नेता हुनेबित्तिकै 'म ठूलो भएँ' भन्ने भावना नराख्न लोहनीको आग्रह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेता हुनेबित्तिकै 'म ठूलो भएँ' भन्ने भावना नराख्न लोहनीको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनीले ‘म ठूलो हुँ’ भन्ने भाव नराख्न पार्टीका नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन् । राजेन्द्र लिङ्देन नेतृत्वको नवनिर्वाचित केन्द्रीय सदस्यहरुको शपथ तथा प्रमाणपत्र वितरण समारोहमा आइतबार बोल्दै निवर्तमान अध्यक्ष लोहनीले नेता हुनेबित्तिकै म ठूलो भएँ भन्ने भावना राख्न नहुने बताएका हुन् ।

उनले विधि, पद्धति, दृष्टिकोण र दर्शनमा बाँधिएर पार्टीलाई मुलुक हाँक्न सक्ने बनाउन पार्टीभित्र सबैले हातेमालो गएर अघि बढनुपर्ने आवश्यकता औंल्याए ।

लोहनीले एक वर्षभित्र आवधिक निर्वाचन हुने र त्यसमा आफ्नो पार्टीले सकेसम्म सरकार बनाउने नभए सशक्त प्रतिपक्षको रुपमा उपस्थिति जनाउने गरी देशव्यापी जागरण अभियान संचालन गर्न पनि नयाँ नेतृत्वलाई सुझाव दिए । उनले नयाँ नेतृत्वले पार्टीका अग्रजहरुको सम्मान र कार्यकर्ताहरुलाई माया गर्दै अघि बढ्ने विश्वाससमेत व्यक्त गरे ।

'नेता हुनेबित्तिकै म ठूलो भएँ । मैले भनेको जे पनि चल्छ, होइन । पार्टीको विधि, पद्धति, पार्टीको दर्शन, दृष्टिकोणमा बाँधिएर एकले अर्कालाई टेवा दिएर, कार्यकर्तालाई नेताले संरक्षण गर्ने, नेताले कार्यकर्तालाई माया गर्ने । म ठूलो, तँ सानो भनेर न्यूनिकरण गर्ने काम नगरौं ।’

नेता लोहनीले राजसंस्था र नेपालको पहिचान हिन्दुराष्ट्रको एजेन्डालाई लिएर देशव्यापी रुपमा पुनर्जागरण अभियान चलाउनु पर्ने पनि बताए । 'हाम्रो आन्तरिक प्रतिस्पर्धा थियो । अब सकियो । अब प्रतिस्पर्धा को सित हुन्छ ? नेकपा एमाले, नेपालको जेठो पार्टी भनिएको नेपाली कांग्रेस, माओवादी । यी दलहरुसित प्रतिस्पर्धा गरेर जाने चुनौती अर्को एक वर्षमा हामीलाई आउँछ । त्यसका लागि हामीले संगठन विस्तार गरेर लैजानुपर्ने हुन्छ । कि त पार्टीले सत्तामा गएर देखाउँछौं कि त हामी सशक्त प्रतिपक्षमा रुपमा बसेर देखाउँछौं भन्ने दाबी गर्न सक्नुपर्दछ,' उनले भने, 'अर्कोतिर हामीले राष्ट्रिय पुनर्जागरणको अभियानलाई पनि सँगसँगै लैजानुपर्ने हुन्छ । संविधानभित्रको राजसंस्था र नेपालको पहिचान हिन्दु राष्ट्रको मुद्दालाई लिएर देशव्यापी रुपमा पुनर्जागरण अभियानमा जानुपर्छ ।'

