिक प्रस्ताव तयार पार्न गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत र गणेश साह रहेको तीन सदस्यीय समिति गठन गरेको छ ।

सम्मेलनको व्यवस्थापनका लागि माओवादीले हितमान शाक्यको संयोजकत्वमा डिलाराम आचार्य, नारायण दाहाल, सत्या पहाडी, लेखनाथ न्यौपाने, श्रीराम ढकाल, रामप्रसाद सापकोटा, जगत सिंखडा रहेको व्यवस्थापन समिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति गठन गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने नियमित भेटघाट घटाएर राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेख्न व्यस्त छन् । स्वकीय सचिव रमेश मल्लका अनुसार उनी खुमलटारस्थित निवासमै बसेर प्रतिवेदन लेखिरहेका छन् । दाहालले आफ्नो प्रतिवेदनमा पार्टीले अंगीकार गरेको ‘एक्काइसौं शताब्दीको वैज्ञानिक समाजवाद’ को आर्थिक, राजनीतिक र सांस्कृतिक स्वरूपको विश्लेषण गर्ने माओवादी केन्द्रका नेताहरूले बताएका छन् । त्यसबाहेक प्रतिवेदनमा समाजवाद निर्माणका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी’ निर्माणमा जोड दिने नीति आउनेछ । निकट नेताहरूका अनुसार प्रतिवेदनमा नयाँ वैचारिक, राजनीतिक संश्लेषणमार्फत नेपाली क्रान्तिलाई नयाँ उचाइमा उठाउने अवसर र चुनौती दुवै रहेको निष्कर्षसहित त्यसको कार्यान्वयनका लागि चाहिने संगठनात्मक संरचनाको खाका पनि प्रस्तुत हुनेछ ।

‘नयाँ विचार र राजनीतिक कार्यदिशासहितको क्रान्तिकारी पार्टी निर्माण गर्ने ऐतिहासिक कार्यभार हाम्रो सामु विद्यमान छ,’ मंसिर १७ मा दाहालले जारी गरेको पार्टी परिपत्रमा छ । नेकपा विघटनलगत्तै दाहालले पुनर्निर्माणका लागि भन्दै पार्टीका संगठनात्मक गतिविधिलाई तीव्र पारेका थिए । उनले प्रतिवेदनमा माओवादी केन्द्र देशका सबै उत्पीडितको प्रतिनिधित्व गर्ने पार्टी रहेको दाबी गर्दै यसलाई समाजवाद निर्माणको मुख्य शक्तिका रूपमा विकास गर्ने प्रस्ताव गर्नेछन् । माओवादीलाई संगठनात्मक रूपले जनआधारित विशाल कार्यकर्ता पंक्तिसहितको शक्तिका रूपमा विकास गर्ने विषय पनि प्रस्तावमा आउने भएको छ । दाहालले प्रतिवेदनमा समेट्ने विषयबारे पार्टी नेताहरूसँगसमेत परामर्श गरेका छन् ।

‘पहिलो, प्रतिगमनको खतरा अझै कायम भएको हुँदा त्यसविरुद्ध पार्टीलाई मजबुद बनाउने र पक्षधरहरूबीच गठबन्धन वा मोर्चाको विषय आउँछ । दोस्रो, हामीले आगामी दिनमा समाजवादउन्मुख पूर्वाधारको कुरा गरेका छौं, त्यो बनाउनका लागि खाका पनि त्यही रूपमा आउँछ,’ माओवादी केन्द्रका स्थायी कमिटी सदस्य साहले भने, ‘तेस्रो, हाम्रो पार्टीमा राजनीतिक र सांगठनिक समन्वयको अभाव छ । त्यो जोड्नका लागि आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई सँगसँगै लैजाने गरी कार्यक्रमको आवश्यकता छ, यसबारेमा पनि केही आउला ।’ उनका अनुसार भू–राजनीतिको विषय पनि दाहालको प्रतिवेदनमा आउनेछ । ‘पहिला हामीले शीतयुद्ध, साम्राज्यवादको कुरा बढी गर्थ्यौं, अहिले खास गरेर दुई छिमेकी देशसँगको सम्बन्धबारे केही कुरा आउँछ कि भन्ने छ,’ उनले भने ।

