१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

'सूर्य'मा ग्रहण लागिसक्यो, काम लाग्दैन : नेपाल

वीरेन्द्र केसी

अर्घाखाँची — नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आउँदो चुनावमा गठबन्धनले एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् । उनले गठबन्धन कसैले टुटाउन खोजे पनि नटुट्ने, बरु सशक्त भएर अगाडि बढ्ने बताए ।

'सूर्य'मा ग्रहण लागिसक्यो, काम लाग्दैन : नेपाल

‘अब राष्ट्रिय सभा चुनाव हुँदैछ, त्यहाँ गठबन्धनकै साझा उम्मेदवार बनाउँछौं,’ नेकपा (एस) अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भने, ‘चुनावमा ५ दलीय गठबन्धनले साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौं । चुनावबाट ओली एमाले पुरै पत्तासाफ हुन्छ ।’ उनले अर्घाखाँचीमा उपचुनाव गर्ने कि एक वर्षपछि एकैपटक चुनाव गर्नेबारे छलफल भइरहेको बताए ।

अर्घाखाँचीमा एमाले उम्मेदवारलाई हराउन गठबन्धनको साझा उम्मेदवार बनाउन कुरा मिलिसकेको नेपालले दाबी गरे । संविधान कुल्चिएर प्रतिगामी दक्षिणपन्थी बाटोतिर लाग्ने ओली एमालेको भविष्य अब नरहने उनको भनाइ थियो ।

उनले अर्घाखाँचीमा पनि गठबन्धन बलियो बनाउने गरी लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिए । ‘संघ र प्रदेश सरकारबाट बढारिएको एमालेलाई अब आउँदो चुनावमा पत्तासाफ हुन्छ र सूर्यमा ग्रहण लागिसक्यो, काम लाग्दैन,’ नेपालले भने, ‘अब कलम चम्किन्छ । जे गर्छ कलमले गर्छ ।’

केपी ओलीले चितवनमा कुम्भ मेला गरेर तमासा देखाएर जनताको बहुदलीय जनवादको माला जपेर जबजलाई नारायणी नदीमा बिसर्जन गरेर काठमाडौ फर्केको आरोप नेपालले लगाए । आफूसहित अन्य पदमा उम्मेदवारी दिनेलाई मत नदिन भन्न लगाएर हरिबिजोग गराएको उनको टिप्पणी थियो ।

प्रकाशित : मंसिर १८, २०७८ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?