सगरमाथा चढ्न नयाँ बाटो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथा चढ्न नयाँ बाटो

सुरज कुँवर

काठमाडौँ — फ्रान्सेली आरोही मार्क बटार्डले सगरमाथा आरोहण गर्न कम जोखिमयुक्त नयाँ रुट (गोरक्सेप हुँदै पहिलो शिविरको बाटो) पत्ता लगाएका छन् । बर्सेनि हिमपहिरो र हिमखाडलमा परेर आरोहीले ज्यान गुमाउनुपर्ने घटनाका कारण विश्वभर सगरमाथाको खुम्बु आइसफल ‘ज्यानमारा’ क्षेत्रका रूपमा चिनिन्छ ।

आरोहणसम्बन्धी अनलाइनहरूका अनुसार हालसम्म खुम्बु आइसफलमा कम्तीमा ४५ जना आरोहीले ज्यान गुमाइसकेका छन् । यही ज्यानमारा खुम्बु आइसफललाई छल्ने नयाँ रुट मार्कले पत्ता लगाएका हुन् ।

लामो समयको स्थलगत तथा स्वअध्ययनबाट उनले ५ हजार १ सय ६४ मिटर उचाइमा रहेको गोरक्सेपबाट नुब्चे हिमालको फेदीसम्म करिब १ किलोमिटर वैकल्पिक बाटो पत्ता लगाएका हुन् । उनका अनुसार नयाँ रुटमा हिमपहिरो र हिमखाडलको जोखिम अत्यन्तै कम छ । ‘हामीले पत्ता लगाएको रुटमा ढुंगाको पहाड छ । त्यहाँ डोरी झुन्ड्याउने पिटन र टेक्न फलामको एंकर खोपेर हाल्नुपर्छ,’ बिहीबार स्वदेश फर्किनुअघि मार्कले भने, ‘यो प्रविधि फ्रान्सका अल्पाइन आरोहण र हिमालमा सफल भइसकेको छ ।

नेपालले त्यहाँको प्रविधि अपनाए खुम्बु आइसफलमा हुने मृत्युका घटना टार्न सकिन्छ ।’ उनीसँगै गएका आरोही तथा गाइड पासाङ नोरु शेर्पाका अनुसार अल्पाइन शैली पनि भनिने यस प्रविधिमा ढुंगामै स्थायी किला राख्नुपर्छ । डोरी भने हरेक सिजनमा बदल्नुपर्ने हुन्छ ।

कात्तिक २२ मा नेपाली गाइड पासाङसहित ७ फ्रेन्च आरोही तथा गाइडको टोली १४ दिनको अध्ययन सकेर मंसिर ५ मा काठमाडौं फर्किएको थियो । यसअघि फागुनमा नेपाल आएका मार्कसहित तीन जनाको टोलीले हेलिकोप्टरबाट उक्त रुटको रेकी र फोटोग्राफी गरेको थियो । तीनपटक आफू त्यहाँ पुगेको मार्कले बताए । उनका अनुसार खुम्बु आइसफल छल्दै गोरक्सेपबाट नुब्चे हिमालको फेदी हुँदै ६ हजार ६५ मिटरको उचाइमा रहने पहिलो शिविर पुग्न कम्तीमा २२ घण्टा लाग्नेछ । खुम्बु आइसफलबाट पहिलो शिविरसम्म पुग्न लाग्ने समयको दाँजोमा यो रुटमा लाग्ने समय भने बढी हो ।

आफ्नो योजना सफल भए खुम्बु आइसफलमा मृत्यु भएका नेपाली आरोही बाबुछिरी शेर्पाको नाममा नेपाल सरकारले यस रुटको नामकरण गर्नुपर्ने उनको भनाइ छ । उनले आफूले पत्ता लगाएको रुटलाई ‘प्राविधिक रूपमा गाह्रो भए पनि सुरक्षित’ रहेको दाबी गरेका छन् । यो रुट पत्ता लगाउन ३६ लाख रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ ।

