एक वर्षभित्रमा एमालेको सरकार बन्छ : ओली- समाचार - कान्तिपुर समाचार

एक वर्षभित्रमा एमालेको सरकार बन्छ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासन समेत दिए ।

अध्यक्ष ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहोर्‍याए । उनले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताए । ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तीका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरुलाई आह्वान गरे ।

उनले भने, ‘चुनाव हुन अब बेस्सरी ढिला भयो भने एक वर्ष हो । एक वर्षमा चुनाव हुनैपर्छ । एक वर्षमा चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अब कसेको सरकार बन्छ ? देशमा । त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो । त्यसपछि हामी पुनर्निर्माण र नवनिर्माणको कामहरु अगाडि बढाउँछौं र देशलाई समृद्धिको बाटोमा लान्छौं ।’

अध्यक्ष ओलीले आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरेपनि अरु कसैले फुस्काई दिएको उल्लेख गर्दै अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने बताए । उनले अघिल्लो पटक नेपाललाई भूजडित देशको रुपमा स्थापित गराउँदा आफूलाई सरकारबाट हटाएको दाबी समेत गरे ।

प्रकाशित : मंसिर १८, २०७८ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्

मतदान सकिन मध्यरातसम्म लाग्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भइरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी एकता महाधिवेशनअन्तर्गत अध्यक्ष पदका लागि परम्परागत शैलीमा र बाहेकका पदमा विद्युतीय मतदान भइरहेको हो ।

शनिबार बिहान ढिला गरी सुरु गरेका कारण मतदान सकिन मध्यरातसम्म लाग्ने भएको छ । ‘एक जनालाई मतदान गर्नै आधा घण्टा लाग्छ । अहिलेसम्म २२ सयले मात्रै मतदान गरेका छन्,’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने । महाधिवेशनमा ४ हजार ३८० जना प्रतिनिधिहरुले नयाँ नेतृत्वका लागि मतदान गर्दैछन् ।

मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्दा मतदान कार्य रातिसम्म लाग्ने केन्द्रीय निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए । मतदानमा ८६ वटा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।

मतगणना सकिएको चार घण्टाभित्र परिणाम आइसक्नेछ । राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देन उम्मेदवार छन् भने ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, १४१ पदका लागि २७० जना उम्मेदवार छन् ।

राप्रपाको १ सय ९९ कार्य समितिमध्ये अध्यक्षसहित १४९ सदस्य निर्वाचित हुनेछन् भने बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था छ । पदाधिकारीमा एक महिलासहित ४ उपाध्यक्षका लागि ८ जना र एक महिलासहित ३ महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित : मंसिर १८, २०७८ १८:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×