विदेशका विश्वविद्यालयमा एमबीबीएस गरिरहेकाले सम्बन्धित देशमै पढाइ पूरा गर्नुपर्ने- समाचार - कान्तिपुर समाचार

विदेशका विश्वविद्यालयमा एमबीबीएस गरिरहेकाले सम्बन्धित देशमै पढाइ पूरा गर्नुपर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयमा एमबीबीएस अध्ययन गरिरहेका तर कोभिडका कारण स्वदेश फर्किएर जान नपाएका विद्यार्थीहरुले सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भइ अध्ययन निरन्तरता दिनुपर्ने निर्णय गरेको छ । 

मन्त्रालयलगायत चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि सरकारले सन् २०१४ मा चीनमा अध्ययन पूरा गरी इन्टर्नसीप बाँकी भएका नेपाली विद्यार्थीहरुलाई स्वदेशै इन्टर्नसीप गर्ने व्यवस्था मिलाएको थियो ।

सन् २०१५ र २०१६ का विद्यार्थीहरुले पनि कोभिडका कारण फर्किन नपाएको भन्दै अघिल्लो ब्याच जस्तै स्वदेशमै बसी पढाइ पूरा गर्नुपर्ने माग राख्दै महिनादिनदेखि नेपाल मेडिकल काउन्सिल, चिकित्सा शिक्षा आयोग र माइतीघरमा समेत प्रदर्शन गर्दै आइरहेका छन् ।

विज्ञप्तिमा विद्यार्थीहरुलाई सम्बन्धित विश्वविद्यालयमा नै उपस्थित भइ निरन्तरता दिनका लागि सम्बन्धित सरकारसमक्ष उच्चस्तरमा कूटनीतिक पहल गर्ने निर्णय गरेको जनाइएको छ ।

चीनबाट एमबीबीएस अध्ययन गरेर आएकी सन् २०१५ ब्याचकी एक छात्रा भन्छिन्–‘चीनबाट फर्किएपछि यो सूचना आएको भए हामी मान्थ्यौँ ।१८ महिनापछि कूटनीतिक समन्वय गरेर जहाँ पढेको त्यही पठाउँछौँ भनेर कसरी भन्नुभएकाे । कूटनीतिक पहल कहिलेसम्म गर्ने ? त्यो पनि राम्ररी भनिएको छैन,’ उनले भनिन् ।

सम्बन्धित समाचार


प्रकाशित : मंसिर १८, २०७८ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्

'बाँचुञ्जेलसम्म पद हडपिरहने संस्कारले लोकतन्त्रलाई बलियो बनाउँदैन'

एउटा पुलिस अवकाश हुन्छ, एउटा कर्मचारी अवकाश हुन्छ । एउटा शिक्षक अवकाश हुन्छ अनि राजनीतिज्ञले चाहिँ अवकाश लिनुनपर्ने भन्ने हुन्छ र ? अवकाश लिनुपर्‍यो । उमेर भएका, क्षमता र दक्षता भएको नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्‍यो, सिकाउनुपर्‍यो ।
कान्तिपुर संवाददाता

सत्तारुढ दल कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन चलिरहेको छ, यसपछि मंसिर २४ गतेदेखि केन्द्रीय महाधिवेशन हुनेछ । महाधिवेशन पूर्णत: नेतृत्व चयनमा केन्द्रित भएको छ । पार्टीको विधान, नीति र राष्ट्रिय राजनीतिका विविध एजेन्डाहरूमा विचार निर्माण र कार्यान्वयन गर्नुपर्ने भूमिकामा रहेको कांग्रेसले पाँच वर्षपछि भइरहेको महाधिवेशनमा त्यसबारे कुनै छलफल नै गरेको छैन ।

विगतमा नीति र नेतृत्व महाधिवेशन सँगसँगै गर्दै आएको कांग्रेसले यो महाधिवेशनमा नेतृत्वको निर्वाचनमात्रै गर्दैछ । निर्वाचन हुने १३ पदाधिकारीसहित १३४ पदका आकांक्षीहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । महाधिवेशनका विविध विषयमा केन्द्रित रहेर केन्द्रीय सदस्य एवम् आसन्न महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदका उम्मेदवार बद्री पाण्डेसँग ईकान्तिपुरका प्रकाश धौलाकोटीले गरेको कुराकानी :

केन्द्रीय महाधिवेशन आउन अब त केही दिनमात्रै बाँकी छ । तयारी कसरी भइरहको छ ?