यसपटक उनले रुट पहिल्याउन साथमा ४२ वर्षीय कान्छो छोरा एलन र ७४ वर्षका गाइड गेराडसहितको टोली दुई साताका लागि नेपाल ल्याएका थिए । उनी ५ हजार ८ सय मिटर उचाइसम्मका लागि पदयात्रा अनुमति लिई गोरक्सेप पुगेका थिए । त्यसमाथि आरोहण अनुमति लिनुपर्ने भएकाले उनी पहिलो शिविर नपुगी फर्किएका थिए । मार्क यसपटक आफू ७० वर्ष पुगेको खुसियालीमा बिना बोतल अक्सिजन यही बाटो सगरमाथा आरोहण गर्दै छन्, जसमा छोरालाई पनि साथै लैजाने उनको योजना छ ।

फ्रान्समा ‘सगरमाथाका धावक’ उपनामले कहलिएका मार्कले २०४५ सालमा बिनाअक्सिजन २२ घण्टा २९ मिनेटमा सगरमाथा आरोहण गरेका थिए । बोतलको अक्सिजनबिना विश्वकै सर्वोच्च हिमचुचुरो आरोहणको उक्त रेकर्ड १६ वर्षपछि नेपाली शेर्पाले तोडेका थिए । उनले सगरमाथाबाहेक धौलागिरि, मकालु र पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो केटु हिमालसहित ६ हिमाल बिनाबोतल अक्सिजन आरोहण गरिसकेका छन् ।

फ्रान्समा चर्चित माउन्टेन गाइड र लेखकको पहिचान बनाएका मार्क पेन्टर पनि हुन् । उनले सन् १९७७ मा पहिलोपटक नेपाल भ्रमण गरेका थिए । त्यसबेला अन्नपूर्ण फन्को लगाउँदै पिसाङ हिमाल पनि आरोहण गरेको उनले सुनाए ।

प्रकाशित : मंसिर १८, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरी बढुवामा तक्माको अंक कटौती

२० हजार प्रहरीलाई बढुवाको अवसर, अवकाशअघि डीएसपीको स्वतः बढुवा
मातृका दाहाल

काठमाडौँ — नेपाल प्रहरीमा अब कर्मचारी बढुवाका लागि तक्माको मूल्यांकन नहुने भएको छ । सरकारले ‘प्रहरी नियमावली २०७१’ संशोधन गर्दै बढुवा हुँदा विभूषणबापत पाउने २ नम्बर कटौती गरेको हो । नयाँ नियममा बढुवाका प्रतिस्पर्धीमध्ये वरीयताक्रममा अगाडि रहेका उम्मेदवारलाई २ नम्बर स्वतः दिने व्यवस्था गरिएको छ ।

यसअघि बढुवामा नम्बर जोडिने भएकाले तक्मा पाउन प्रहरी कर्मचारीमा शक्तिकेन्द्र धाउने चलन थियो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा नपरे पनि सत्ता र शक्तिसँग पहुँच भएका प्रहरी कर्मचारीले हरेक वर्ष विभूषण पाउने गरेका थिए । संगठनको नीति र सिफारिसविपरीत कर्मचारीले विभूषण पाउन फौजको ‘चेन अफ कमान्ड’ लाई समेत चुनौती दिन थालेको र यसबाट बढुवाका ज्येष्ठ सदस्यलाई समेत मर्का परेको निष्कर्ष निकाल्दै प्रहरी प्रधान कार्यालयले बढुवा मूल्यांकनमा विभूषणबापत पाउने नम्बर कटौतीको प्रस्ताव गरेको थियो ।

केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले विभूषणबाट पाउने नम्बर कटौती गर्दै त्यो अंक वरीयताक्रममा अगाडि रहेका ज्येष्ठ सदस्यलाई थपिने व्यवस्था गरेको हो ।

