कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नाकामै खोप

दार्चुला/धनगढी/कञ्चनपुर — दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को खतरा बढ्न नदिन भारतसँग जोडिएका नाकामा जाँचलाई कडाइ पारिएको छ । बाक्लो संख्यामा ओहोरदोहोर भइरहने सुदूरपश्चिमका मुख्य सीमा नाकामा सतर्कता अपनाउनुका साथै नेपाल भित्रिनेलाई खोप लगाउन थालिएको छ ।

नाकामै खोप

दार्चुला सदरमुकामस्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा भारतबाट भित्रिनेलाई बिहीबारदेखि नै कोरोनाविरुद्ध खोप दिन थालिएको हो । पुलघाटस्थित नाकामा रहेको हेल्थ डेस्कमार्फत १८ वर्षमाथिका सबैलाई भेरोसेल र कोभिसिल्ड खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । शनिबारसम्म ७४ जनालाई खोप लगाइएको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । जिल्ला प्रशासन कार्यालयले भारतबाट प्रवेश गर्ने सबैलाई कोभिड खोपको दोस्रो डोज लगाएको प्रमाणपत्र अनिवार्य गरेको छ ।

कैलालीको भारतीय सीमा गौरीफन्टा नाकामा पनि हेल्थ डेस्कमा खोप लगाउन थालिएको छ । ‘केही दिनयता भारतबाट फर्किनेको संख्या बढेको छ,’ हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले भने, ‘खोप नलगाएकालाई अहिले भेरोसिल दिइरहेका छौं ।’ नाकामा एन्टिजेन परीक्षणमा संक्रमण देखिएकालाई घर जान नदिएर आइसोलेसनमा राख्ने गरेको उनले बताए । कञ्चनपुरको गड्डाचौकी नाकामा पनि जाँचमा कडाइ गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किने सबै नेपालीको नाकामै एन्टिजेन परीक्षण भइरहेको छ । संक्रमण देखिएकालाई अस्पताल भर्ना गरेर नमुना संकलन गरी केन्द्रीय प्रयोगशालामा पठाउन सुरु गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए ।

केन्द्रबाट मातहतका निकायमा कुनै निर्देशन नआए पनि स्वास्थ्य कार्यालय र स्थानीय प्रशासनले नाकामा कडाइलाई तीव्रता दिएका छन् । ‘केन्द्रबाट निर्देशन आएको छैन,’ कञ्चनपुरका सहायक प्रजिअ अशोक भण्डारीले भने, ‘नेपालीको हकमा सबैको परीक्षण गरेर भित्रिन दिएका छौं, भारतीयको हकमा दुई डोज खोप लगाएकालाई मात्रै आउन दिने भनेका छौं ।’ भारतीयलाई केही दिनअघिसम्म ७२ घण्टाभित्रको पीसीआर परीक्षण अनिवार्य गरिए पनि पछिल्लो समय दुई डोज खोप लगाएकालाई पनि आउने दिइएको छ ।

महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट जडानसँगै बालबालिकाका लागि आइसोलेसन भवन निर्माणलगायतका काम भइरहेको कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले बताए । उनका अनुसार दैनिक १ सय ७४ सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने क्षमताको प्लान्ट निर्माण भइसकेको छ । जसमध्ये १ सय ५० सिलिन्डर पाइपलाइनबाट र २४ सिलिन्डिर भरेर राखिनेछ । आईसीयू कक्ष, एचडीयू र आइसोलेसनमा पाइपलाइनबाटै अक्सिजन सप्लाई गर्ने योजना रहेको उनले बताए । ६ बेडको आईसीयू, १६ बेडको एचडीयू र ५० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको छ भने बालबालिकाका लागि थप ५० बेडको आइसोलेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाट नाकाबाट शुक्रबार ८ सय १४ जना स्वदेश फर्किएका थिए । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार एक साताअघि स्थिर देखिएको संक्रमण दर अहिले केही बढेको छ । शुक्रबार ६२ जनाको पीसीआर परीक्षणमा १४ जनामा संक्रमण पाइएको छ । बिहीबार ६ जनामा संक्रमण देखिएको थियो भने बुधबार ३ र मंगलबार १० जनामा संक्रमण पुष्टि भएको थियो । निर्देशनालयका अनुसार सुदूरपश्चिमका १२ अस्पतालमा ६९ आईसीयू बेड छन् । तीमध्ये कोभिड संक्रमितका लागि ५४ बेड छुट्याइएको छ । अधिकांश आईसीयू बेड कैलाली र कञ्चनपुरमा छन् ।

निर्देशनालयका अनुसार पहाडी जिल्लामध्ये बाजुरा, अछाम र दार्चुलामा आईसीयू सुविधा छैन । बझाङ र डडेलधुरामा मात्र कोभिड आईसीयू बेड छन् । डडेलधुरामा २६ र बझाङमा २ वटा कोभिड आईसीयू रहेको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की भएका संरचना सुधार गर्ने र सीमा नाकाबाट हुने आगमनलाई थप व्यवस्थित गर्ने योजना रहेको बताउँछन् । ‘सबै पहाडी जिल्लाका अस्पतालमा आईसीयू सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिएर पठाइसकेका छौं,’ प्रवक्ता कार्कीले भने, ‘अब तुरुन्तै उपलब्ध नभएका जिल्लामा पनि आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा आउनेछ ।’

प्रकाशित : मंसिर १९, २०७८ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?