लिङ्देन नबोल्दै थापा निकट प्रमाणपत्र लिएर मञ्चबाट हिँडे- समाचार - कान्तिपुर समाचार
राप्रपा महाधिवेशन 

लिङ्देन नबोल्दै थापा निकट प्रमाणपत्र लिएर मञ्चबाट हिँडे

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा महाधिवेशन सम्पन्न हुनेबित्तिकै विवाद देखिन थालेको छ । राप्रपाको निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूका लागि आइतबार प्रज्ञा प्रतिष्ठानमा प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा विवाद छताछुल्ल देखियो ।

अध्यक्षमा पराजित कमल थापा कार्यक्रममा अनुपस्थित रहे । साथै थापा निकट केन्द्रीय पदाधिकारी तथा सदस्यहरू पनि कार्यक्रममा प्रमाणपत्र बुझेर बाहिरिएका थिए ।

नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले भने थापा शपथग्रहण कार्यक्रममा आएको भए सुनमा सुगन्ध हुने बताएका थिए । थापा भने सामाजिक सञ्जालमा असन्तुष्टि पोख्न व्यस्त थिए । यता शपथग्रहण र प्रमाणपत्र वितरण भइरहँदा थापा भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई आरोप लगाउँदै थिए ।

कार्यक्रममा थापा प्यानलबाट जित्ने पदाधिकारीहरू प्रमाणपत्र बुझ्ने बित्तिकै कार्यक्रमबाट बाहिरिएका थिए । थापाको प्यानलबाट जितेका वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की, महामन्त्री भुवन पाठक र कुन्ती शाही प्रमाणपत्र बुझ्ने बित्तिकै बाहिरिएका थिए ।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारीमध्ये उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवलशमशेर राणा मात्रै अन्तिम समयसम्म बसेका थिए । राणा लिङ्देन प्यानलका हुन् भने पाण्डे अध्यक्षका दुवै उम्मेदवारको सूचीमा परेका थिए ।

प्रमाणपत्र लिएर बाहिरिएकामध्ये एक पदाधिकारीले भने उपाध्यक्ष तामाङको मर्यादाक्रम नमिलेका कारण कार्यक्रममा नबसेको बताए । 'उपाध्यक्षहरूमध्ये बुद्धिमान तामाङ सबैभन्दा सिनियर हो । तर पाण्डेलाई अघि राख्ने काम भयो' असन्तुष्ट एक पदाधिकारीले भने । पाण्डेले महाधिवेशनमा सबैभन्दा लोकप्रिय मतका साथ जित हासिल गरेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष थापा बाहेक पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी भने उपस्थित थिए । जवकि राणाले यसअघि आफू लिङ्देनको पक्षमा नरहेको प्रतिक्रिया दिएका थिए । यससँगै पराजित थापाले आइतबार बिहान एक होटलमा आफू निकट कार्यकर्ताहरूको भेला बोलाएका थिए । जुन भेलालाई थापाले अलग पार्टी बनाउनका लागि गरेको अभ्यासका रुपमा समेत व्याख्या भएको छ ।

२०६१ सालदेखि निरन्तर नेतृत्वमा रहेका थापाको पराजयलाई लिएर स्वतन्त्र विश्लेषकसहित विपक्षी पार्टीका नेता तथा कार्यकर्ताहरूले समेत मिश्रित प्रतिक्रिया दिएका छन् । कतिपयले थापाको हारलाई उनको विरासत ढलेको संज्ञा दिएका छन् भने केहीले अब दक्षिणपन्थ झन् बलियो बनेको टिप्पणी गरेका छन् ।

प्रकाशित : मंसिर १९, २०७८ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्

सबैलाई समेट्न खोज्दा विधान अक्षरश: पालना भएन

कान्तिपुर संवाददाता

कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ । अहिले प्रदेश अधिवेशनको नतिजा आउनेक्रम छ भने केन्द्रीय महाधिवेशन आगामी शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । विधानले दिएको समयसीमाभित्र महाधिवेशनसमेत गर्न नसकेका सभापति शेरबहादुर देउवा फेरि सभापति बन्ने कसरतमा छन् ।