यसबाहेक कम्युनिस्ट पार्टीको राजनीतिक विरासत दक्षिणपन्थी सोचको नेतृत्वले बोक्न नसक्ने भएकाले माओवादीलाई आफ्नै शक्तिका रूपमा उभिएको बलियो पार्टी बनाउनुपर्नेमा दाहालले जोड दिने भएका छन् । नेताहरूका अनुसार दाहालले प्रतिवेदनमा पहिला माओवादी केन्द्रलाई क्रन्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिहरूसँग सहकार्य र ध्रुवीकरण गर्दै नेकपाको विरासत र स्वामित्व लिने योजना पनि अगाडि सार्ने भएका छन् । विभाजित सबै कम्युनिस्टलाई एकताबद्ध गर्दै फेरि क्रान्तिकारी कम्युनिस्टहरूको एउटै केन्द्र निर्माण गर्ने जिम्मेवारी माओवादीले लिने विषय पनि दाहालको प्रतिवेदनमा आउने भएको छ ।

लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायित्व र सुशासनलाई पनि दाहालले जोड दिने भएका छन् । उनले समाजवादी क्रान्तिका लागि सामन्तवादका अवशेषविरुद्ध संघर्ष, आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्दै दलाल नोकरशाही पुँजीवाद र वैदेशिक हस्तक्षेपविरुद्ध संघर्षलाई पार्टी नीति बनाउने प्रस्ताव प्रतिवेदनमा राख्ने नेताहरूको भनाइ छ । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र समाजवाद उन्मुख अर्थराजनीतिक कार्यक्रम बनाएर लागू गर्ने नीति लिनुपर्ने कुरा पनि प्रतिवेदनमा आउने भएको छ ।

प्रकाशित : मंसिर २१, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसमा प्यानल बनाउनै सकस

पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न देउवालाई कठिन छ भने उनको प्रतिस्पर्धी समूहले आफ्नो नेता छान्न सकेको छैन, जबकि महाधिवेशन उद्घाटन गर्न अब चार दिन मात्र बाँकी छ 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेसको महाधिवेशन सुरु हुन चार दिन मात्रै बाँकी रहँदा पनि संस्थापन र इतरपक्षले उम्मेदवारीका लागि आ–आफ्नो समूह बनाउन सकेका छैनन् । संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क–कसलाई समेट्ने टुंगो लागेको छैन । संस्थापनइतरबाट सभापतिकै उम्मेदवार को बन्ने भन्ने निर्क्योल भएको छैन ।

समूह बनाउन सोमबारदेखि निर्णायक गृहकार्य थालेका सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण बनाउन खोजेका छन् । प्रदेश १ र झापा जिल्ला अधिवेशनमा देउवा–सिटौला गठबन्धन सफल बनेको छ । ६ वटा प्रदेशमा भएको अधिवेशनमा देउवा–सिटौलाका चार र रामचन्द्र पौडेल पक्षका दुई सभापति छानिएका छन् ।

महाधिवेशनमा बाँकी समूह एक भए आफूमाथि जोखिम बढ्ने बुझाइमा देउवाले सिटौलासँग महाधिवेशनमा पनि सहकार्य गर्न चाहेका हुन् । देउवाले उपसभापति विमलेन्द्र निधि अलग्गिएपछि क्षतिपूर्तिका लागि सिटौलालाई आफ्नो टिमबाट उपसभापतिमा अघि सार्न चाहेका छन् । विभिन्न पदाधिकारीमा आफ्नै विश्वासपात्रलाई अलग्याएर सिटौला समूहलाई अटाउन देउवाका लागि सहज भने छैन । मधेसको भावना र टिमका आकांक्षीको व्यवस्थापन गरेर अघि बढ्न उनलाई चुनौती नै रहेको नेता रमेश लेखक बताउँछन् । ‘अर्को पक्षलाई टाउको मिलाउनै समस्या छ, संस्थापन पक्षलाई अंग मिलाउन समस्या हो,’ उनले भने ।