महाधिवेशनको तयारीका लागि विभिन्न समितिहरू बनेका छन्, ती समितिहरूले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् । अब प्रदेशको अधिवेशन सकिएपछि केन्द्रीय महाविधेशनका लागि सबै पूर्वाधार खडा भइसक्छन् । अबचाँहि हामी महाधिवेशन सुनिश्चितताको अवस्थामा पुगेका छौं ।

यो महाधिवेशनको कार्यभार के हो ?

यो महाधिवेशनबाट हामीले पार्टीलाई नयाँ नेतृत्व दिन्छौँ । वडादेखि केन्द्रसम्म नेतृत्व चयन गरेर हाम्रो पार्टीको वैधानिकतालाई पुनर्ताजगी गर्छौं । समय बित्दै गएपछि जोस्, जाँगर र उत्साह बाँकी रहँदैन । हाम्रो ४ वर्षे कार्यकाल छ, त्योभन्दा धेरै समय बितिसकेको छ । त्यसैले तलदेखि माथिसम्म नेतृत्व परिवर्तन गरेपछि त्यसले जोस् जाँगर ल्याउँछ । त्यसपछि तुरुन्तै हामी नीतिगत महाधिवेशन बोलाउने भनेका छौं । त्यो विधानले पहिल्यैदेखि तोकेकै कार्यक्रम हो । र, त्यसमा हामीले दुइटा कुरा गर्छौं ।

पहिलो कुरा, हामीले नीतिमा स्पष्टता ल्याउनका लागि वडा सम्मेलनदेखि केन्द्रमा महासमिति बैठकसम्ममा नीतिगत बहस गर्छौं । दोस्रो कुरा, अहिले पार्टीको निर्वाचनका सन्दर्भमा कहीं स्वस्थ प्रतिस्पर्धा भएका होलान्, कहीं अस्वस्थ प्रतिस्पर्धा । आफू जित्नका लागि कसैले कसैको चित्त दुखाएको पनि हुनसक्छ । एउटै पार्टीभित्र कोही हार्ने र कोही जित्ने हुँदैन । पार्टी बलियो भयो भने सबैले जित्ने, कमजोर भयो भने सबैले हार्ने हो । तीन तहको निर्वाचनभन्दा पहिले हामीले सबै साथीहरूलाई एक ठाउँमा उभिने वातावरण बनाउने काम गर्नुपर्छ । पार्टीका साथीहरूका बीचमा भावनात्मक सम्बन्ध विकास गरेर तीन तहकै चुनावमा जित हासिल गर्ने र मुलुकको समृद्धिका लागि कांग्रेसले अघि सारेका एजेन्डाहरूको कार्यान्वयन गर्नमा हामी केन्द्रित हुनुपर्छ ।

कांग्रेसले पछिल्लो पटक विधान संशोधन गरेको थियो, जुन यो महाधिवेशनबाट कार्यान्वयनमा जाँदैछ । तर, अहिले नै विधानमा संशोधन गर्ने प्रस्ताव तयार भएको छ । तपाईंहरूले विधानलाई आफू अनुकूल प्रयोग गर्न खोज्नुभएको हो ?

म एउटा राजनीतिशास्त्रको विद्यार्थी हुँ । मैले लोकतान्त्रिक अभ्यास भएका थुप्रै मुलुकका राजनीतिक दलहरूबारे अध्ययन गरेको छु । मलाई के लाग्छ भने लोकतन्त्रमा पार्टीहरूले आफ्नो विधानलाई समयानुकूल बनाउनुपर्छ, संशोधन गर्नुपर्छ । हाम्रो पार्टीको विधानमा त्यस्तै संशोधन भएको हो, महासमिति बैठकबाट । तर, अब त्यसको कार्यान्वयन नहुँदै फेरि फेरबदल भइराख्ने कुराचाँहि राम्रो होइन । हुन त, हाम्रो राष्ट्रिय राजनीतिको अवस्था पनि त्यस्तै छ ।

