कांग्रेस वाग्मती प्रदेशको सभापतिमा ३ जनाको उम्मेदवारी- समाचार - कान्तिपुर समाचार

कांग्रेस वाग्मती प्रदेशको सभापतिमा ३ जनाको उम्मेदवारी

रासस

काठमाडौँ — काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदीश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौं) छन् ।

यसैगरी केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र सर्मथकमा कृष्ण बानियाँ (सवुज) छन् । त्यस्तै अर्का सभापति पदका प्रत्यासी बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा छन् । अर्का उम्मेदवार प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागार्इँ र सर्मथकमा कुन्दनराज काफ्ले छन् ।

उनीहरुले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेर निर्वाचान कार्यालय हेटौँडामा शुक्रबार उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेस वाग्मती प्रदेश समितिको सभापति र पदाधिकारीसहितको प्यानल बानियाँ शुक्रबार उम्मेदवारी घोषणा गरी मनोनयन दर्ता गराएका थिए ।

बानियाँको प्यानलमा उपसभापति पदका लागि मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौं), महामन्त्रीमा राजु श्रेष्ठ (काठमाडौं) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ(सिन्धुपाल्चोक), महेन्द्र थिङ र निरु खड्का (ललितपुर) उम्मेदवार छन् । यससमेत ८३ सदस्य निर्वाचनमा भाग लिनेछन् ।

यसैगरी सभापतिमा प्रत्यासी उम्मेदवार केसीको प्यानलमा उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहनबहादुर बस्नेत, महामन्त्री पदका लागि रामचन्द्र अर्याल (माइकल) र कञ्चनचन्द्र बादेलगायत छन् । निर्वाचनअन्तर्गत यही मंसिर १८ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रदेश प्रतिनिधिका रुपमा चुनिएर आएका करिब दुई हजार १०० मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेले जानकारी दिए ।

अधिवेशनबाट प्रदेश सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री तीनसहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिने भएको छ । प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो ।

प्रकाशित : मंसिर १७, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस लुम्बिनीमा देउवा–पौडेल पक्ष प्यानल बनाएरै चुनावी मैदानमा

माधव ढुंगाना

भैरहवा — नेपाली कांग्रेस लुम्बिनी प्रदेशको निर्वाचनमा संस्थापन र संस्थापन इतर पक्ष छुट्टाछुट्टै प्यानल बनाएरै चुनावी मैदानमा होमिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा समूहले रुपन्देहीबाट प्रतिनिधिसभा सदस्य तथा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहको नेतृत्वमा प्यानल बनाएको छ । 

बिहीबार साँझ पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको शाहको प्यानलमा दुई जना उपसभापति पदका उम्मेदवारमा कपिलवस्तुका सुधाकर पाण्डेय र दाङका राजु खनाल छन् । दुई महामन्त्रीमा बर्दियाका जन्मजय तिमिल्सिना र प्युठानका खिमानसिंह रायमाझी उम्मेदवार छन् ।

सहमहामन्त्रीमा रुपन्देहीकी सरिता चौधरी, बाँकेकी माया पुन र बाँकेकै लक्ष्मीनारायण शाह उम्मेदवार बनेका छन् । संस्थापन समूहको प्यानल घोषणा कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँणले गरेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले रोल्पाका पूर्व सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल घोषणा गरेर निर्वाचनमा केन्द्रित भएको छ ।

पुनको नेतृत्वमा घोषणा गरिएको प्यानलको उपसभापतिमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रुपन्देहीका अष्ठभुजा पाठक, महामन्त्रीमा पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्य, तथा सहमहान्त्रीमा प्युठानकी नीमा गीरी, अर्घाखाँचीका विष्णु खनाल र दाङका खगराज पाण्डेय छन् ।

शुक्रबार बिहान पत्रकार सम्मेलन मार्फत उक्त समूहले प्यानल घोषणा गरेका हो । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य दीपक गिरी र प्रतिनिधिसभा सांसद संजय गौतम लगायतले प्यानल घोषणा गरेका थिए ।

सांसद गौतमका अनुसार पुनको नेतृत्वमा प्रदेशका पाका र अनुभवी नेता सहभागी गराएर प्यालन टुंगो लगाइएको छ । शाह रुपन्देही क्षेत्र नम्बर पाँचबाट प्रत्यक्ष निर्वाचित संघीय सांसद हुन् । संस्थापनइतरबाट सभापति पदका उम्मेदवार पुन रोल्पाका पूर्व जिल्ला सभापति र पूर्वमन्त्रीसमेत हुन् ।

बिहीबारबाट सुरु अधिवेशनले प्रतिनिधि मार्फत् प्रदेशस्तरीय पहिलो संगठन संरचना बनाउने छ । प्रदेशको नेतृत्व र समिति छनोटका लागि लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १ हजार ५ सय ८५ प्रतिनिधि भैरहवामा जुटेका छन् । आज प्यानलगतरुपमा उम्मेदवारी दर्ता भइरहेको छ । भोलि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ १५:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×