१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चितवनमा बाटाघाटा कस्ता रहेछन् भनेर हेर्नलाई नारायणी किनारमा ठूलो मेला लाग्यो : दाहाल

'अब कसैलाई अधिवेशन गर्न पर्‍यो भने अन्त हेर्न परेन, चितवन नै आए हुन्छ ।'

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय चितवन सबै पार्टीको नजरमा परेको बताएका छन् । शनिबार बिहान भरतपुर महानगरपालिका-२६ दिव्यनगरमा आयोजित राजनैतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सबैको रोजाइमा पर्नु चितवनवासीका लागि खुसीको कुरा भएको बताएका हुन् । 

चितवनमा बाटाघाटा कस्ता रहेछन् भनेर हेर्नलाई नारायणी किनारमा ठूलो मेला लाग्यो : दाहाल

दाहालले देशलाई एकताबद्ध गर्ने तथा जनता र गणतन्त्रको रक्षा गर्ने पार्टी माओवादी मात्रै भएको पनि दाबी गरे । उनले भने, 'देशलाई एकताबद्ध गर्ने, सबै जनता, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी माओवादी मात्र भएको जनचेतना एकपटक देशभर फैलिएको छ । जनताले अब फेरि माओवादीबाहेक अरुले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सक्दैनन् भन्ने बुझ्याछन् ।' त्यस्तै उनले सबै जनताले माओवादी पार्टी बलियो भए मात्रै देश र जनता बलियो हुन्छन् भन्ने बुझेको पनि बताए ।

महाधिवेशनका लागि सबैको नजरमा परेको उल्लेख गर्दै दाहालले भने, 'कोही लोभले, कोही डाहले, कोही मायाले, कोही केले, कोही केले सबै चितवन नै आउन चाहने भए आजभोलि । अस्ति भर्खर ठूलो मेला लाग्यो नि नारायणी नदी किनारमा । चितवनलाई माया गरेर त होला त्यत्रो मेला लाग्यो यहाँका बाटाघाटा कस्ता रहेछन् भनेर हेर्न पनि होला ।'

त्यस्तै उनले आफूलाई माया वा घृणा गरेर जे भए पनि चितवन आउनु खुसीको कुरा भएको बताए, 'अनि प्रचण्डलाई र रेणुलाई जिताउने जनता कस्ता रहेछन् भनेर हेर्न पनि होला । यहाँको नारायणी, राप्ती, रिउ देवघाट मौलाकालिकाजस्ता पर्यटकीय र धार्मिक स्थल हेर्न पनि होला । प्रचण्डलाई माया गरेर वा घृणा गरेर जे भए पनि चितवन आए तपाईंहामी चितवनवासीलाई खुसीकै कुरा हो । मैले भनेको छु अरु पनि चितवन नै आए हुन्छ । अब अधिवेशन गर्न पर्‍यो भने अन्त हेर्न परेन चितवन नै आए हुन्छ । जे भए पनि यहाँका जनतालाई त्यसबाट फाइदा नै हुन्छ ।'

त्यसैगरी भरतपुरमा 'सिबीच' मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा उनले जल, जंगल र जमिनको सही ढंगले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताए । यस्तो विकासले समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्ने उनको भनाइ थियो ।

नेपालका धेरै ठाउँमा जल, जंगल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उनले सिंगापुरको सन्तोसा आइल्यान्डजस्तै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । यसले आन्तरिक मात्रै नभई बाह्य पर्यटकसमेत आकर्षित गर्ने उनको भनाइ थियो । विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उनले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताए । उनले भने, 'भरतपुरमा तीव्र गतिमा भौतिक विकासका काम भइरहेका छन् । चितवन र भरतपुरमा हुने आर्थिक विकासका गतिविधि राष्ट्रियरुपमा सबैका निम्ति अध्ययन गर्ने विषय हुन् भन्ने हाम्रो चाहना छ । शक्तिखोरबाट सुरुङमार्ग बनाउने, रेललाइन ल्याउने, मकवानपुर चितवन र नवलपुरलाई जोडेर बृहत्तर आर्थिक परियोजना बनाउनेसम्मका सपना छन् ।' देशको राजनीतिको केन्द्र चितवन बनेको भन्दै उहाँले देशभरिका जनताले अध्ययन गर्ने गरी यहाँको विकास गरिने बताए ।

प्रकाशित : मंसिर १८, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?