००७ सालमा प्रजातन्त्र आयो, १७ सालमा खण्डित भयो । ०४६ सालमा प्रजातन्त्रको पुन:स्थापना भयो, फेरि ०५९ सालमा खण्डित भयो । अस्ति केपी ओलीले झन्डै–झन्डै अहिलेसम्मका उपलब्धिहरूलाई सखाप पारिसक्नुभएको थियो । त्यसैले हाम्रो पार्टीको विधानको कार्यान्वयनमा पनि त्यस्तै समस्या देखिएको हो । पटक–पटक विधान संशोधन भएको छ, तर त्यसको कार्यान्वयन हुन सकेको छैन । अभ्यास हुन सकेको छैन । विधि प्रक्रिया भनेको अभ्यास नगरीकन थाहै हुँदैन । मैले जे विधि तयार गरिएको हुन्छ, कम्तीमा एक/दुई पटक त त्यसलाई इमान्दार भएर कार्यान्वयन गरौं भन्ने गरेको छु । त्यसपछि मात्रै त्यसमा परिमार्जन गर्नुपर्ने, परिस्कार गर्नुपर्ने कुराहरू थाहा हुन्छ । त्यो अभ्यास नै नगरीकन हामीले परिमार्जन गर्न खोज्नु राम्रो होइन, जुन हाम्रो पार्टीमा भइरहेको छ ।

कुनै बेला हाम्रो विधान अध्यक्षतात्मक थियो, त्यसपछि हामी सामूहिक प्रणालीमा आयौं । यतिखेर के भन्न थालिएको छ भने सामूहिक नेतृत्व प्रणाली ठीक रहेनछ, बरु अध्यक्षतात्मक प्रणाली नै राम्रो, यसलाई फेर्नुपर्छ । सामूहिक नराम्रो हो भनेर हामीले त्यसको अभ्यास नै नगरी कसरी थाहा पायौं ? त्यसैले इमान्दार भएर एकपटक कार्यान्वयन गरौं । त्यसपछि जटिलता आयो भने परिस्कार र परिमार्जन गरौं । अभ्यास नै नगरी परिमार्जन गर्ने हो भने त जति वटा बनाए पनि त्यस्तै भइरहन्छ ।

तपाईंले भनेको जस्तो तीन तहकै निर्वाचनमा कांग्रेसलाई अहिलेकै नेतृत्वले जिताउन सक्छ र ?

हो, अहिलेको आवश्यकता भनेको नेतृत्व परिवर्तन हो । र, नेतृत्व परिवर्तन हुन्छ भन्ने कुरामा म ढुक्क छु । यसका साथै तलदेखि नै युवाहरूको ठूलो सहभागिता भएर आएको छ, केन्द्रमा पनि अब त्यही अनुपातमा युवा नेतृत्व स्थापित हुन्छ । यो महाधिवेशनले नेतृत्व परिर्वतन गर्छ, युवा नेतृत्व स्थापित हुन्छ । र, यसरी ताजा निर्वाचनबाट म्यान्डेट लिएर आएको नेतृत्वमा आत्मविश्वास हुन्छ, जवाफदेहिता र आत्मगौरव पनि हुन्छ । अहिले कांग्रेसले जसरी मुलुकको संविधान र व्यवस्थामाथिको संकटबाट बचाउन नेतृत्व गरेको छ, आगामी तीन तहका निर्वाचनमा कांग्रेसलाई जित हासिल गर्न सक्ने खालको नेतृत्व यो महाधिवेशनले चुन्छ, चुन्नुपर्छ ।

तपाईंले पनि सहमहामन्त्रीमा उम्मेदवारी दिने भन्नुभएको छ । उम्मेदवारीबारे पनि केही भनिदिनुस् न ?

मैले अहिलेको विधानको नयाँ व्यवस्थाबमोजिम समावेशीतर्फ पिछडिएको क्षेत्रबाट केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने सोचेको छु । मैले दुई कार्यकाल केन्द्रीय कार्यसमितिमा रहेर काम गरेँ । सबै साथीहरूको भावनालाई समेट्ने गरी काम गरेको छु । धेरै साथीहरूसँग साक्षात्कार गरेर समस्याहरू सुनेको छु, गुनासाहरू सुनेको छु । कार्यकर्ता साथीहरूलाई प्रशिक्षित गरेको छु । औपचारिक, अनौपचारिक भेटघाट गरेको छु । मैले मेरो समय र योग्यताले भ्याएसम्म, इमान्दारितापूर्वक पार्टीको संगठनको सदृढीकरणका लागि कार्य गरेको छु । त्यसैले यो मेरो मनोगत चाहनामात्रै होइन, साथीहरूको भावनाकै आधारमा मैले उम्मेदवारी दिने निर्णय गरेको हुँ । त्यसैले अब म उम्मेदवारी दिन्छु, साथीहरूले माया गर्नुहुन्छ र जित्छु भन्ने पनि विश्वास छ ।

अनि, कांग्रेसको सभापतिचाँहि कसलाई बनाउँदै हुनुहुन्छ ?

