खस्कियो कक्षा १२ को नतिजा- समाचार - कान्तिपुर समाचार

खस्कियो कक्षा १२ को नतिजा

गत वर्ष विद्यालयको तजबिजमा नम्बर दिँदा ४७ जनाले ४ जीपीए ल्याएकामा यस पटक बोर्डले उत्तरपुस्तिका परीक्षण गर्दा कसैले ल्याएनन्
सुदीप कैनी

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड आफैंले उत्तरपुस्तिका परीक्षण गराउँदा यसपटक कक्षा १२ को नतिजा गत वर्षभन्दा खस्केको छ । गत वर्ष शिक्षकले आफ्ना विद्यार्थीलाई मनोमानी नम्बर दिँदा नतिजा 'राम्रो' देखिएको थियो ।विद्यालयले परीक्षा सञ्चालन गरे पनि बोर्डले बाह्य परीक्षकबाट उत्तरपुस्तिका परीक्षण गराउँदा यसपटक ४ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या शून्य छ ।

२०७६ सालसम्म परीक्षाको सम्पूर्ण काम बोर्डले आफैं गरेको थियो । त्यतिबेला पनि ४ जीपीए कसैले ल्याउन सकेका थिएनन् । तर, गत वर्ष (२०७७) कोभिड संक्रमणका कारण विद्यालयले नै परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण गर्दा ४७ विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।

गत वर्ष माथिल्लो ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या धेरै थियो तर यसपटक उक्त संख्या क्रमशः घट्दो क्रममा रहेको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जनाए । यसपटक ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ७ हजार ७६ जना (२.०९ प्रतिशत) छ भने गत वर्ष ६ हजार ९ सय १६ जना (२.२२ प्रतिशत) ले उक्त जीपीए प्राप्त गरेका थिए । यो जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या पोहोरभन्दा १ सय ६० जना बढी छ । यसपटक कुल परीक्षार्थी संख्या पनि गत वर्षभन्दा करिब २८ हजार धेरै थियो ।

होम सेन्टरमा परीक्षा सञ्चालन गर्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या अझै बढी रहेको हुन सक्ने अर्यालले बताए । २०७६ मा परीक्षा सञ्चालन र उत्तरपुस्तिकाको सबै काम बोर्डले नै गर्दा २ लाख ९२ हजार विद्यार्थीमध्ये ३ हजार ७६ जनाले मात्रै ३.६–४.० जीपीए प्राप्त गरेका थिए ।

त्यतिबेला २.० देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा बढी ८६ हजार २ सय २७ जना थियो भने २०७७ मा २.४ देखि २.८ जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या उच्च थियो । यसपटक पनि २.४–२.८ जीपीए ल्याउनेकै संख्या बढी छ । २०७७ मा १ लाख ९ हजार ३ सय १२ जनाले २.४–२.८ जीपीए ल्याएका थिए । यसपटक यो जीपीए ल्याउनेको संख्या ९९ हजार ५ सय ३७ छ ।

२०७५ सालदेखि बोर्डले ग्रेडिङ पद्धतिबाट विद्यार्थीको मूल्यांकन गर्न थालेको हो । बोर्डले परीक्षा सञ्चालन र उत्तरपुस्तिका परीक्षण गर्दा मध्यम समूहको जीपीए ल्याउने विद्यार्थी सबैभन्दा बढी हुन्थे । गत वर्ष विद्यालयले तजबिज गर्दा मध्यमभन्दा माथिल्लोस्तरको जीपीए ल्याउनेको संख्या बढेको थियो । यो वर्ष बोर्डले उत्तरपुस्तिका परीक्षण गर्दा मध्यम जीपीए र त्यसभन्दा तल्लो स्तरको जीपीए ल्याउनेको संख्या बढेको छ । ‘गत वर्ष ४ जीपीए ल्याउने विद्यार्थी भेटिएका थिए, सम्भवतः यो वर्ष छैनन्,’ सदस्यसचिव अर्यालले भने ।

आफ्नै शिक्षकले उत्तरपुस्तिका परीक्षण गर्दा बढी नम्बर दिएको बोर्डको प्रदेश १ कार्यालयमा भएको अनियमितताले पनि पुष्टि गर्छ । बोर्डका प्रदेश प्रमुख डम्बर बतासले त्यहाँ केही निजी विद्यालयका उत्तरपुस्तिका सम्बन्धित विद्यालयकै शिक्षकलाई परीक्षण गर्न दिँदा विवादमा परेका थिए । ती उत्तरपुस्तिका पुनः परीक्षण गराउँदा अधिकांशलाई बढी नम्बर दिएको भेटिएको थियो । बोर्डका सदस्य तथा शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्माको संयोजकत्वमा गठित छानबिन समितिले पुनः परीक्षण गर्न लगाएको थियो ।

