चितवनमा दाहालले भने- ‘गठबन्धन टुटाउने अनेक कसरत भएका छन्’- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा दाहालले भने- ‘गठबन्धन टुटाउने अनेक कसरत भएका छन्’

रमेशकुमार पौडेल

काठमाडौँ — सत्ता साझेदारको प्रमुख घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन भत्काउने प्रयास सुरु भएको बताएका छन् । पार्टी निकटको पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको शनिबारदेखि भरतपुरमा सुरु भएको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै दाहालले भने, ‘मान्छेहरु यो गठबन्धन टुटाउनलाई अनेक खालका कसरत गरेका छन् । मलाई धेरै कुरा बडो डिटेलमा थाहा छ ।’ ती कुरा अहिल्यै नभन्ने पनि उनले बताए ।

गठबन्धन बनाएर सरकार निर्माण भएपछि जनतामा, देशमा र अन्तर्राष्ट्रिय क्षेत्रमा जे सन्देश दिन खोजेको हो त्यसमा अझै सफल नभएको उनले स्वीकार गरे । ‘त्यो दिशातर्फ हाम्रो कदमै चलेका छैन भन्ने पनि हैन । तपाईं पत्रकार साथीहरुले अलि वैचारिक ढंगले, आक्रमक ढंगले सरकारलाई सकारात्मक ढंगले उत्प्रेरित गर्ने काम पनि छाड्नु हुँदैन’, दाहालले अपिल गरे ।

मंसिर २८ मा संसद् बसे पनि एमसीसी र न्यायालयको विवादका विषयमा सहमतिबाटै काम कारबाही अगाडि बढ्ने उनले बताए । ‘कसैले एमसीसीका लागि कसैले महाभियोगका लागि संसद् बोलाएको होला कि भनेर सोचेका छन् । यो हिउँदे अधिवेशन हो । बोलाउने गर्दथ्यो । एमसीसी बारेमा पनि राष्ट्रिय सहमति र दलहरुको समझदारीबाटै जान्छौं । जबर्जस्ती गरेर कसैले हुने कुरा छैन’, दाहालले भने ।

न्यायालयको विवाद निरुपणको विषयमा पनि महाअभियोग लगाउने वा नलगाउने भन्ने निर्क्योल सहमतिमै गर्ने उनले बताए । ‘महाअभियोग पनि राष्ट्रिय हितअनुसार राजनैतिक सहमतिको आधारमा लगाउन हुने/नहुने कुरा हुन्छ । त्यसैले यी विषयमा चिन्ता नमान्नु होला’, दाहालले भने ।

चितवनमा हालै १० औं राष्ट्रिय महाधिवेशन गरेपछि एमाले पार्टी मण्डलेहरु, पञ्चायती र निरंकुशतावादीको मोर्चामा पतन भएको दाहालको टिप्पणी थियो ।

प्रकाशित : मंसिर १८, २०७८ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्

झापामा डेङ्गुका ९ बिरामी भेटिए

रासस

झापा — विगतमा महामारीकै रुपमा देखिएको डेङ्गु रोग यसपटक पनि झापामा देखापरेको छ । जिल्लाका दुईवटा पालिकामा मात्र ९ जना डेङ्गुका बिरामी फेला परेका छन् ।

बिर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चारजना बिरामी फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्यांकमा देखिएको छ । हाल उनीहरू बिर्तामोडमा रहेको बिर्तासिटी हस्पिटल र मनमोहन अस्पतालमा उपचारपछि घर फर्किएका छन् । मनमोहन अस्पतालका डा शुवेश सौरवले १० दिनको अन्तरालमा अस्पतालमा १० डेङ्गु रोगीको उपचार भएको जानकारी दिए ।

बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका डेङ्गु रोग फोकल पर्सन तुलसी पोखरेलका अनुसार वडा नम्बर ४ को रमाइलो टोलस्थित सिदार्थ होटल आसपास क्षेत्रमा बढी डेङ्गुको सङ्क्रमण देखिएको छ । उनले विशेषगरी विभिन्न क्षेत्रमा काम गर्ने मजदुरमा डेङ्गुको सङ्क्रमण देखिएको बताए । डेङ्गु रोगी देखिए लगत्तै घरदैलोमार्फत् नगर क्षेत्रमा डेङ्गु रोग लाग्ने लार्भा फेला नष्ट गर्ने अभियानमा स्वास्थकर्मी र जनप्रतिनिधि सक्रिय रुपमा लागि परेको बताए ।

मेचीनगर नगरपालिकाको वडा नम्बर १०, ६ र ८ मा मात्र चारजना डेङ्गुका बिरामी फेला परेका छन् । पालिकाको स्वास्थ्य शाखाकी डेङ्गु फोकल पर्सन सविता सापकोटाले छिटफुटमा डेङ्गुका सङ्क्रमित देखिएसँगै नगरपालिकाले लामखुट्टेबाट हुने डेङ्गु रोग नियन्त्रण तथा रोकथामका लागि सचेतनासहितको अभियान धमाधम गरिरहेको बताइन् ।

उनले विगतमा भदौ असोज महिनामा मात्र देखिने यो रोग यसपटक मंसिर महिनामा बढी देखिएको बताइन् । पोथी जातका लामखुट्टेले ससाना सफा पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । सो जमेको पानीको पहिचान गर्दै सबै पालिकाले डेङ्गुको लार्भा नष्ट गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगेन्द्र घिमिरेले बताए ।

उनका अनुसार भद्रपुर, दमक, विर्तामोड, अर्जुनधारा, मेचीनगर नगरपालिका र कमल गाउँपालिका, बुद्धशान्ति गाउँपालिकामा अभियान सञ्चालन भइरहेको छ । उनले तराईको जिल्ला भएका कारण झापा डेङ्गु रोगको उच्च जोखिममा पर्ने विज्ञहरू बताउँछन् । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई स्वास्थ्यसम्बन्धी काम गर्ने अख्तियारी प्रदान गरेकाले हाल आवश्यक परेको बेला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग मात्र गर्नसक्ने घिमिरेले बताए ।

यस्तै कार्यालयसँगै डेङ्गु रोगीको तथ्यांक नभएको बुझिएको छ । उनले भने, 'पालिकामै बजेट आउँछ, सचेतनामूलक कार्यक्रम पालिकले नै गर्छन् । उनीहरूले दिएको विवरणको आधारमा कार्यालयमा तथ्यांक राखिन्छ । ठ्याक्कै भन्न सकिन ।'

जिल्लामा दुई वर्षअघि डेङ्गु रोगकै कारण ५०० बिरामी भएका थिए भने आधा दर्जन बढीको मृत्यु जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकमा देखिएको छ । ड्रम, फुलदानी, गमला, कुलर, पानीका ट्यांकीमा डेङ्गुको लार्भा भेटिने गरेकाले त्यस्ता सामग्री प्रयोग भएको स्थानमा गएर लार्भा नष्ट गर्न काम पालिकाले गरिरहेको उनको भनाइ छ ।

प्रकाशित : मंसिर १८, २०७८ १५:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×