कञ्चनपुरमा ट्र्याक्टर दुर्घटनामा ३ को मृत्यु, ११ जना घाइते- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुरमा ट्र्याक्टर दुर्घटनामा ३ को मृत्यु, ११ जना घाइते

भवानी भट्ट

कञ्चनपुर — पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा शुक्रबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुर्घटनामा परी कृष्णपुर नगरपालिका ९ रैकवारका ६५ वर्षीया द्रोपति राना, ३३ वर्षीया रतन कुमारी राना र ५५ वर्षीय रानी राना रहेका छन् । उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए ।

डिएसपी शाहका अनुसार रैकबारबाट उनीहरु बेदकोट नगरपालिकाको दैजीमा विवाह भोज खान आएका थिए । भोज खाएर फर्किने बेला अर्जुनी ब्यारेक नजिकै विपरीत दिशाबाट आइरहेको जिपलाई साइड दिन खोज्दा से १ त ३८४१ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो । ट्र्याक्टरमा चालकसहित १४ जना सवार थिए ।



प्रकाशित : मंसिर १७, २०७८ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्

पर्सा कांग्रेसमा देउवा समूहको वर्चस्व

भूषण यादव

वीरगन्ज — कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सामा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा देउवा समूहको वर्चस्व देखिएको छ । जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीका अनुसार चार निर्वाचन क्षेत्र रहेको जिल्लामा दुई पदेन सदस्यसहित कूल एक सय ४ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

जसमध्ये २० महाधिवेशन प्रतिनिधि संस्थापन इतर समूहका विजयी भएका छन् । पर्सामा महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा संस्थापन समूहका ८४ जना महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।

पर्साको क्षेत्र नम्बर ४ मा केन्द्रीय सदस्य रमेश रिजालको पहलमा सर्वसहमतिमा क्षेत्रीय सभापतिसहित २४ महाधिवेशन प्रतिनिधि चुनिएका थिए । बाँकी ३ वटा निर्वाचन क्षेत्रमा बुधबार निर्वाचन भएको थियो ।

चार जना क्षेत्रीय सभापतिमध्ये एक जना मात्र संस्थापन इतर समूहका विजयी भएका छन् । क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता संस्थापन इतर समूहका हुन् । गुप्ताले आफूलाई नेपाली कांग्रेसको समूह बताएका छन् ।

क्षेत्र नम्बर २ मा मो.सहाबुद्दिन, ३ मा श्रीकृष्ण चौहान र ४ मा श्रीकान्त यादव सभापतिमा निर्वाचित भएका हुन् । सहाबुद्दिन, चौहान र यादव संस्थापन समूहबाट निर्वाचनमा होमिएका थिए । पूर्व सांसद राजेन्द्रबहादुर अमात्य महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । केन्द्रीय निर्वाचन समितिले पर्साको पालिका र जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि गरिने जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ १९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×