कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कला संस्कृति संरक्षणमा जुटौं : पर्यटनमन्त्री आले

रासस

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कला र संस्कृति देशका गहना भएकाले यिनको संरक्षण तथा प्रवद्र्धनमा सबै जुट्नुपर्ने बताएका छन् ।

कला संस्कृति संरक्षणमा जुटौं : पर्यटनमन्त्री आले

कलाकार शिवराम कासुलाद्वारा लिखित ‘नृत्य सूत्र तथा लिपि’ नामक कृतिको शनिबार यहाँ विमोचन गर्दै उनले अन्तर्राष्ट्रियरूपमै ख्याति कमाइरहेका नृत्यहरूले मानिसलाई प्रफुल्लित बनाउने मात्र नभई तत्कालीन समय बोध गराइरहेको उल्लेख गरे । उनले भने, 'समग्र नेपाल संस्कृतिमा विशाल धनी छ, प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदा यहाँका सरलता र विशेषता हुन्, यहाँका नाचहरूले अन्तर्राष्ट्रियस्तरमा धेरै पुरस्कार प्राप्त गरेका छन्, ताण्डव र भैरवलगायत नृत्यले मान्छेको मनमात्रै प्रफुल्लित बनाएका छैनन् तत्कालीन समय बोध गराएका छन् ।'

पर्यटनमन्त्री आलेले साहित्य, संस्कृति, अध्यात्म, कला विज्ञान सबै जीवनका लागि भएको र जीवनमा चाहिने मनोरञ्जनात्मक नृत्यमात्रै होइन, त्यसका शब्दले धेरै कुरा बताएजस्तै पुस्तकले पनि अनगिन्ती कुरा बताइरहेको बताए ।

'संगीतको तालमा शरीरको चाललाई हिँडाउने कुरा भए पनि यसले धेरै अर्थ बोकेको छ, सुखदुःखको भावलाई यसले बताउने छ, धर्म र संस्कृति, चाडबाड र विजयोत्सव मनाउन गरिने नृत्य आज विश्वव्यापी भएको छ', उनले भने ।

उनले संस्कृतिलाई साक्षात देखाउने नृत्यबारेमा लेखिएको कृतिले नेपाली वृत्तलाई संसारभर पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । पर्यटनमन्त्री आलले सातवटै प्रदेशमा लेखन हुने गरी मन्त्रालयले बजेट व्यवस्थापन गर्ने वचन दिए । पुस्तकको समीक्षा गर्दै जगदम्बा श्री पुरस्कार विजेता भैरवबहादुर थापाले नेपालको नृत्य विधालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उनले नृत्य सूत्रले समेटेका विषयवस्तु स्तरीय रहेको कला र संस्कृतिको सम्वद्र्धनमा टेवा पुग्ने बताए ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले नृत्य सूत्रसम्बन्धी बृहतरूपमा समेटिएको पुस्तक नेपालमै पहिलोपटक प्रकाशन भएको र यसले नेपालको नृत्य कलालाई विश्वबजारमा उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ नमूना शर्माले नृत्य सूत्रसम्बन्धी अनुसन्धनात्मक कृतिले नेपालको नृत्य कलालाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने बताए ।

नृत्य सूत्र तथा लिपि पुस्तकमा ६४ अक्षरमा सूत्रबद्ध सङ्केत लिपि रहेको छ । नृत्य लिपि मञ्चन, चालचाली ऊर्जा, शिराकाश प्रणाम, नृत्य सूत्र, नृत्य विज्ञान, संचेली, नाचुली जयमामी, बब्नामी सयनामी, नउत्षङ्गना आदि विषयलाई विस्तृतरूपमा व्याख्या गरिएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?