कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कक्षा १२ को नतिजा प्रकाशित, ३.६ देखि ४.० जीपीए ल्याउने ७ हजार ६३ जना

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको हो ।

कक्षा १२ को नतिजा प्रकाशित, ३.६ देखि ४.० जीपीए ल्याउने ७ हजार ६३ जना

नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३.६ देखि ४.० जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या ७ हजार ६३ रहेको छ । कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको थियो भने बोर्डले उत्तरपुस्तिका परीक्षण गरेको हो । गत वर्ष विद्यालयले नै उत्तरपुस्तिका परीक्षण गर्दा माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको थियो । गतवर्षको तुलनामा उक्त संख्या घटेको अर्यालले जनाए ।

यसपटक ३.२ देखि ३.६ जीपीए ४८ हजार ४९ जना, २.८ देखि ३.२ जीपीए ७० हजार १ जना, २.४ देखि २.८ जीपीए ९९ हजार ५ सय ३७ जना, २.० देखि २.४ जीपीए ७५ हजार ८८ जना १.६ देखि २.० जीपीए २४ हजार ५ सय १५ जना विद्यार्थीले ल्याएका छन् । त्यस्तै ३ हजार ८ सय ७५ जनाले १.२ देखि १.६ जीपीए, २ सय ९६ जनाले ०.८ देखि १.२ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । ०.० देखि ०.८ जीपीए ल्याउने विद्यार्थीको संख्या १० हजार ७३ जना रहेको छ ।

ग्रेडवृद्धितर्फ २८ हजार ४ सय ६६ परीक्षार्थी सम्मिलित थिए । आंशिकमा ६ हजार ८ सय ६१ जनाले परीक्षा दिएका हुन् । उनीहरुको पनि नतिजा सार्वजनिक गरिएको छ । कुल परीक्षार्थीमध्ये ४६ जनालाई मर्यादाविपरीत कार्य गरेकोले निष्काशित गरिएको बोर्डले जनाएको छ ।

४ जना नक्कली परीक्षार्थी र २ जना टिकटक बनाउनेलाई पनि कारबाही गरिएको छ । टिकटक बनाउने परीक्षा केन्द्रका केन्द्राध्यक्ष र निरीक्षकलाई कारबाहीसहित थप विभागीय कारबाहीका लागि शिक्षा मन्त्रालयमा सिफारिस गरिएको अर्यालले बताए । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कोरोनाका कारण दुई पटकसम्म परीक्षा स्थगित भएको थियो । कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रोपटक स्थगित गरिएको थियो । यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो ।

नतिजा एक घण्टापछि https://neb.ntc.net.np/ मा हेर्न सकिने अर्यालले बताए । अहिले नतिजा अपलोडको काम भइरहेको उनले जानकारी दिए । त्यस्तै एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६००मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?