देउवा पक्षमै रहेका उपसभापति विजय गच्छदारले त्यही पदमा दोहोरिन चाहेका छन् । महामन्त्री पूर्णबहादुर खड्काको दाबी उपसभापतिमा छ । सिटौला उपसभापतिमा उठ्न तयार भए देउवाले गच्छदार र खड्कामध्ये एक जनालाई रोज्नुपर्नेछ । त्यस्तो अवस्थामा भ्रष्टाचारको मुद्दा खेपिरहेका गच्छदारलाई बाहिर राख्न देउवाले मनाउन सक्ने संस्थापनपक्षीय अर्का एक नेताले बताए ।

सिटौला उपसभापतिमा नउठे उनले महामन्त्रीमा प्रदीप पौडेललाई अघि सार्ने सम्भावना छ । त्यसो त सिटौलालाई छाडेमा पौडेललाई सहमहामन्त्री दिने मनस्थितिमा संस्थापनइतरको मनस्थिति छ । अहिले महामन्त्रीकै तयारी गरिरहेका पौडेल भने सिटौलाको निर्णय नआउँदासम्म स्पष्ट नबोल्ने पक्षमा छन् ।

महामन्त्रीका लागि देउवा पक्षबाट गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टीका सहमहामन्त्री प्रकाशरण महत, केन्द्रीय सदस्यहरू एनपी साउद र रमेश लेखकले दाबी गर्दै आएका छन् । महामन्त्री घोषणा गरेर अघि बढेका प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि देउवाले आफ्नै टिममा ल्याउन खोजेका छन् । साउद र शर्माले महामन्त्रीभन्दा तलको पदमा प्रतिस्पर्धा नगर्ने बताउँदै आएका छन् । ‘युवा अनुहार देखाउनका लागि पनि विश्वप्रकाश माने उनलाई सहमहामन्त्री दिएर आफ्नो टिममा राख्न सभापतिजीले खोजिरहनु भएको छ,’ देउवानिकट स्रोतले भन्यो, ‘त्यतिबेला एनपी र रमेशले के गर्छन् भन्न सकिँदैन ।’

सिटौला पक्षका नेता प्रदीप पौडेल अहिल्यै कता जोडिने भन्ने तय भइनसकेको बताउँछन् । संस्थापनबाहेक समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन् । प्रदेश अधिवेशनको परिणामपछि साझा उम्मेदवार तय गर्न उनीहरूमा दबाब बढेको छ । साझा उम्मेदवारीका विषयमा पौडेल निवास बोहोराटारमा सोमबार साँझ बसेको उनीहरूको छलफल निष्कर्षमा पुग्न सकेन ।

संस्थापनइतर समूहका नेता तथा कार्यकर्ताले भने साझा उम्मेदवार छिटो टुंगो लगाउन नेतृत्वलाई निरन्तर दबाब दिइरहेका छन् । युवा नेताले सोमबार पनि संयुक्त र छुट्टाछुट्टै भेटेर उनीहरूलाई दबाब दिएका थिए । महामन्त्री कोइरालाले साझा उम्मेदवार बन्ने अवस्था बने आफू पछि हट्ने संकेत दिएका छन् । पौडेल, सिंह र शेखर भने एकले अर्कालाई छाड्ने ठाउँमा आइनपुगेको नेताहरूको भनाइ छ ।

पौडेल पक्षमा भने सभापतिको उम्मेदवार नै तय नहुँदा पदाधिकारीमा प्रतिस्पर्धा गर्न खोजिरहेका नेता अन्योलमा छन् । सभापतिमा को र कति जना उम्मेदवार हुने भन्नेले पदाधिकारीमा उम्मेदवारी निर्धारण गर्ने नेता बलबहादुर केसीले बताए । उपसभापतिमा उनीसहित अर्जुननरसिंह केसी, रामशरण महत, महेश आचार्य, चन्द्र भण्डारीको दाबी छ । महामन्त्रीमा गगन थापा निर्विकल्प जस्तै छन् भने मीनेन्द्र रिजाल र धनराज गुरुङ आकांक्षी छन् ।