गत वर्ष सम्बन्धित शिक्षकलाई नै उत्तरपुस्तिका जाँच्न दिँदा अस्वाभाविक अंक दिएको भन्दै यसपटक विद्यालयले परीक्षा लिए पनि उत्तरपुस्तिका बोर्डमै परीक्षण गर्ने व्यवस्था मिलाइएको हो । भदौ ३१ देखि असोज ८ सम्म विद्यार्थीले पढेकै विद्यालयमा कक्षा १२ को परीक्षा सञ्चालन गरेर बोर्डका कार्यालयहरूमा फरक विद्यालयका शिक्षकले उत्तरपुस्तिका जाँचेका थिए । बोर्डले सम्परीक्षण पनि गरेको थियो । परीक्षा सकिएको दिनबाट सबैभन्दा थोरै दिनमा यसपटक नतिजा प्रकाशन गर्न सफल भएको बोर्डले जनाएको छ । परीक्षा सकिएको ६८ दिनमा परीक्षाफल प्रकाशन भएको हो । कोरोना महामारीका कारण वैशाख/जेठमा हुने परीक्षा दुई पटकसम्म स्थगित भएर भदौमा सञ्चालन भएको थियो ।

बोर्डका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ विद्यार्थी परीक्षामा सहभागी थिए । नियमिततर्फ मात्रै ३ लाख ३८ हजार ६ सय ८८ जनाले परीक्षा दिएकामा ३.६ देखि ४.० जीपीए ७ हजार ७६ जनाले ल्याए । ३.२ देखि ३.६ जीपीए ४८ हजार ४९ जना, २.८ देखि ३.२ जीपीए ७० हजार १ जना, २.४ देखि २.८ जीपीए ९९ हजार ५ सय ३७ जना, २.० देखि २.४ जीपीए ७५ हजार ८८ जना, १.६ देखि २.० जीपीए २४ हजार ५ सय १५ जनाले ल्याएका छन् । त्यस्तै ३ हजार ८ सय ७५ जनाले १.२ देखि १.६ जीपीए, २ सय ९६ जनाले ०.८ देखि १.२ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । ०.० देखि ०.८ जीपीए ल्याउने विद्यार्थीको संख्या १० हजार ७३ जना छ ।

ग्रेडवृद्धितर्फ २८ हजार ४ सय ६६ परीक्षार्थी सम्मिलित थिए । पुरानो पाठ्यक्रमअनुसार नियमिततर्फ कक्षा १२ को यो अन्तिम परीक्षा हो । चालु शैक्षिक सत्रका विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गरिरहेका छन् । आगामी वर्ष नयाँ पाठ्यक्रमका आधारमा परीक्षा सञ्चालन हुनेछ । आंशिकतर्फ ६ हजार ८ सय ६१ जनाले परीक्षा दिएका हुन् । उनीहरूको पनि नतिजा सार्वजनिक गरिएको छ । कुल परीक्षार्थीमध्ये ४६ जनालाई मर्यादाविपरीत कार्य गरेकाले निष्कासन गरिएको बोर्डले जनाएको छ ।

४ जना नक्कली परीक्षार्थी र २ जना टिकटक बनाउनेलाई पनि कारबाही गरिएको छ । टिकटक बनाउने परीक्षा केन्द्रका केन्द्राध्यक्ष र निरीक्षकलाई कारबाहीसहित थप विभागीय कारबाहीका लागि शिक्षा मन्त्रालयमा सिफारिस गरिएको अर्यालले बताए । उनीहरूलाई आगामी वर्ष पनि परीक्षा दिन, केन्द्राध्यक्ष र निरीक्षक बन्न रोक लगाइएको छ ।

बोर्डले नतिजा प्रकाशन भएको ७ दिनपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनलगायतका प्रमाणपत्रका लागि आवेदन दिन सक्ने जनाएको छ । त्यसका लागि ११ र १२ दुवै कक्षामा सैद्धान्तिक विषयमा कम्तीमा ‘डी प्लस’ र प्रयोगात्मक परीक्षामा कम्तीमा ‘सी ग्रेड’ प्राप्त गरेको हुनुपर्नेछ । बोर्डको प्रदेश र शाखा कार्यालयहरूबाट प्रमाणपत्र वितरण गरिनेछ ।