सरकारले हरेक वर्ष संविधान दिवसमा प्रहरीसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई विभूषण घोषणा गरी वैशाख १ गते प्रदान गर्ने गरेको छ । एक पटक पाएको विभूषणअन्तर्गत एक पटकको बढुवाका लागि २ नम्बर जोडिन्छ । वरीयताक्रममा अगाडि रहेका प्रहरी कर्मचारीले बढुवा हुँदा ज्येष्ठ सदस्यबापत अधिकतम २० नम्बर पाउने प्रावधान छ ।

प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले प्रहरी नियमावलीको नवौं संशोधनमार्फत बढुवाका क्रममा विभूषणबापत उम्मेदवारले पाउने २ नम्बर कटौती गरेर बढुवाका दाबेदार ज्येष्ठ सदस्यलाई थपिने प्रावधान समेटिएको बताए । ‘विभूषणको अंक कटौतीले संगठनबाट सिफारिस भएर गएको बाहेक गलत परिपाटीबाट विभूषण पाउने प्रवृत्ति अन्त्य गर्न र फौजमा चेन अफ कमान्ड कायम गरिराख्न मद्दत पुग्छ,’ उनले भने ।

प्रहरी नियमावली २०७१ को नवौं संशोधनमार्फत मन्त्रिपरिषद् बैठकले प्रहरीमा ७ पद थप गरेको छ । प्रहरी कार्यालय सहयोगीका ४ र जवानदेखि नायव निरीक्षकसम्म ३ वटा थप पद सिर्जना गरिएका हुन् । प्रहरी सेवा प्रवेश गरेका कार्यालय सहयोगी जुन पदमा प्रवेश गरेका हुन्, त्यही पदबाट अवकाशमा जानुपर्ने प्रावधान रहेकामा संशोधित नियमले वरीयताअनुसार श्रेणी विभाजन गरी प्रथमदेखि पञ्चमसम्म हुने व्यवस्था गरेको छ ।

अब कार्यालय सहयोगीमा सेवा प्रवेश गरेका प्रहरी कर्मचारी अनिवार्य अवकाशसम्ममा निजामती सेवाको ‘सुब्बा’ तहसम्म बढुवा हुन सक्नेछन् । यसैगरी सिपाहीदेखि नायब निरीक्षकसम्म चारवटा पद मात्रै भएकामा सहायक हवलदार, वरिष्ठ हवलदार र वरिष्ठ सईका दर्ज्यानी चिह्नसहित तीनवटा पद थप गरिएका छन् । अहिले सईको दर्ज्यानीमा २ वटा तारा रहेकामा अव तीनवटा तारा हुने छन् । यस्तै हवलदारको दर्ज्यानीमा ‘एल’ आकारका तीन वटा संकेत रहेकामा अब वरिष्ठ हवलदारमा अहिलेको संकेतमा एउटा ठाडो धर्को थपिनेछ भने सहायक हवलदारको दर्ज्यानीमा एल आकारका दुईवटा धर्का रहने छन् ।

नयाँ दर्जा सिर्जनाले सरकारलाई आर्थिक दायित्व थपिदिएको छ । तर, प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले माथिल्लो तहमा पद खाली नहुँदा एउटै दर्जामा लामो समयसम्म बस्नुपर्ने अवस्था अन्त्य भएको बताए । ‘कार्यालय सहयोगीदेखि नायव निरीक्षकसम्म ५ वटा पद रहेकामा संशोधत नियमावलीमा थप ७ वटा नयाँ पद सिर्जना गरिएका हुन्,’ उनले भने, ‘यसबाहेक सिपाही र हवलदारको बीचमा सहायक हवलदार, हवलदार र सहायक निरीक्षक (असई) को बीचमा वरिष्ठ हवलदार, सई र निरीक्षक (इन्स्पेक्टर)का बीचमा वरिष्ठ सई हुनेछन् ।’ नयाँ पद सिर्जनापछि बढुवामा कुनै असर नपर्ने र माथिल्लो तहमा पद खाली हुँदा वरीयताक्रममा अघि रहेकाले स्वतः रिक्त पदमा बढुवाको अवसर पाउने उनले बताए । ‘माथिल्लो पदमा दरबन्दी रिक्त हुनेबित्तिकै आन्तरिक (कार्यरत) बाट ४० प्रतिशत बढुवा हुन्छ, यसले कसैलाई पनि असर पुग्दैन, बरु एउटै तहमा बस्नुपर्ने अवस्था अन्त्य भएको छ,’ उनले भने ।