नेता केसीले मंगलबार पनि आकांक्षीहरूलाई मिल्न दबाब दिने बताए । ‘एक हुन सकेनौं भने सबै स्वाहा हुने हो, त्यति त बुझेका होलान्, सबै अटाउने र एक हुने ठाउँमा पुर्‍याउन खोजिरहेका छौं,’ उनले भने, ‘कांग्रेस बचाउने र हामी पनि बच्ने हो भने जे–जे गरेर मिलाउन सकिन्छ, त्यो गरेर मिलाउनैपर्छ भन्नेमा छौं ।’

समावेशी कोटाअनुसार कांग्रेसले ८ जना सहमहामन्त्री छान्दै छ, जसमा युवा नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । देउवाले खस–आर्य कोटाबाट सहमहामन्त्रीमा प्रवक्ता शर्मादेखि साउद र लेखकलाई समेट्न खोजेका छन् । देउवाले दलित कोटाबाट मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मामध्ये एक जनालाई सहमहामन्त्रीमा अघि सार्न खोजेका छन् । उनले मधेसी कोटाबाट महेन्द्र यादव, आदिवासी जनजातिबाट भीष्मराज आङ्देम्बे, महिलाबाट डिना उपाध्याय, थारूबाट सिटौलानिकट उमाकान्त चौधरी वा आफूनिकट रामजनम चौधरी, मुस्लिमबाट फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई सहमहामन्त्रीमा उतार्न खोजेका छन् ।

आङ्देम्बेले सोमबार नै सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सोही पदमा महिला नेत्री सीता गुरुङले पनि दाबी गरेकी छन् । आदिवासी जनजाति विभाग प्रमुख र यसअघि विभिन्न क्षेत्रमा रहेर काम गरेको अनुभवका आधारमा आफू महिलामा नभएर आदिवासी जनजाति कोटाबाट सहमहामन्त्रीमा प्रतिस्पर्धा गर्न खोजेको उनको भनाइ छ । ‘पदाधिकारीमा पनि ३३ प्रतिशत महिला चाहिन्छ भन्ने मुद्दा बोकेका कारण पनि सहमहामन्त्रीमा मेरो दाबी छ,’ उनले भनिन् । संस्थापन पक्षबाट महिला सहमहामन्त्रीमा डिला संग्रौलाले उम्मेदवारी घोषणा गरिसकेकी छन् ।

महामन्त्रीमा दाबी गरेका नेता धनराज गुरुङलाई पौडेल समूहले आदिवासीतिरको सहमहामन्त्रीमा राख्न चाहेको छ । पिछडिएको क्षेत्रमा यो समूहमा निर्विकल्प जस्तै रहेका बद्री पाण्डेले केही दिनअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । महिलाबाट कमला पन्त र सरिता प्रसाईंमध्ये एक जना र दलितबाट जीवन परियारलाई सहमहामन्त्रीको उम्मेदवार बनाउने पौडेल पक्षको तयारी छ । मुस्लिम कोटाको सहमहामन्त्रीका लागि भने पौडेल पक्षमा उम्मेदवार नै देखिएको छैन । देउवा पक्षबाट चुनाव जितेका रूपन्देहीका जिल्ला सभापति अब्दुल रजाकलाई आफ्नो पक्षमा ल्याएर सहमहामन्त्रीको उम्मेदवार बनाउने रणनीतिमा पौडेलपक्षीय नेताहरू लागिरहेका छन् । मधेसी कोटाबाट रामकृष्ण यादव र थारू कोटाबाट टीएल चौधरी चर्चामा छन् ।

प्रकाशित : मंसिर २१, २०७८ ०७:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×