कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गैंडा गणनाका घाइते श्रेष्ठको सुझाव : ‘सुरक्षित भएर बाघ गन्नुहोला’

जंगली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका विनोद श्रेष्ठको दायाँ हातका औंला ६ महिनाको थेरापीपछि बल्ल अलि–अलि चल्न थालेका छन् 
अब्दुल्लाह मियाँ

काठमाडौँ — गैंडा गणनाका क्रममा २०७७ चैतमा घाइते भएका संरक्षणकर्मी विनोद श्रेष्ठ साँगास्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा उपचाररत छन् । उनीजस्तै सय जनाभन्दा बढी प्राविधिक आइतबारदेखि चितवन निकुञ्जमा ‘राष्ट्रिय बाघ सर्वेक्षण’ मा खटिएका छन् । बाघ गणनामा खटिने प्राविधिकलाई श्रेष्ठको सुझाव छ– ‘बाघ गणना पनि सहज छैन, त्यसैले सुरक्षित भएर काम गर्नुहोला ।’ 

गैंडा गणनाका घाइते श्रेष्ठको सुझाव : ‘सुरक्षित भएर बाघ गन्नुहोला’

गत चैत २० मा चितवन निकुञ्जको पश्चिम क्षेत्रमा गैंडा गणना भइरहँदा ध्रुवे हात्तीसँग जम्काभेट भएपछि जोगिन भाग्ने क्रममा गणनामा प्रयोग भएको हात्तीबाट लडेर श्रेष्ठ सख्त घाइते भएका थिए । त्यसक्रममा माउतेसहित अन्य केही प्राविधिक सामान्य घाइते भएका थिए । उनलाई तत्कालै हेलिकोप्टरबाट धुम्बाराहीस्थित ह्याम्स अस्पताल ल्याएर उपचार सुरु गरिएको थियो । उनको हात, खुट्टा, कम्मर र गर्धनमा गम्भीर चोट थियो । स्वास्थ्य परीक्षणमा उनको मेरुदण्डमा गहिरो चोट लागेको खुलेको थियो । लगत्तै मेरुदण्डको शल्यक्रिया गरियो । अहिले उनी मानसिक रूपमा तन्दुरुस्त भए पनि शारीरिक अवस्था कमजोर छ ।

कम्मरभन्दा तलको भाग चल्दैन । सुरुका केही महिना हातखुट्टा पूरै चल्दैनथे । जेठ २२ पछि केन्द्रमा थेरापी सुरु गरियो । करिब ६ महिनाको नियमित थेरापीपछि केही दिनयता उनको स्वास्थ्यमा सुधारको संकेत देखिएका छन् । दायाँ हातका औंला केही मात्रामा चल्न थालेको श्रेष्ठ बताउँछन् । ‘हात र खुट्टाको थेरापी भइरहेको छ,’ श्रेष्ठले टेलिफोनमा भने, ‘चिकित्सकले केही सुधार हुन्छ भन्नुभएको छ ।’ उनलाई पत्नी सृष्टि श्रेष्ठले सघाइरहेकी छन् । सृष्टिका अनुसार उनको दिनमा दुईपटक आधा–आधा घण्टा थेरापी हुन्छ ।

धादिङको ज्वालामुखी गाउँपालिका–१ स्थायी घर भएका श्रेष्ठ सन् २०१४ देखि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) मा कार्यरत छन् । सौराहास्थित एनटीएनसीको जैविक विविधता संरक्षण केन्द्र आउनुअघि उनले बाँके र बर्दिया निकुञ्जमा रहेको एनटीएनसीको कार्यालयमा पनि काम गरेका थिए । श्रेष्ठ सन् २०१८ को बाघ गणनामा पनि सहभागी भएका थिए । ‘वन्यजन्तुको गणना गर्ने काम यसै पनि रिस्की हुन्छ, जंगली जनावरले कुनै पनि बेला आक्रमण गर्न सक्ने सम्भावना हुने भएकाले एकदमै सचेत हुनुपर्ने हुन्छ,’ उनले भने, ‘सुरक्षा व्यवस्था चुस्त बनाइयो र हात्तीको प्रयोग गरियो भने सम्भावित घटनाबाट जोगिन सहयोग पुग्छ ।’

गत चैतमा गैंडा गणनाका बेला पनि प्राविधिकसहित हात्तीमा केही सेना खटिएका थिए तर त्यो संख्या पर्याप्त थिएन । गणनाका लागि ३०–३५ वटा हात्तीमा प्राविधिक हुन्थे, सेना भने २ वटा हात्तीमा मात्र थिए । त्यो घटनापछि आइतबार सुरु भएको बाघ गणनामा भने सरकारले गणकको सुरक्षामा उच्च सतर्कता अपनाएको छ ।

बाघ गणकको सुरक्षामा उच्च सतर्कता

३५ वर्षीय श्रेष्ठले उपचाररत केन्द्रकै कोठाबाट सहकर्मी प्राविधिकप्रति शुभेच्छा प्रकट गरे– ‘बाघ गणनामा खटिएका प्राविधिक साथीहरूले कुनै अप्रिय घटनाको सामना गर्नु नपरोस्, मलाई विश्वास छ, सरकारले सबै पक्षको ख्याल गरेको छ ।’ चैतको घटनापछि सरकारले बाघ गणनामा खटिएका सबै प्राविधिकको बिमा गरेको छ । ‘गणकको सुरक्षामा विशेष ध्यान दिएका छौं,’ चितवन निकुञ्जमा रहेका निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेलले भने, ‘हरेक गणक टोलीमा सेना परिचालन गरिएको छ ।’

गणनाका लागि अस्थायी क्याम्प बनाउँदा पनि सुरक्षित स्थान रोजिएको उनले बताए । ‘कुनै अप्रिय घटना नहोस् भन्नेमा हामी सचेत छौं,’ कँडेलले भने, ‘शुक्लाफाँटासम्मै सुरक्षा व्यवस्था चुस्त बनाएका छौं ।’

एनटीएनसीका सदस्यसचिव शरद अधिकारीका अनुसार श्रेष्ठको उपचारमा अहिलेसम्म करिब ६० देखि ६५ लाख रुपैयाँ खर्च भएको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले उनको उपचार सरकारले बेहोर्ने प्रतिबद्धता जनाएकाले उक्त रकम निकासाका लागि सरकारसँग आग्रह गरिएको अधिकारीले बताए ।

अधिकारीले स्पाइनल केन्द्रमा पनि संरक्षणकर्मी श्रेष्ठको उपचारका लागि ९ लाख रुपैयाँ बुझाइसकिएको दाबी गरे । केन्द्रमा औषधिबाहेक बेड खर्चमात्र एक दिनको ४ हजार रुपैयाँ छ । एनटीएनसीले औषधि र बेडको शुल्क बेहोर्दै आएको छ । तर, श्रेष्ठकी पत्नी सृष्टिले त्यसबाहेक पनि खानपिनलगायतमा धेरै खर्च हुने गरेको र त्यो एनटीएनसीले नबेहोरेको दुखेसो पोखिन् । सदस्यसचिव अधिकारीले भने श्रेष्ठले संरक्षणमा पुर्‍याएको योगदानको कदर गर्दै तलबलगायत सुविधा उपलब्ध गराइएको दाबी गरे ।

प्रकाशित : मंसिर २०, २०७८ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?