नेतृत्वका आकांक्षीहरू महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो पक्षमा पार्ने रसाकस्सीमा छन् । आकांक्षीहरूले वडादेखि प्रदेशसम्मको अधिवेशन सम्पन्न हुँदा आफ्नो पक्षमा राम्रो जनलहर बनेको दाबी गरिरहेका छन् । यो महाधिवेशनले कस्तो नेतृत्व चयन गर्छ ? शेरबहादुर देउवा नै पुनः सभापति बन्लान् कि नबन्लान् ? महाधिवेशनको विषयमा केन्द्रित भएर केन्द्रीय सदस्य मीन विश्वकर्मासँग कान्तिपुरका प्रकाश धौलाकोटीले गरेको कुराकानी :

अब त महाधिवेशन हुने नै भयो होइन ?

वडादेखि केन्द्रसम्मको अधिवेशन एकदमै छोटो समयमा व्यस्त भएर गर्‍यौं । यो अवधिमा कसरी अधिवेशनहरू सम्पन्न गराउने भन्ने चिन्ताले नै हामीलाई सताइरह्यो । तर, अब त परिस्थिति बनेको छ, केन्द्रीय महाधिवेशनका लागि देशैभरिबाट प्रतिनिधिहरू चयन भइसकेका छन् । प्रदेश २ मा अधिवेशन हुन बाँकी छ भने अन्य छ वटा प्रदेशमा अधिवेशन सकिँदैछ । अब त करिब–करिब महाधिवेशनको सुनिश्चितता भयो ।

यो महाधिवेशनले के–के गर्छ ?

महाधिवेशन भनेको पार्टीलाई पुनर्ताजगी गर्ने अवसर हो । महाधिवेशनबाट हामीले मुलतः विचारमा पुनर्ताजगी, संगठनमा पुनर्ताजगी र नेतृत्वमा पुनर्ताजगी गर्ने गर्छौं । त्यो भनेको विचारमा परिस्कार गर्ने हो, परिमार्जन गर्ने हो । संगठनको पुनः संरचना गर्ने हो । र, नेतृत्वमा अनुमोदन वा चयन गर्ने हो । यो तीन वटा कुरामध्ये यसपालि हामी विशेष परिस्थितिका कारणले नेतृत्व चयनमा मात्रै केन्द्रित भएका छौं । त्यसैले विचार र विधानलाई एकातिर राखेर अहिले हामीले २ वर्षअघि मात्रै नयाँ संविधानबमोजिम संशोधन गरिएको विधानअनुसार संगठनको पुनःसंरचना गर्ने र वडादेखि केन्द्रसम्मको नेतृत्व चयन गर्ने काम गरिरहेका छौं ।

त्यसैको प्रक्रियाअन्तर्गत अहिले प्रदेश अधिवेशनहरू भएका छन् । त्यसैले यो नेतृत्व चयनको महाधिवेशन हो । महाधिवेशनबाट नेतृत्व चयन भइसकेपछि त्यसको एकवर्ष भित्र हामीले विधान महाधिवेशन बोलाएर पार्टीको विधान, नीति र कार्यक्रमहरूमाथि छलफल गछौं ।

कस्तो नेतृत्व चयन हुन्छ त ?

नेतृत्व यस्तो हुनुपर्छ भन्ने आदर्श एउटा कुरा भयो । तर, म व्यवहारिक कुरा गर्न चाहन्छु । पार्टीका नेताहरूमध्ये उत्कृष्ट कार्य गर्न सक्ने, सबैको भावनालाई समेटेर पार्टीलाई सञ्चालन गर्न सक्ने व्यक्तिलाई पार्टीको सभापति बनाउने हो । पार्टीको सभापति भनेको पार्टीभित्र मात्रै होइन, अन्य दलहरूका नेताहरूका माझमा पनि प्रतिस्पर्धा गर्न सक्ने, अन्य पार्टीका नेताहरूको हाराहारीको नेता हुनुपर्छ । त्यसरी हेर्दा खेरि अहिले हाम्रो पार्टीमा सबै दलले पत्याएको, सबैले विश्वास गरेका र पार्टीभित्र १३ औं महाधिवेशनमा अत्यधिक बहुमतले सभापतिमा विजयी हासिल गरेको, राष्ट्रिय अन्तर्राष्ट्रिय छवि भएका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ ।

