राप्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूद्वारा शपथग्रहण

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक समारोह बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

राप्रपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूद्वारा शपथग्रहण

नवनिर्वाचित केन्द्रीय अध्यक्ष लिङदेनले केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट शपथ लिएका थिए । त्यसपछि नवनिर्वाचित उपाध्यक्षहरू र महामन्त्रीहरूलाई बस्नेतले शपथ गराएका थिए । त्यसलगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई अध्यक्ष लिङदेनले शपथ खुवाए ।

शपथग्रहण समारोहमा निवर्तमान अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी उपस्थित थिए भने अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापा सहभागी भएका थिएनन् । कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक बस्नेतले अध्यक्ष लिङदेनसहितका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।

काठमाडौंको भृकटीमण्डपमा आइतबार बिहान सम्पन्न एकता महाधिवेशनबाट लिङदेनको नेतृत्वमा ८ जना पदाधिकारी र १४१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । राप्रपाको १९९ सदस्यीय केन्द्रीय कार्यसमितिमा ५० जना सदस्य अध्यक्षले मनोनित गर्नेछन् ।

यससँगै २०६१ सालदेखि लगातार अध्यक्षमा रहेका नेता कमल थापा नेतृत्वबाट बाहिरिएका छन् । अध्यक्षमा पराजित भएपछि उनले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाहले पनि भूमिका खेलेको संकेत गर्दै प्रतिक्रिया दिएका छन् । उनले शीतल निवासले नांगो हस्तक्षेप गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित : मंसिर १९, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?