मनाङमा भौगर्भिक अध्ययन सुरु

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा बाढीपहिरोको ५ महिनापछि कारणबारे भौगर्भिक अध्ययन सुरु भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले विज्ञ टोली मनाङ र लमजुङको बाढीपहिरोको विस्तृत अध्ययन गर्न खटाएको हो ।

मनाङमा भौगर्भिक अध्ययन सुरु

बेंसीसहर–मनाङ खण्डको पहिरोलाई नियन्त्रण गरी सडकलाई नियमित गर्ने प्रयोजनका लागि डुम्रे–बेंसीसहर–चामे सडक योजनाले विज्ञ कन्सल्टेन्ट टोली खटाएको छ । टोलीले बाढीपहिरो गएको ठाउँको भौगोलिक तथा भौगर्भिक अध्ययन गरीे पहिरो जानुको वास्तविक कारण पत्ता लगाएर पहिरोको थप जोखिम नियन्त्रण गर्न अपनाउनुपर्ने विधिबारे प्रतिवेदन तयार पार्नेछ ।

न्यु डाइनमेन्सन इन्जिनियरिङ सर्भिस प्रालिका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सञ्जीव पाण्डेका अनुसार विज्ञ टोलीले पहिलो चरणमा प्रारम्भिक अध्ययन गरेको छ । भूगर्भविद् र इन्जिनियरहरू दण्डपाणि अधिकारी, सुमन पन्थी, मधुवनलाल मास्के, विनोदचन्द्र यादव, सञ्जय अधिकारीलगायतको टोलीले बेंसीसहर–मनाङ खण्डमा गएको पहिरोबारे अध्ययन गरेको हो । ‘अब माटो परीक्षणलगायत विस्तृत भौगोलिक परीक्षणको टोली आवश्यक उपकरणसहित फिल्डमा खटिनुहुनेछ,’ उनले भने । उनका अनुसार लमजुङको उदीपुर, मनाङको सिरानताल, कोतो, बगरछापलगागतको पहिरोको अध्ययन गरिएको छ ।

डुम्रे–बेंसीसहर–चामे सडक योजनाका कार्यालय प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार सडकको इन्जिनियर समूहले अध्ययन गरेर रिपोर्ट पठाएको छ । यसअघि नेपाली सेनाका जर्नेल इन्दिबर गुरुङसहितको प्राविधिक टोलीले पनि मनाङको बाढीपहिरोको अध्ययन गरेको थियो । ‘अहिलेको विज्ञ समूहले अध्ययन गरेर विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्ने हो । त्यसपछि सरकारलाई बुझाउँछ,’ उनले भने, ‘बजेट आवश्यकताअनुसार विनियोजन भएपछि समस्या समाधानको दीर्घकालीन उपाय अपनाएर अघि बढ्नेछ ।’

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र्रप्रसाद आचार्यका अनुसार भौगोलिक अवस्था कमजोर भएको ठाउँमा दीर्घकालीन समस्या समाधानका लागि अध्ययन अनुसन्धान थालिएको छ । ‘अहिले बनाएर अर्को वर्ष बग्ने, अर्को वर्ष बनाएर झन् अर्को वर्ष बग्ने संरचना काम छैन । अब समस्या समाधानको दीर्घकालीन उपाय अपनाउनुपर्छ,’ उनले भने । मनाङको नासों–१ तालबजारमा बाढीले डुबानमा पारेको घरहरू अझै उठेको छैनन् । धारापानीमा सडकमुनिका घर, सरकारी कार्यालय बगाएको छ । कोतो, बगरछापलगायत ठाउँमा पहिरो मर्स्याङ्दीमै मिसिएको छ ।

मनाङको बगरछापमा २०५३ सालतिर पहिरो गएपछि बस्तीलाई दानाक्युमा सारिएको स्थानीय बताउँछन् । अहिले धारापानी र तालको अवस्था उस्तै रहेको नासों गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताए । ‘सडक खुल्यो । बर्सेनि बजेट आउँछ । टालटुलमात्रै हुने गर्छ,’ उनले भने, ‘अब विस्तृत अध्ययन भएपछि समस्याको समाधान हुन्छ भनेर विश्वासमा छौं ।’

उनका अनुसार मर्स्याङ्दीमा बाढी आएर पहिरो चलाएपछि नासों गाउँपालिकाका अधिकांश बस्ती जोखिममा छन् । ‘भोलि पर्सि भनेर हुँदैन । यी बस्तीहरू आजै जोगाउनुपर्ने अवाश्यकता छ,’ उनले भने । उनले बर्खायाममा मात्रै नभएर अन्य समय सुक्खा पहिरो खस्ने गरेको समेत बताए ।

प्रकाशित : मंसिर २०, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?