पार्टीको विधानले पनि दुई कार्यकालसम्म सभापति हुन पाउने व्यवस्था गरेको छ । उहाँले पनि इच्छा जाहेर गर्नुभएको छ । अहिलेको राष्ट्रिय राजनीतिको परिवेश पनि त्यस्तै छ । मेरो विचारमा यसपटक उहाँ (देउवा) नै पार्टीको सभापति बन्नुहुन्छ । र, पार्टीको अधिवेशनहरूबाट तलदेखि नै त्यसैगरी जनमत पनि तयार भएर आएको छ । त्यसैले हामी पनि उहाँ (देउवा) कै नेतृत्वमा एकपटक पार्टीलाई अघि बढाउनुपर्छ भनेर लागिरहेका छौं ।

शेरबहादुर देउवालाई नै दोहोर्‍याउनुपर्ने त्यस्तो के छ र ?

पार्टीको विधानमै कोही पनि व्यक्ति दुई कार्यकालसम्म पार्टीको सभापति हुन पाउने व्यवस्था छ, त्यसैले उहाँले दोहोरिन चाहने कुरा सामान्य हो ।

त्यसमाथि उहाँ त अहिले पार्टीको मात्रै होइन, मुलुकको आवश्यकता हो । समकक्षी नेताहरू सबैलाई मिलाएर, विश्वास दिलाएर, सबैलाई समेटेर पार्टीलाई अघि बढाउन सक्ने खुबी उहाँसँग छ । अहिले राष्ट्रिय राजनीतिमा पनि उहाँ नै शिखर व्यक्तित्व हुनुहुन्छ । उहाँ अरु चार वटा दलहरू संलग्न रहेको राजनीतिक गठबन्धनको पनि नेता हो । त्यसैले अहिले देशभरिबाट जो–जो महाधिवेशन प्रतिनिधिहरू निर्वाचित भएर आउनुभएको छ, उहाँहरू अधिकांश प्रतिनिधिहरूको चाहना र भावना अझै एकपटक शेरबहादुर देउवालाई नै पार्टीको सभापति हुनुपर्छ भन्ने मैले पाएको छु ।

साथ–साथै, उहाँले १३ औं महाधिवेशनमा उम्मेदवार बन्दै गर्दा खेरि नै म पार्टी सभापति भएपछि कसैले पनि पार्टी छोड्नु पर्दैन । जसले पार्टी छोडेका छन्, उनीहरूलाई म पार्टीमा फर्काउँछु भन्नुभएको थियो । अर्को कुरा, पार्टीभित्र रहेका सबै गुटउपगुटहरूको समाप्त गर्छु भन्नुभएको थियो । ती प्रतिवद्धता उहाँले पूरा गर्नुभएको छ । पार्टीमा कुनै विभाजन, गुटफुट देखिएको छैन, एकढिक्का राखेर अघि बढाउनुभएको छ । उहाँले उम्मेदवार हुँदै गर्दा भनेको जस्तै यो अवधिमा कसैले पनि पार्टी छोडेर जानुपरेन ।

बरु पार्टी छाडेर गएका नेताहरूलाई पार्टीमा फर्काउनुभएको छ । उहाँको यो कार्यकालमा कहिल्यै पनि केन्द्रीय समितिमा बहुमतले निर्णय गर्नुपरेन । जे जति निर्णयहरू भएका छन्, सबै सर्वसहमतिले, सबैको चित्त बुझाएर निर्णयहरू गरिएको छ । जसले असन्तुष्टि जनाउँछ, उसलाई बोलाएर छलफल गर्ने, संवाद गर्ने र सहमतिको माध्यमबाट त्यस्ता विषयहरूलाई टुंगो लगाउने गर्नुभएको छ । उहाँको यो सहमतिको नीति जुन छ, यसले कहिलेकाँही पार्टीका बैठकहरू लामो हुने, धेरै छलफल गर्नुपर्ने र भद्दा देखिएको हुनसक्छ, तर यसले नतिजा राम्रो दिएको छ । निर्णय गर्न केही ढिला भएको होला, त्यसले परिणाम असल दिएको छ । त्यसैले उहाँको नेतृत्वले पार्टीलाई एकढिक्का राख्न सकेको छ ।