कांग्रेस, एमालेले राज्यस्रोतको दुरुपयोग र संविधानलाई खेलौना बनाएको भन्दै निवर्तमान अध्यक्ष लोहनीले त्यसविरुद्ध बोल्ने आँट राप्रपाले गर्नुपर्ने उनको भनाइ थियो । 'पछिल्ला चार/पाँच वर्षको बीचमा नेपाली कांग्रेस र नेकपा एमालेले हाटहुट कम्पनीको रुपमा काम गरेका छन् । जहाँ गए पनि भ्रष्टाचार, अराजकता, संविधानलाई खेलौना सम्झेर आफ्नो स्वार्थको लागि प्रयोग गर्ने र नेपालीको स्रोत, साधन र सम्पत्तिमा भागबन्डाको आधारमा लुट मच्चाइयो । यसको विरुद्धमा बोल्ने, यसलाई रोक्ने, यो गर्न दिँदैनौ भनेर औंला ठड्याउन सक्ने शक्ति भनेको अब हामी नै हुनुपर्दछ । त्यो चुनौतीलाई लिएर हामी जाऔं ।'

प्रकाशित : मंसिर १९, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्

जलवायु परिवर्तनको विषयमा केन्द्रित 'किम्फ' 

कान्तिपुर संवाददाता

काठमाडौँ — हिमाल एसोसियसनद्वारा आयोजित काठमाडौं माउन्टेन फिल्म फेस्टिभल(किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने भएको छ । जलवायु परिवर्तनको विषयलाई स्लोगान बनाइ 'क्लाइमेट कर्म' उपशिर्षक दिइएको यो फेस्टिभलमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइनेछन् ।

भर्चुअल र भौतिक दुवै माध्यमबाट आयोजना गरिने फेस्टिभलको मुख्य आकर्षण हुन् सोनाम वाङचुक । लद्दाखका पर्यायवरणविद, रोलेक्स पुरस्कार विजेता वाङचुक फेस्टिभलका 'किनोट स्पीकर' हुन् । समय मिलेसम्म उनी फेस्टिभलका लागि नेपाल नै आउने तयारीमा छन् । अमेरिकी फिल्मकर्मी काइल रुडिक निर्देशित फिल्म 'ड्रिम माउन्टेन' प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिनेछ ।

'क्लाइमेट कर्म'मार्फत् वातवरणसँग मानवको सम्बन्ध र जलवायु परिवर्तनका विषयमा जोड दिँदै नेपालीलाई असर गर्ने मुद्दाहरूबारे अन्तरक्रिया र संवादसमेत गराउने किम्फको तयारी छ ।

किम्फ र युरोपेली संघले नेपाली फिल्म मेकरका लागि 'ग्रीन ग्रोथ-ग्रीन रिकभरी' शीर्षकमा लघु फिल्महरूको प्रतियोगिता पनि गर्नेछ । किम्फ र 'सेभ द चिल्ड्रेन'ले वातावरणका लागि 'कल टु एक्सन'मा टिकटक च्यालेन्ज पनि गर्ने भएको छ ।

स्विट्जरल्याण्डका पत्राकार तथा पर्वतारोही मारियो कासेला, स्विजरल्याण्डकी पत्राकार ‍तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल फेस्टिभलका निर्णायक हुन् । निर्णायकले अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितातर्फको विजेताले २ लाख, दोस्रोले १ लाख ५० र तेस्रो फिल्मले १ लाख पुरस्कार पाउनेछन् । पनोराममा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट आख्यानका लागि १ लाख प्रदान गरिनेछ । उत्कृष्ट माउन्टेन फिल्म अवार्ड विजेताले भने एक हजार अमेरिकी डलर जित्नेछ ।

यो वर्ष अमेरिकामा रहेर फोटोग्राफी गर्दैआएकी सिरा क्रोवेलले 'मास्टर क्लास' लिनेछिन् भने स्विस भूवैज्ञानिक टोनी हेगनको 'बिल्डिङ बिज्रेज टु द थर्ड वर्ल्ड'को नेपाली अनुवादित पुस्तक 'नेपालमा मेरो खोज यात्रा'को पनि विमोचन गरिनेछ । साथै 'सस्टेनवल समिट्स –क्लाइमेट सोलुसन्स फ्रम द टप अफ दि वर्ल्ड', 'एभरेस्ट–बाइ दोज हु वेयर देयर, १९२१, १९२२, १९२४' को विशेष प्रदर्शनी गरिनेछन् ।

प्रकाशित : मंसिर १९, २०७८ १७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×