नेपाल एयरलाइन्सले दुबइका लागि थप्यो उडान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल एयरलाइन्सले दुबइका लागि थप्यो उडान

रासस

काठमाडौँ — राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दुबइ गन्तव्यमा उडान विस्तार गरेको छ । एयरलाइन्सले दुबइमा सातामा सातवटा उडान गर्दै आएकोमा आइतबारदेखि थप दुई उडान थपेर सातामा ९ उडान भर्ने भएको हो ।

फाइल तस्बिर

दुबइ गन्तव्यमा थपिएको उडानमा सवार यात्रुलाई शुभकामना र निगम परिवारलाई हौसला प्रदान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीको पनि सो अवसरमा सहभागिता थियो । यस अवसरमा पर्यटनमन्त्री आलेले निगमका जहाजलाई बढीभन्दा बढी गन्तव्य विस्तार गरी उडान थपेर सेवा दिन निगम नेतृत्वलाई निर्देशन दिए । उनले निगमका जहाज ग्राउण्डेड भन्दा आकासमा उडिरहने वातावरण बनाउन र गन्तव्यमा उडान थप्नेतर्फ जुट्न निगम व्यवस्थापनलाई अनुरोध गरे ।

निगमका कार्यकारी अध्यक्ष अधिकारीले पर्यटनमन्त्रीले निगम सुधारका लागि देखाएको तदारुकताले निगमका कर्मचारीमा हौसला र नयाँ ऊर्जा पैदा भएको र यसलाई परिणाममुखी बनाउन लागिपर्ने बताए ।

दुबइमा वैदेशिक रोजगारी तथा व्यवसायलगायत विभिन्न क्रममा रहेका नेपालीको बाहुल्यता छ । यो गन्तव्यमा नेपाल एयरलाइन्सले यसअघि सातामा सात उडान गर्दै आएको थियो । थपिएको उडान साताको आइतबार र बुधबार गरिनेछ । यस दिन दैनिक दुई उडान हुनेछ । काठमाडौंबाट बिहान ११ बजे उडेको जहाज दुबइमा उडान भरेर साँझ काठमाडौं नै फर्किने छ । व्यापारिक हिसावले पनि निगमका लागि दुबइ उपयोगी गन्तव्य मानिन्छ ।

एयरलाइन्सले भारतको नयाँ दिल्लीमा सात उडान गर्दै आएकोमा अब थप सात उडान थपेर दैनिक दुई उडानका दरले सातामा १४ उडान भर्ने तयारी गरेको छ । एयरलाइन्सले हाल दोहामा पाँच उडान गरिरहेको छ ।

नेपाल एयरलाइन्सले नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम तयारीमा जुटेको छ । निगमकाअनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा सातामा दुई उडान गर्ने गरी तयारी भइरहेको छ ।

महिना दिनभित्रै उडान सञ्चालन गरिने जनाइएको छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका ९ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दैआएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाईड बडी ए ३३० जहाज छन् ।

प्रकाशित : मंसिर १९, २०७८ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्

३३ किलो सुनकाण्डका फरार अभियुक्त पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रहरीले ३३ किलो सुनकाण्डका फरार अभियुक्त कृष्णगोपाल अग्रवाललाई पक्राउ गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी गरिएका अग्रवाललाई पक्राउ गरिएको जानकारी दिएको हो ।

'सन्जिव शाक्यको जाहेरीले गोरे भन्ने चुडामणि उप्रेतीसमेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरू मध्येका अग्रवाल दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा तत्काल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो,' प्रहरीले भनेको छ ।

अग्रवालविरुद्ध जिल्ला अदालत मोरङबाटसमेत वारेन्ट जारी भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङको पहलमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट अग्रवालविरुद्ध रेड नोटिस जारी भएको थियो ।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट उक्त अभियोगमा कारबाही गर्ने गराउने प्रयोजनका लागि महानगरीय प्रहरी वृत्त गौशाला, काठमाडौंमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : मंसिर १९, २०७८ १९:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×