हाम्रै पार्टीको विगतलाई हेर्ने हो भने पनि मातृकाप्रसाद कोइराला र बीपी कोइरालाको बीच दरार आएको छ, बीपी र सुवर्णका बीचमा दरार आएको छ, किसुनजी र गिरिजाबाबुका बीचमा दरार आएको छ, गिरिजाबाबु र गणेशमानजीका बीचमा दरार आएको छ, गिरिजाबाबु र शेरबहादुर देउवाको बीचमा पनि दरार आएको छ । ठूलठूला नेताहरूले नै रुँदै–रुँदै पार्टी छोडेर हिड्नुपरेको छ । तर, शेरबहादुर देउवाको यो कार्यकालमा त्यो हदसम्म बिग्रह भएको छैन । कहिलेकाँही दरार उत्पन्न भएको छ, तर बिग्रहको अवस्थासम्म कहिल्यै पुगेको छैन । नेताहरूले पार्टीको निर्णयलाई अस्वीकार गर्छु भनेर पार्टीबाट बाहिरिनुपर्ने अवस्था छैन । इतिहाससँग तुलना गरेर हेर्दा पनि पूर्व सभापतिहरूका कार्यकाल भन्दा उहाँको यो कार्यकाल सफल छ, उत्कृष्ट छ ।

तर, शेरबहादुर देउवाको कार्यकालमा पार्टीको विधान, विधि र पद्धतिको पालना भएन, पार्टी कमजोर भयो भन्ने आरोप त पार्टीभित्रकै नेताहरूले लगाइरहेका छन् नि ?

जसले आरोप लगाइरहनुभएको छ, उहाँहरूले बुझेर पनि यो बाहाना गर्नुभएको छ जस्तो लाग्छ । यसमा प्रष्ट कुरा के छ भने शेरबहादुर देउवाले आफू सभापति भइसकेपछि सहमतिबाट मात्रै पार्टीका निर्णयहरू गर्ने, सहमतिकै माध्यमबाट त्यसको कार्यान्वयन गर्ने गर्नुभयो । यदि विधानको अक्षरश पालना गर्नतर्फ लागेको भए धेरै विषयहरूमा सहमति हुने अवस्था थिएन, बहुमतीय निर्णय गरेका कारणले पार्टीमा असन्तुष्टिको पंक्ति बढाउँथ्यो । सबैलाई समेटेर जान खोज्दा विधानका केही व्यवस्थाहरू उल्लंघन भएको हुनसक्छ । तर, त्यसरी विधि विधानको पालना नै नभएको अवस्था भने होइन ।

सभापति एक्लैले निर्णय गर्दा सबैको सहमति नहुने, फेरि उहाँहरूले नै बहुमतीय निर्णय गरेर पार्टी फुटाउनुहोला भनेर खबरदारी गर्ने । अनि सबैको सहमति खोज्दा विधानले तोकेको हदम्यादमा सहमति नजुट्ने, ढिला हुने समस्याहरू आउने गरेका हुन् । त्यसैले विधानको व्यवस्था त सभापतिका कारणले भन्दा पनि पार्टीभित्रको प्रतिपक्षको बाहनाबाजीका कारण उलंघन भएको छ । त्यसैले विधानको उलंघनका पछाडि पनि उहाँहरूकै हात छ । यतिसम्म कि चुनावमा टिकट बाँड्ने बेलामा उहाँहरूले नै भागबन्डा खोज्नुभयो, भागबन्डामै टिकट बाँडियो । तर, पछि चुनाव हारिसकेपछि चाँहि त्यसको दोष सभापतिलाई लगाउनुभयो । त्यसैले ती कुराहरू अहिले दोहोर्‍याएर निकाल्नु भनेको त चुनावी फन्डाबाहेक केही होइन ।

नेतृत्वकै कारणले पार्टीले तीन तहको चुनाव हारेको कुरा पनि छ नि ?

