१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ढोरपाटनका घरकुरुवाहरू

‘जाडो छल्न सक्ने भनेर गाउँलेले पत्याए, ५० वटाका दरले घर हेर्छौं’ 
प्रकाश बराल

बागलुङ — हिमपातको याम सुरु हुँदै गर्दा ढोरपाटनको नवी गाउँ सुनसान छ । दुई सय परिवारको बसोबास रहेको यहाँका बासिन्दा औल झरेपछि मंसिर ३ देखि गाउँ खाली भएको हो । अहिले सिंगो गाउँमा ४ जनामात्र बसेका छन् । गाउँ रेखदेख गर्न कुरुवा बसेका उनीहरू भने यो वर्ष औल झर्न पाउँदैनन् ।

ढोरपाटनका घरकुरुवाहरू

ढोरपाटन–९ नवी गाउँका ५१ वर्षीय डिलबहादुर सुनार र उनकी ५० वर्षीया श्रीमती तिलमती गाउँका कुरुवा हुन् । एक दशकदेखि सुनार दम्पती यहाँका कुरुवा बस्दै आएका छन् । उनीहरूको बेंसीमा घरखेत नभएकाले हिउँमा गाउँ कुरुवा बनेरै बसिरहेको उनले बताए । सुनार दम्पतीसँगै अम्बरु र असारे विक पनि गाउँ कुर्न बसेका छन् । विक दम्पती भने यो वर्षमात्रै कुरुवा बसेका हुन् । सुनार दम्पतीबाहेकका अरू कुरुवा बर्सेनि फेरिन्छन् ।

समुद्र सतहबाट २ हजार ९ सयदेखि ३ हजार मिटर उचाइको ढोरपाटनका बस्तीमा अहिले हिउँ पर्न थालिसकेको छ । हिउँ चैतसम्मै रहन्छ । निकै चिसो हुने भएकाले गाउँले बालबच्चा च्यापेर बेंसी झर्ने गरेका हुन् । उनीहरू पशु चौपाया पनि सँगै लगेका छन् । ‘हामी चार जनाका छोराछोरी पनि छैनन्, केही काम गर्न सक्ने र जाडो छल्न सक्ने छौं भनेर गाउँलेले पत्याए,’ सुनारले भने, ‘बिहान उठेपछि चार जनाले ५० वटाको दरले घर हेर्छौं ।’ सबै घरको तालाचाबी हेरविचार गर्ने र घरको बाहिरी भाग सरसफाइ गरिदिने काममा खटिने गरेको उनले बताए ।

घरकुरुवा बसेकाहरूले भेडा र गाईगोरु पनि पालेका छन् । त्यसका लागि पराल, कोदोको नल तथा आफ्नो लागि चार/पाँच महिना पुग्ने अन्न जोहो गरेर राखेका छन् । घोडा, गाईबस्तु र भेडा चराउने चलन पनि छ । तर हिउँ परेपछि चराउन सकिँदैन । यो समयमा हिउँचितुवा र बँदेलको बढी डर हुन्छ । त्यसैले उनीहरू चनाखो भएर बस्छन् । गाउँ कुरुवा भएबापत उनीहरूले वर्षको ५० हजार रुपैयाँ नगद र केही अन्न पाउँछन् ।

स्यालपाखे गाउँमा कुरुवा बसेका शेरबहादुर विक । तस्बिर : प्रकाश बराल/कान्तिपुर

ढोरपाटन सिकार आरक्ष क्षेत्र भएकाले चितुवा र बँदेलको आक्रमणबाट पशुधन र मानवीय क्षति भए आरक्षले पनि क्षतिपूर्ति भराउँछ । तर आफ्नो पशुधनको क्षतिपूर्ति पाए पनि मानवीय क्षतिसमेत हुने डरले बढी सतर्क भएर बस्ने उनले बताए । आरक्ष कार्यालयका सहायक वार्डेन सूर्य खड्काले बर्सेनि ५ सयदेखि ६ सयसम्म पशुधन क्षति हुने गरेको तथ्यांक सुनाए । ‘पशुधनको क्षति भएकालाई हामीले राहत बाँडेका छौं, कतिपय मानिस घाइतेसमेत हुँदा उपचार गराउनुपर्छ,’ खड्काले भने, ‘गत आर्थिक वर्ष १९ लाख रुपैयाँ खर्चेर क्षतिपूर्ति र उपचार गराएका छौं ।’

घर कुरुवा बस्दाबस्दै पनि गत वर्ष नवी गाउँमा आगलागी भयो । ३० घर नष्ट भए । ‘हामीले तत्काल सेनालाई खबर गरेपछि आगो निभाउन सकियो,’ असारे विकले भने । उक्त क्षतिपछि ढोरपाटन नगरपालिकाले २ करोड खर्च गरेर बस्ती पुनर्निर्माण गरेको छ । यहाँका सबै बस्तीमा जस्तापाता पुर्‍याउने लक्ष्य राखिएको नगर प्रमुख देवकुमार नेपालीले बताए । ‘अधिकांश घर काठका छाना भएका छन्, आगो लागेपछि निभाउनै नसकिने रहेछ,’ नेपालीले भने, ‘सबै घरमा जस्तापाता पुर्‍याउने लक्ष्य राखेर केही काम अगाडि बढिसकेको छ ।’

बस्ती औल झरेपछि नवीकै ढोरपाटन जनवादी आधारभूत विद्यालय बन्द भएको छ । सबै बालबालिका वडा ८ को सेरावाङ झरिसकेका छन् । यो विद्यालयको अर्को भवन सेरावाङमा पनि छ । अभिभावक बेंसी झरेर खेतीपातीमा लागेका छन् भने विद्यार्थी पनि पढ्न थालिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रमणि विकले बताए । ‘माथि जाडो छ, बेसी झरेर पढाइ सुरु भएको छ,’ उनले भने, ‘चैतपछि अभिभावकसँगै बालबालिका ढोर जान्छन् ।’ अभिभावकले पशुचरन गर्दै ढोरपाटन र बुकी जाँदा बालबालिका नवीमा बसेर पढ्छन् ।

५३ घर रहेको यहाँको स्यालपाखे गाउँमा स्थानीय तेजबहादुर विक र शेरबहादुर विक यसपालि कुरुवा बसेका छन् । उनीहरूलाई एक घरले वार्षिक १ हजार २ सयका दरले कुरुवा खर्च भराउँछन् । मकै, जौ र केही अन्य घरायसी अन्न दिने गरेका छन् । तेजबहादुरले भने, ‘आफ्नो गुजारा चलाउन छिमेकीको घर पनि कुर्ने गरेको हुँ ।’ छेन्तुङ, नौथरलगायत बस्तीमा पनि घर कुरुवा छन् ।

प्रकाशित : मंसिर २१, २०७८ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?