यो त तपाईंहरूले देख्नुभएकै छ, लेख्नुभएकै छ । अहिले ५–७ जना नेताहरू सभापतिका लागि रसाकस्सीमा हुनुहुन्छ । म संस्थापन इतर पक्षका नेताहरूको एकतालाई जोड दिएर लागिरहेको छु । अहिले हाम्रो समूहबाट पनि ४–५ जनाले नेतृत्वका लागि अपेक्षा राख्नुभएको छ । उहाँहरूमध्ये एक जना हुने, बनाउने भन्नेमा हामी सबै लागिरहेका छौं । एक जना हुनेबित्तिकै हामीलाई जित्नका लागि कुनै समस्या छैन । देशभरिका आमनेता कार्यकर्ता साथीहरूको चाहना पनि त्यही छ । अब प्रदेश अधिवेशन सकिएपछि सबै नेताहरू काठमाडौं आउनुहुन्छ, हाम्रो सम्पूर्ण ध्यान केन्द्रीय नेतृत्व कस्तो हुने ? कसलाई बनाउने ? कसले कसलाई छोडिदिने भन्नेमा केन्द्रित हुन्छ । त्यसपछि हामी जो नेतृत्व परिवर्तनको पक्षमा छौं, हामीले सभापतिको एक जनामात्रै उम्मेदवार छान्छौं । र, निर्वाचन पनि हामीले जित्छौं ।

तपाईंहरू नेतृत्व परिवर्तनको पक्षमा हुनुहुन्छ । तर, अहिले देशभरि क्षेत्र र जिल्लाको परिणामले त सभापति शेरबहादुर देउवालाई झन् बलियो भएको देखाइरहेको छ । नेतृत्व परिवर्तन त कसरी सम्भव होला र ?

अहिले क्षेत्र र जिल्लाको परिणामलाई हामीले पनि नजिकबाट हेरिरहेका छौं । सबैसँग कुराकानी पनि भइरहेको छ । सबै साथीहरूको भावना छ कि अब कांग्रेसको नेतृत्व परिवर्तन आवश्यक छ । उहाँहरूले सभापतिका आकांक्षीहरूलाई भनिरहनुभएको छ कि तपाईंहरू एक हुनुस्, हामी नेतृत्व परिवर्तनको पक्षमा छौं । यो कुरा सभापतिका प्रत्यासी नेताहरूले पनि बुझ्नुभएको छ । एक जनामात्रै उम्मेदवार हुने बित्तिकै हाम्रो माहोल आउँछ, हामीले चुनाव पनि जित्छौं । नेतृत्वको परिवर्तनको पक्षमा पनि देशैभरिबाट राम्रो मत संकलन भएको छ । पार्टीलाई परिवर्तनको पक्षमा गोलबद्ध र एकताबद्ध गर्ने हो ।

तपाईंहरूलाई एकताबद्ध बनाउने त्यस्तो आधार के छ र ?

होइन, अहिले त नेतृत्व परिवर्तन गर्नुपर्छ भन्ने कुरा नै एकताको प्रमुख आधार हो । पार्टी केन्द्रका नेताहरू नै नेतृत्व परिवर्तनको पक्षमा हुनुहुन्छ, आम कार्यकर्ताको भावना पनि त्यही छ । अहिले कांग्रेसले चाहेको नै परिवर्तन हो । फेरि परिवर्तन भन्दै गर्दा हामीले अहिले जो नेतृत्वमा हुनुहुन्छ, उहाँहरूलाई अपमान गर्ने भन्ने कुरा पनि छैन । उहाँहरूको पुस्ता ०१७ पछि राजनीतिमा आउनुभयो, कांग्रेस र मुलुकलाई यहाँसम्म ल्याउनका लागि उहाँहरूले धेरै ठूलो त्याग, बलिदान र संघर्ष गर्नुभएको छ । अब उहाँहरूले पनि सम्मानजनक अवकाशको बाटो रोज्नुपर्छ । उहाँहरूले बोकिरहेको भारी बोक्नका लागि नयाँपुस्ता तयार भइसकेको छ । अब नयाँ पुस्ताले तपाईंहरू आराम गर्नुस्, जति योगदान गर्नुभयो, त्यो हाम्रो लागि गौरवको कुरा हो भनेर भनिरहेको अवस्थामा उहाँहरूले नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ । उहाँहरूले अब देशको, पार्टीको धेरै चिन्ता लिनुपदैन । बरु सल्लाहकारको भूमिकामा बस्ने, अभिभावकीय भूमिका लिने र सम्मानजनक अवकाश लिने गर्नुपर्छ । यो लोकतन्त्रको कुशल अभ्यास भएका मुलुकहरूमा भइरहेकै कुरा हो । यसलाई हामीले एउटा संस्कारकै रुपमा विकास गरेर जानुपर्छ । अहिले महाधिवेशनको मुखमा कसैलाई नेतृत्वबाट हटाउन वा कसैलाई त्यहाँ पुर्‍याउनका लागि मात्रै होइन कि हामीले, हाम्रो पुस्ताले पनि यो गर्नुपर्छ, र त्यसका लागि हामीले अभियानै सञ्चालन गर्न सक्नुपर्छ । यो विन्दुमा पुगेपछि मैले अवकाश लिन्छु, विश्राम लिन्छु भनेर हामीले भन्न सक्नुपर्छ ।