नेपाली कांग्रेसले ०७४ को चुनावमा नेकपा एमालेभन्दा ५ लाख बढी, र नेकपा माओवादी भन्दा २१ लाख बढी मत ल्याएको छ । तर, प्राविधिक हिसाबले एमाले र माओवादीले समीकरण गरेका कारणले कांग्रेसले पराजय बेहोर्नुपरेको हो । उदाहरणका लागि ३, ४ र ५ शक्ति भएका दलहरू एक ठाउँमा बसेको अवस्थामा ५ का विरुद्ध ३ र ४ जोडिएपछि त स्वाभाविक हिसाबले ७ हुन्छ । यो त घाम झैं छर्लङ्ग विषय हो । यसलाई सभापतिको थाप्लोमा हालेर उहाँहरूले पनि पन्छिन मिल्दैन । माओवादीसँग गठबन्धन गरौं भन्दा बार्‍ह हात उफ्रिएर गर्नै हुन्न, गर्नै हुन्न भनेर विरोध गर्ने । अनि अरु पार्टीहरूले समीकरण गरेर चुनाव हारेपछि त्यसको दोष सभापतिलाई दिने । यो त आफैं हास्यास्पद कुरा मात्रै हो । यो तर्क पार्टीको चुनावमा प्रचारको विषय बन्ला, तर मतदाताले पत्याउने विषय चाँहि बन्दैन ।

तपाईंहरूकै टिममा पनि यसपटक पहिलेको जस्तो एकता देखिएको छैन । विमलेन्द्र निधिले उम्मेदवारी नै घोषणा गरिसक्नुभएको छ । गोपालमान श्रेष्ठले पनि दाबी गर्नुभएको छ । शेरबहादुर देउवा कसरी सभापति बन्नुहुन्छ ?

हाम्रो टिम अझै पनि एकढिक्का छ, र यसपटक पनि शेरबहादुर देउवा नै सर्वसम्मत उम्मेदवार हुनुहुन्छ । केही योग्य नेताहरू, पूराना नेताहरू विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले आकांक्षा व्यक्त गर्नुभएको छ, तर उहाँहरूको आकांक्षा के छ भने प्रतिस्पर्धी रामचन्द्र पौडेल लगायतको अर्को समूहमा जुन किसिमको जटिलता छ, हाम्रोमा त्यस्तो समस्या छैन । विमलेन्द्र निधिले मलाई शेरबहादुर देउवाको आशीर्वाद चाहियो, म सभापतिको उम्मेदवार हुन चाहन्छु भन्नुभएको हो । अर्को, गोपालमान श्रेष्ठले पनि मलाई उत्तराधिकारी बनाउनुस् भन्ने आकांक्षा राख्नुभएको हो । यो भनेको के हो भने उहाँहरूको लाइन चाँहि देउवा समूहनै हो । तर, सभापतिको उम्मेदवार बन्ने चाहना राख्नुभएको हो । अर्को समूहमा त्यस्तो छैन । त्यसकारणले हाम्रो समूहबाट सर्वसम्मत उम्मेदवार शेरबहादुर देउवा नै हो ।

त्यसो भए विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै सभापतिको उम्मेदवार मानेर जानुहुन्छ ?

हो । हामी छलफल र संवाद गरिरहेका छौँ । विमल दाइले पनि छलफल र सहकार्यको प्रयास गर्नुभएको छ । त्यसैले उहाँले शेरबहादुर देउवालाई सभापतिको उम्मेदवार मानेर जान सक्नुहुन्छ । त्यो संभावना छ ।

एकैपटक बहुमत पुर्‍याउने गरी कृष्णप्रसाद सिटौलासँग पनि सहकार्यको कुराकानी भइरहेको चर्चा छ नि ?

होइन । कृष्णप्रसाद सिटौलालाई मात्रै होइन । हामीले त पार्टीको नेतृत्व नै सर्वसम्मत तरिकाले गरौं भनेर प्रयास गरिरहेका छौं । सबैसँग सहकार्यको पहल भइरहेको छ । पार्टीका सबै नेताहरूको आ–आफ्नो क्षमता छ, सबैले आफ्नो क्षमताअनुसारको भूमिका लिएर यो महाधिवेशनबाट सर्वसम्मत रुपले पनि त नेतृत्व चुन्न सकिन्छ । पार्टीका सबै नेताहरूलाई समेटेर, अवसरको बाँडफाँड गरेर सर्वसम्मतरुपले पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने नै हाम्रो पहिलो प्रस्ताव हो ।