ग्रेडवृद्धि परीक्षामा सहभागी नहुने विद्यार्थीले मात्र प्रमाणपत्र लिन पाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए । प्रमाणपत्र लिने विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउँदैनन् । आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेमा भने विद्यार्थीले पुनर्योगका लागि पुस ३ भित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : मंसिर १८, २०७८ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

घरेलु श्रमिक छिटो पठाउन कतारको आग्रह

श्रम कानुन बलियो बनाएको कतारी टोलीको जिकिर, नेपाली पक्षको प्रस्तावमा सहमति
होम कार्की

काठमाडौँ — कतारले घरेलु श्रमिकलाई सम्बोधन हुने गरी कानुन बनाएको भन्दै नेपाललाई छिटो पठाउन अनुरोध गरेको छ । तीन वर्षपछि शुक्रबार काठमाडौंमा भएको नेपाल र कतारको उच्चस्तरीय श्रम अधिकारीहरूको संयुक्त बैठकमा कतारले घरेलु श्रमिक पठाउनुपर्ने एकमात्रै एजेन्डा राखेको हो । बैठकले घरेलु श्रमिक पठाउनका लागि अध्ययन गर्न एउटा कार्यदल बनाउन सहमति गरेको छ ।

नेपालले घरेलु श्रमिक पठाएमा अन्य क्षेत्रमा नेपालीलाई थप प्राथमिकता दिनेसमेत कतारले जनाएको छ । घरेलु श्रमिकलाई समेत सम्बोधन हुने गरी २०२२ भित्र नै नयाँ श्रम सम्झौता गर्न कतार तयार भएको हो । ‘घर र कृषि क्षेत्रमा नेपालीलाई खोल्नुपर्नेबाहेक अन्य एजेन्डा कतारको थिएन,’ बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरलाई भने, ‘बाँकी समय नेपालले नै राखेको प्रस्तावमा छलफल भयो ।’

कतारका श्रम सचिव मोहम्मद हसान अल–ओबाइलीले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, संयुक्त बैठक र संसदीय समितिसँग भएको छुट्टाछुट्टै बैठकमा पनि घरेलु श्रमिकको सुरक्षाका लागि कतार प्रतिबद्ध भएको भन्दै विश्वास गर्न आग्रह गरेका थिए । ‘घरेलु श्रमिकलाई समेटेर श्रम कानुनलाई बलियो बनाएका छौं । यसमा नेपालले शंका गर्नुपर्दैन । सुरक्षाको प्रत्याभूति गर्न हामी प्रतिबद्ध छौं,’ उनले भने,‘बरु केही समयमा नेपालले अनुगमन गर्न सक्छ ।’

बैठकपछि कतारी टोलीले संसद्को उद्योग र वाणिज्य श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवलाई पनि भेटेर कतारले पछिल्लो समयमा सुधार गरिरहेकोबारे जानकारी गराएको थियो । ‘घरेलु श्रमिकको हितमा गरिरहेको काम हेरेर मात्रै थप निर्णय गर्न सकिनेछ,’ श्रीवास्तवले ओबाइलीसमक्ष भने,‘संसदीय समितिले घरेलु श्रमिक खोल्न ७ वटा विषयमा सम्बोधन हुने गरी श्रम सम्झौता गर्न नेपाल सरकारलाई निर्देशन दिएका छौं ।’

ओबाइलीले नेपालको संसदीय समितिले दिएको निर्देशनलाई कतारले पूर्णरूपमा सम्बोधन गरी कानुन जारी गरिसकेको जानकारी दिएका थिए । ‘हामी छिटोभन्दा छिटो संसदीय समितिलाई स्वागत गर्न तयार छौं,’ ओबाइलीले भने ।

संयुक्त बैठकमा भने नेपालले राखेको सबै प्रस्तावलाई कतारले स्वीकार गरेको छ । श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेका अनुसार २००५ को श्रम सम्झौताका कतिपय पक्षमा समसामयिक सुधार गरी नयाँ सम्झौता गर्न कतार तयार भएको छ । ‘कतारमा जान सक्ने जनशक्तिलाई आवश्यक सीपयुक्त तालिम दिई क्षमतायुक्त बनाउन नेपालले प्रस्ताव गरेअनुरूप ७ वटै प्रदेशमा तालिम केन्द्र स्थापनामा सहयोग गर्ने सहमति भएको छ,’ उनले भने,‘कतारमा आफ्नो महत्त्वपूर्ण समय बिताएर घर फर्कने नेपालीका लागि नेपालमा पुनः स्थापनाको कार्यक्रम नेपालको प्रस्तावबमोजिम कतार सरकारको सहयोगमा मिलाउने सहमति भएको छ ।’

प्रकाशित : मंसिर १८, २०७८ ०७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×