राष्ट्रिय सभाबाहेक अन्य निर्वाचनमा एकजुट हुने बारे सहमति भएको छैन : नेपाल

'कांग्रेसको महाधिवेशन चलिरहेकाले न्यायालयभित्रको समस्या समाधानका लागि प्रधानमन्त्री देउवालाई दबाब दिन सकिएन'
देवनारायण साह

मोरङ — एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धन एकजुट भएर जाने लिखित सहमति भएको बताएका छन् । उनले अन्य निर्वाचनको घोषणा नभएकाले त्यसको बारेमा सहमति नभएको बताए । 

राष्ट्रिय सभाबाहेक अन्य निर्वाचनमा एकजुट हुने बारे सहमति भएको छैन : नेपाल

विराटनगरमा सोमबार पत्रकारसँगको कुराकानीमा अध्यक्ष नेपालले भने,'राष्ट्रिय सभा र उपनिर्वाचनमा एकजुट भएर जाने लिखित सहमति भइसकेको छ । अन्य निर्वाचनको घोषणा नभएकाले त्यसको बारेमा सहमति गर्नुको औचित्य छैन ।' सोमबार नै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म जाने र त्यसपछि के गर्ने भन्ने बारे छलफल नभएको बताएका थिए ।

उनले कांग्रेस महाधिवेशनलगत्तै निर्वाचन मिति घोषणा हुने बताए । उपनिर्वाचन नगरी तीनवटै तहका निर्वाचन एकैपटक गर्ने विषय पनि गठबन्धनभित्र छलफल भइरहेको अध्यक्ष नेपालले जानकारी दिए ।

अध्यक्ष नेपालले संवैधानिक परिषद्‌को अध्यक्ष प्रधानमन्त्री देउवालाई न्यायालयभित्रको समस्या समाधानका लागि ध्यानाकर्षण गराएको पनि बताए । प्रधानन्यायाधीशलाई चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउने कुरा सत्तारुढ गठबन्धन दलमा नभएको पनि उनले बताए ।

कांग्रेसको महाधिवेशन चलिरहेकाले यसबीचमा प्रधानमन्त्री देउवालाई न्यायालयभित्रको समस्या समाधानका लागि दबाब दिन नसकेको उनले बताए ।

प्रकाशित : मंसिर २०, २०७८ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?