फेरि अवकाश हुने कुरा त सामान्य प्रक्रिया नै त हो । एउटा पुलिस अवकाश हुन्छ, एउटा कर्मचारी अवकाश हुन्छ । एउटा शिक्षक अवकाश हुन्छ अनि राजनीतिज्ञले चाँहि अवकाश लिनुनपर्ने भन्ने हुन्छ र ? अवकाश लिनुपर्‍यो । उमेर भएका, क्षमता र दक्षता भएको नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्‍यो, सिकाउनुपर्‍यो । शक्ति र पद मिल्छ भनेपछि जतिसुकै बुढो उमेरसम्म, अन्तिम अवस्थासम्म पनि सक्रिय हुनुपर्छ भन्ने हुन्नँ नि ।

आफ्नो जीवनको अन्तिमसम्म पनि पद हडपिरहनुपर्ने संस्कार जो बसेको छ, यसले लोकतन्त्रलाई बलियो बनाउँदैन । यो मैले अहिले महाधिवेशनमा कसैसँग आग्रह वा पुर्वाग्रह राखेर भनेको होइन, तपाईंले याद गर्नुहोला म यो पार्टीभित्र राष्ट्रिय राजनीतिमा पनि एउटा अभियन्ताको रुपमा अघि बढ्छु ।

तपाईं पिछडिएको क्षेत्रबाट केन्द्रीय पदाधिकारीको उम्मेदवार बन्दै हुनुहुन्छ, त्यो क्षेत्रका समस्याहरू के हुन् ?

साँच्चिकै पछाडि परेको क्षेत्र भएरै पिछडिएको क्षेत्र भनिएको हो । त्यहाँ अहिले पनि बाह्रै महिना सञ्चालन हुने सडक छैनन् । यातायातकै समस्या छ । पक्की सडक छैन । पुलपुलेसा बनेका छैनन् । स्वास्थ्य क्षेत्रको समस्या उस्तै छ । विद्यालय र क्याम्पसहरू छन्, तर भनेजस्तो पुर्वाधार र शैक्षिक गुणस्तरको विकास हुन सकेको छैन, खानेपानीको समस्या छ, सिंचाईको समस्या छ, रोजगारी पाउने अवस्था छैन, वर्षेनि भोकमरी आउँछ, समस्यै–समस्या मात्रै छन् वास्तवमा । रोग र भोकले आक्रान्त बनेको छ, पीडित र प्रताडित छ । त्यसैले यो पिछडिएको क्षेत्रलाई अन्य क्षेत्रहरूको दाँजोमा, मूलधारमा ल्याउनका लागि मैले भूमिका खेल्छु, खेल्न सक्छु भनेर नै मैले त्यो क्षेत्रबाट उम्मेदवारी दिएको हुँ । मैले राष्ट्रिय राजनीतिमा खेल्नुपर्ने, पार्टीको संगठन सुदृढिकरण र शुद्धीकरणका लागि गर्नुपर्ने भूमिका त छदैछ, योसँगै यो पिछडिएको क्षेत्रको विकासका लागि सिर्जनशील भएर सोच्ने र विकल्पहरू खोज्ने काम गर्छु, गरिरहन्छु ।

प्रकाशित : मंसिर १८, २०७८ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×