त्यो भएन भने प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा पनि फेरि कुन–कुन नेताहरूसँग कसरी सहकार्य र सहमति गरेर अघि जान सकिन्छ, त्यसको प्रयास हुन्छ, त्यो स्वभाविक नै हो । सिटौला दाइले १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सहयोग गर्नुभएको हो । त्यसयता अहिले जिल्ला र प्रदेश अधिवेशनमा पनि उहाँसँग सहकार्य भएको छ । सहकार्यका लागि सिटौला दाइ पनि सकारात्मक हुनुहुन्छ । अब केन्द्रमा पनि त्यसै गरेर सहकार्य हुनसक्छ । अरुसँग पनि सहकार्य हुनसक्छ ।

तपाईंचाँहि यो महाधिवेशनबाट के बन्ने ?

म दुई पटक केन्द्रीय कार्यसमितिको सदस्य भइसकेँ । अब पार्टीको पदाधिकारीलाई पनि समावेशी बनाउनुपर्छ भनेर हामीले विधानमा त्यसको व्यवस्था गरेका छौं । समावेशी समूहहरूबाट पदाधिकारीमा ८ जना सहमहामन्त्री रहने व्यवस्था भएकाले म आफ्नो समावेशी समूह दलित तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिन्छु ।

कांग्रेसमा उठ्नुपर्ने दलित समुदायका एजेन्डाहरू के–के हुन् ?

नेपालमा जुन दिन राणाशासनका विरुद्ध क्रान्ति भयो, त्यो बेला नै जातपात मान्दैनौं, सँगै बसौं, सँगै खाऔं । जमीन जोत्नेको हुन्छ, घर पोत्नेको हुन्छ भनेर आर्थिक सामाजिक क्रान्तिका नारा लगाएको पार्टीको सदस्य हुँदा म आफै गौरवको महसुस गर्छु । त्यसैले ती मुद्दालाई राष्ट्रिय मुद्दा बनाउन नेपाललाई समावेशीमात्रै होइन, समतामुलक समाज मेरो अभियान हो । यसमा मैले मेरो चेत आएदेखि, मेरो ज्ञान आएदेखि, मैले निरन्तर यही काम गरिराखेको हुनाले मलाई यो विषयमा गहिरो ज्ञान छ, सिंगो नेपालमा जहाँ जस्तो बसोबास छ, ती सबैको पहिचानको साझा कांग्रेस र साझा नेपाल बनाउनुपर्छ । चाहे त्यो आदिवासी जनजाति, मधेशी, थारु महिला, दलित आदि जसले पनि हामी सबैको पार्टी हो भन्ने महसुस हुने गरी कांग्रेसलाई साझा बनाउने, ती समुदायका मुद्धालाई पनि साझा बनाउने कुरामा मेरो अभियान रहन्छ ।

नेपालको गरिबी अन्त्य गर्नका लागि, प्राकृतिक स्रोतसाधन र नेपालको सामाजिक बनोटको आधारमा हाम्रो जनशक्तिको उपयोग गरेर विकास र समृद्धि ल्याउनका लागि नेपाली कांग्रेस नै सक्षम छ, त्यसका लागि पार्टीलाई थप रुपान्तरण गर्दै सामाजिक रुपान्तरणको अभियानमा नेपाली कांग्रेसलाई अग्रसर गराउँछु । त्यसकालागि पार्टीले निर्णयहरू लिनुपर्छ, त्यो निर्णय प्रक्रियामा पार्टीका पदाधिकारीहरूको भूमिका हुन्छ, त्यसका लागि म सक्षम छु, तयार छु । पार्टीको पदाधिकारीमा प्रवेश गर्नका लागि मैले समावेशीतर्फको सहमहामन्त्री पद रोजेको हुँ । अरु धेरै सिनियर नेताहरू पनि हुनुहुन्छ । पार्टीको पदाधिकारी बनिसकेपछि मैले मेरो समुदायको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउन सक्छु भन्ने लागेको छ ।

प्रकाशित : मंसिर १९, २०७८ १८:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×