एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो : गगन थापा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले सौराहाबाट पञ्चायत बोकेर काठमाडौं फर्कियो : गगन थापा

सुवास विडारी

मकवानपुर — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।


नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिको उम्मेदवार जगदिश नरसिंह केसीको समर्थनमा हेटौंडामा मत माग्दै थापाले एमालेले १० औं महाधिवेशन गरेको चितवनको नारायणी किनारमा लोकतन्त्रलाई सम्पूर्ण सस्कांरसहित तर्पण गरेर पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका हुन् ।

‘एमालेले पार्टीभित्रको लोकतन्त्रिक संस्कार र विधि पुर्‍याएर नारायणीमा तर्पिसकेको छ । एमालेले चितवनबाट पञ्चायत बोकेर काठमाडौं गएको छ । एमालेमा पलाएको निरंकुशताले भीम रावलहरू मात्रै होइन सबै जल्छन्,’ थापाले भने ।

यस्तै अर्को प्रसंगमा नेता थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबारे टिप्पणी गर्दै राप्रपा महाधिवेशनले आफैँ विश्राम लिन गएको राजालाई जवर्जस्ती ल्याउन खोजेको बताए ।

‘जनताको शक्ति र ताकतबाट र आफ्नो इच्छाले विश्राम गर्न गइबक्सेको महाराजालाई जवर्जस्ती ल्याउछु भन्दै भृकुटी मण्डपमा अधिवेशन चलिरहेको छ । त्यो अधिवेशनपछि पनि पुनरुत्थानवादी शक्ती मैदानमा आउँछ त्यसले पनि कुनै न कुनै वितण्डा मच्चाउछ, त्योसँग लड्न सक्ने ताकत नेपाली कांग्रेसले राख्नुपर्छ,’ उनले भने ।

यस्तै कांग्रेसले विभिन्न शक्तिहरूसँग लड्न प्रदेश अधिवेशनबाटै सक्षम नेतृत्व चयन गर्दै जानुपर्ने बताए । आन्तरिक चुनाव भन्दै लरतरो ढंगले अघि बढे चाहेअनुसारको कांग्रेस नबन्ने उनको भनाइ थियो ।

प्रकाशित : मंसिर १७, २०७८ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्

‘अपांगताका सवालमा पालिकालाई जिम्मेवार बनाइयोस्’

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले अपांगता भएका व्यक्तिसम्बन्धमा बनेका नीति तथा कानुन कार्यान्वयनमा स्थानीय तहलाई जिम्मेवार बनाउन राष्ट्रिय अपांग महासंघ नेपालले माग गरेको छ । ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा शुक्रबार महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नीति–नियमहरूका बारेमा स्थानीय तहलाई अभिमुखीकरण गर्नुपर्छ र अपांगता भएका व्यक्तिको अधिकारको पक्षमा काम गर्न र गराउन जिम्मेवार बनाउनुपर्छ ।’

हरेक मन्त्रालयले आफ्ना वार्षिक कार्यक्रम र नीतिमा बजेटसहित समेट्नुपर्ने, हरेक पालिकामा अपांगता भएका व्यक्तिको सही तथ्यांक राख्ने व्यवस्था र प्रणालीमा एकरूपता ल्याउनुपर्ने महासंघको माग छ । अपांगता परिचयपत्र वितरणलाई व्यवस्थित र वैज्ञानिक बनाउनुपर्ने, बौद्धिक अपांगता, अटिजम, श्रवणदृष्टिविहीन, हेमोफेलिया, ह्वीलचियर प्रयोगकर्ताहरूका लागि विशिष्टीकृत कार्यक्रम ल्याई लागू गर्नुपर्नेमा पनि विज्ञप्तिमा जोड दिइएको छ । स्थानीय सरकारले विपद्को अवस्थामा समेत समस्या नबुझिदिँदा आफूहरू राज्यको सेवासुविधाबाट वञ्चित हुनुपरेको महासंघ महासचिव राजु बस्नेतले गुनासो गरे ।


प्रकाशित : मंसिर १७, २०७८ १९:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×