२० हजार प्रहरीलाई बढुवाको अवसर

नियमावली संशोधन भएसँगै थप गरिएका विभिन्न पदमा करिब २० हजार जनाको बढुवा गर्न बाटो खुलेको छ । गृह मन्त्रालयका अनुसार संशोधित नियमावलीमा कार्यरत जवानमध्ये ३३ प्रतिशतसम्मलाई सहायक हवलदारमा बढुवा गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै हवलदारबाट वरिष्ठ हवलदारमा २५ प्रतिशत र प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्ठ नायव निरीक्षकबाट ३३ प्रतिशत बढुवा गर्न सकिने व्यवस्था ल्याइएको छ ।

नयाँ व्यवस्थाअनुसार बढुवाका लागि आन्तरिक तयारी अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार प्रहरीमा कार्यालय सहयोगीदेखि महानिरीक्षकसम्म कार्यरत संख्या करिब ७० हजार छ । त्यसमध्ये जवानमा ४६ हजार २ सय १९ र हवलदारमा १४ हजार छन् । जवान ३३ प्रतिशत बढुवा हुँदा १५ हजार ४ सय ६ जनाले सहायक हवल्दारमा अवसर पाउनेछन् । २५ प्रतिशत हवलदार वरिष्ठ हवलदारमा बढुवा भए ३ हजार ७ सय ४७ जना र ३३ प्रतिशत सई वरिष्ठ सईमा बढुवा भए १ हजार ७४ जनाले अवसर पाउनेछन् ।

अवकाशअघि डीएसपीको स्वतः बढुवा

प्रहरी नियमावली संशोधन गर्दै सरकारले अनिवार्य अवकाशमा जाने अवस्था आए प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्मलाई एक महिना अगावै स्वतः एक तह बढुवा दिने व्यवस्था गरिएको छ । यसअघि एउटै पदमा १२ वर्षसम्म बसेर अनिवार्य अवकाशमा जाने स्थिति रहे डीएसपी तहसम्मका कर्मचारीलाई एक तह मानार्थ बढुवा दिने व्यवस्था थियो । त्यसमा संशोधन गर्दै सरकारले अब एउटै पदमा ८ वर्ष काम गरेर अनिवार्य अवकाशमा जानुपर्ने स्थिति आए एक महिना अगावै एक तह माथिको बढुवा दिइने व्यवस्था गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीले १६ वर्ष सेवा गरेपछि पेन्सन पाउने व्यवस्था गर्न राखेको प्रस्ताव भने गृह मन्त्रालयबाट रोकिएको छ । अर्थ मन्त्रालयले आर्थिक दायित्व बढ्ने भन्दै २० वर्ष अवधि पूरा गरेपछि मात्रै पेन्सन पाक्ने प्रावधानलाई नै निरन्तरता दिएको हो । २०६० अघि भने जवान र हवलदारले १६ वर्ष, असई र सईले १८ वर्ष तथा प्रहरी निरीक्षक र त्यस माथिका कर्मचारीले २० वर्ष सेवा पूरा गरे पेन्सन पाउने प्रावधान थियो । तर, २०६० सालमा प्रहरी नियमावली संशोधन गर्दै त्यसपछि सेवा प्रवेश गरेका सबै दर्जाका कर्मचारीले २० वर्ष अवधि पूरा गरे मात्रै पेन्सनमा जाने प्रावधान ल्याइएको थियो ।

प्रकाशित : मंसिर १८, २०७८ ०६:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×