दलहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह- चुनावका बेला पर्चा लिएर गाउँ जानुभयो, अब खोप लिएर जानुस्

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले राजनीतिक दलहरूलाई खोप लिएर मतदाताकहाँ जानका लागि आग्रह गरेका छन् । चुनावका बेला पर्चा लिएर भोट माग्न जनताकहाँ गएका राजनीतिक दलहरूले जनता कोरोना संक्रमणमा परेका बेला उपचारको व्यवस्था गर्न पनि गाउँघर जानुपर्ने उनको आग्रह थियो । 

दलहरूलाई स्वास्थ्यमन्त्रीको आग्रह- चुनावका बेला पर्चा लिएर गाउँ जानुभयो, अब खोप लिएर जानुस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आइतबारको बैठकमा मन्त्री खतिवडाले खोपका झोला र चिकित्सक लिएर गाउँमा जान आग्रह गरेका हुन् । 'हामीले भोट माग्नका लागि नमस्कार गर्दै घरघर गएका हुन्छौं । खोप र दुई जना सुई लगाउन जान्ने स्वास्थ्यकर्मी र खोपका झोला बोकेर गाउँगाउँका पचास, एक सय, दुई सय परिवार भएका गाउँमा गएर 'सधैं हामी पर्चा बाँड्दै भोट माग्न आएका थियौं, यो पटक तपाईंको स्वास्थ्य उपचारको लागि खोप लिएर आएका छौं, यो लगाउनुस्' भनेर सबै दलहरू हिँड्दिनुस् । सबै संघ संस्था हिँडिदिनुस्,' उनले आग्रह गरे ।

खोप लगाउनका लागि सुरुका दिनमा मान्छेको भीड भएको तर पछिल्लो समय अपेक्षित रूपमा जनता खोप लगाउन नआएकाले यस्तो आग्रह गर्नुपरेको मन्त्री खतिवडाको भनाइ थियो । काठमाडौंका ठूला अस्पताल र नाकामा खोपको व्यवस्था गर्दा पनि अपेक्षित रूपमा सहभागिता नरहेको उनले बताए ।

काठमाडौंका ठूला अस्पतालका साथै चार नाकामा पनि कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गरिएको छ । बल्खु, थानकोट, गोंगबु र कोटेश्वर नाकामा खोपका लागि जनशक्तिको व्यवस्था गर्दा पनि उल्लेख्य सहभागिता नभएको मन्त्रालयका अधिकारीको भनाइ थियो । ती सीमा नाकामा सुरुका दिनमा साढे ३ हजारले खोप लगाएको तर पछिल्लो समय खोप लगाउने मानिसको संख्या घटेको उनीहरूको भनाइ थियो ।

सरकारले अबको केही दिनमा बालबालिकालाई खोप लगाउने केन्द्रहरूमा नै कोरोनाको खोप लगाउनका लागि व्यवस्था गर्न लागेको उनले जानकारी दिए । त्यस्ता खोप केन्द्र मुलुकभर १६ हजार रहेका छन् । त्यस्तै, चुनावका बेला स्थापना गरिने बुथहरूलाई पनि कोरोनाविरुद्धको खोपकेन्द्रका रूपमा विकास गरिने योजनामा मन्त्रालय रहेको अधिकारीले बताएका थिए ।

मन्त्री खतिवडाले विद्यार्थीलाई खोप लगाउनका लागि विद्यालयलाई खोप केन्द्र बनाउने तयारी भइरहेको पनि जानकारी दिए । १२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्ने खोप आयातको चरणमा रहेको जानकारी दिँदै उनले विद्यालयमा नै खोप लगाउने व्यवस्था गर्न लागिएको बताए । समितिले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लाई लिएर सचेतना अपनाउन सरकारलाई निर्देशन दिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतबाट संक्रमण फैलिन सक्ने सम्भावना रहेको भन्दै समयमै सचेतता अपनाउन समितिले भनेको हो ।

‘खोपलाई छिटो भन्दा छिटो जनताकोमा पुर्‍याउने कुरा, लगाउने कुरा मन्त्रालयको योजनामा राखिसक्नु भएको छ । हाम्रो समितिको अपेक्षा के हो भने यो कुरा चाँडै कार्यान्वयन होस् भन्ने आग्रह गर्न चाहन्छु,' समिति सभापति जयपुरी घर्तीले सरकारलाई निर्देशन दिने क्रममा भनिन्, 'ज्येष्ठनागरिकलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्दा राम्रो हुन्छ ।यो व्यवस्था स्वास्थ्य मन्त्रायले गरोस् । खोप लगाउने नियमित समय नतोकिकन खुल्ला राख्नुपर्छ । बाहिरबाट आएका मानिसहरूलाई खोप नगरपालिका, गाउँपालिका र वडामा जतिबेला जान्छन् त्यतिबेला खोप लगाउने व्यवस्था गर्नुपर्छ ।'

समितिले सबै नागरिकले थाहा पाउने गरी खोपको बारेमा जनचेतना जगाउनका लागि सरकारलाई निर्देशन दिएको छ । नयाँ भेरियन्टलाई रोक्न र सम्भावित खतरालाई लिएर पूर्वतयारी गर्न समितिले सरकारलाई भनेको हो । 'ओमिक्रोनबाट बच्न र आम मानिसमा भय हुन नदिन शतर्कता अपनाउनु पर्छ भन्ने कुराको चेतना दिनुपर्छ । यो आइहाल्यो भने त हामीलाई गाह्रो हुन्छ, त्यसको पूर्व तयारीको लागि मन्त्रालय लाग्नुस् । नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै छ,' समितिको निर्देशनमा भनिएको छ, 'भारतबाट आउने मानिस सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर यी दुई वटा कुरामा मन्त्रालयले ध्यान दिनुपर्छ ।'

सरकारलाई अक्सिजन, भेन्टिलेटरलगायत स्वास्थ्य उपचारका सामग्रीको जोहो गर्न पनि समितिले निर्देशन दिएको छ ।

प्रकाशित : मंसिर १९, २०७८ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?