हाम्रो पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ : माधव नेपाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हाम्रो पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ : माधव नेपाल

रासस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा कार्यकर्ताको उचित मूल्याङकन गरिने बताएका छन् ।

फाइल तस्बिर


नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने बुद्धिजीवी, चिकित्सक तथा इञ्जिनीयरलाई आफ्नो पार्टीमा स्वागत गर्दै उनले आफ्नो पार्टीमा आउने सबैको उचित मूल्याङकन गरिने बताएका हुन् ।

उनले अहिले देशव्यापी रूपमा एकीकृत समाजवादीमा प्रवेश गर्नेको लहर बढेको बताउँदै अबको निर्वाचनमा ठूलो दलका रूपमा आफ्नो पार्टी स्थापित हुने जिकिर गरे ।

अध्यक्ष नेपालले भने, 'अहिले हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ, हाम्रो पार्टी आउँदो निर्वाचन देशव्यापी रूपमा जित्नेछ, हामीसँग टक्कर लिनेहरूको हालत खत्तम बनाउने छौँ ।'

कार्यक्रममा माओवादी केन्द्रका नेता ओमचरण अमात्य, नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु र जयन्द्र अमात्य तथा अन्य पार्टीबाट डा दिनेश भुजु, डा लक्ष्मी शिल्पकार, डा राजन सुवाल, डा प्रकाश सुवाल, डा तिलक श्रेष्ठ, डा अनुपमा अमात्य, इञ्जिनीयर रविन ढुकुछुलगायत एकीकृत समाजवादीमा प्रवेश गरेको जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिए ।

पार्टी प्रवेश गर्नेहरूलाई अध्यक्ष नेपाल, उपाध्यक्ष प्रवेश हमाल, महासचिव डा बेदुराम भुसाल, उपमहासचिव डा विजय पौडेल, सचिव गङ्गालाल तुलाधर, पोलिटब्युरो सदस्य डा राजेन्द्रमान श्रेष्ठ, प्रदेश सचिव लक्ष्मण लम्साल, भक्तपुर जिल्ला अध्यक्ष बस्नेतलगायतले पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित : मंसिर १७, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्

स्रोत नखुलेको ९ लाखसहित भारतीय युवक पक्राउ

रासस

महोत्तरी — महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै शुक्रबार सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको ९ लाख रुपैयाँ सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने २४ वर्षीय अभिनव पूर्वे रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीले जनाएको छ ।

नम्बर नखुलेको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेको युवक अभिनवलाई सीमामा खटिएका सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ९ लाख रुपैयाँ बरामद भएको थियो ।

पाँच सय र १००० का नोट मिलाएर जम्मा ९ लाखसहित पक्राउ गरिएको अभिनवलाई आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीमा ल्याइएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ २१:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×