कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुस्त श्रवणलाई सिक्नै समस्या

२०६८ को जनगणनाअनुसार सुनाइसम्बन्धी अपांगता भएका व्यक्तिको संख्या ७९ हजार ३ सय ७ छ । स्कुलमा सुस्तश्रवण भएकालाई प्राथमिकता दिएर सिकाइँदैन । पढाइ वातावरण मैत्रीपूर्ण छैन । कतिपय विद्यालयले भर्ना लिन मान्दैनन्, बहिरा स्कुलमा जान सुझाउँछन् ।
विद्या राई

काठमाडौँ — विराटनगरकी कुशी राय सानैदेखि कम सुन्थिन् । स्कुलमा शिक्षकले पढाएको राम्ररी सुन्दैनथिन् । घरमा मामाले बुझाइदिन्थे । उमेर बढ्दै जाँदा सुनाइ क्षमता घट्दै गएको उनलाई महसुस भए पनि समस्या ठानिनन् । परिवारले पनि बेलैमा उपचारमा ख्याल गरेनन् । कक्षा १० पास गरेपछि अचानक कान बन्द भयो । उपचार गर्न जाँदा डाक्टरले सुनाइसम्बन्धी अपांगता (सुस्तश्रवण) भएको बताए । 

सुस्त श्रवणलाई सिक्नै समस्या

सुनाइ समस्याको सोझो असर रायको दैनिकी र पढाइलेखाइमा परेको छ । उनले सुन्नका लागि कानमा श्रवणयन्त्र राख्नुपर्छ तर पनि राम्ररी सुनिँदैन । चर्को ध्वनिमा नजिक गएर सुन्दा पनि ठम्याउन मुस्किल पर्छ । सुनेर लेख्न सक्दिनन् । शिक्षकहरूलाई एउटै कुरा पटक–पटक सोधिरहनुपर्दा झिँजो मान्छन् । स्वअध्ययनबाटै कक्षा ११ र १२ पास गरिन् । स्नातकमा पनि स्वअध्ययनकै भर पर्नुपरेको छ । यसले गर्दा गुणस्तरीय शिक्षा प्राप्तिमा अवरोध पुगिरहेको मेसेन्जर कुराकानीमा बताइन् ।

उनको सुनाइ समस्या जटिल बनिसकेकाले प्रयोग गरिरहेको श्रवणयन्त्रले काम नगर्ने र नयाँ यन्त्र किन्नुपर्ने डाक्टरले सुझाएका छन् । ३० हजार रुपैयाँमा किनेको यन्त्र प्रयोग गरिरहेकी उनलाई ८० हजार पर्ने नयाँ यन्त्र कसरी किन्ने भन्ने चिन्ता छ । श्रवण यन्त्र महँगो पर्ने भएपछि विकल्पमा सांकेतिक भाषा प्रयोग गर्ने सोच बनाएकी छन् । सांकेतिक भाषा अलिअलि सिकेकी पनि छन् ।

‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४’ अनुसार सुन्नलाई श्रवणयन्त्र राख्नुपर्ने वा ६५ देखि ८० डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्तिलाई सुस्तश्रवण भएको बुझ्नुपर्छ । रायको जस्तै बाध्यताले सांकेतिक भाषामा भरपर्दा बोली विकासमा असर पर्ने सुस्तश्रवण संघ नेपालका पूर्वअध्यक्ष माचाभाइ महर्जनले बताए । ‘हामी बोल्न सक्छौं, सुन्न मात्रै नसक्ने हो, बहिरा स्कुलमा भर्ना गर्दा सांकेतिक भाषा प्रयोग गर्नुपर्छ, बोल्न सक्नेले पनि बिर्सिन्छ,’ उनले भने । उनी सुन्न श्रवणयन्त्र प्रयोग गर्छन् ।

सुनाइ समस्याले पढाइमा पुग्ने अवरोधबारे उनको आफ्नै अनुभव छ । २०४२/४३ सालतिर स्कुल पढ्दा शिक्षकलाई अनुरोध गरेर पहिलो बेन्चमा बस्थे । आईकम, बीकम पढ्ने बेला एउटै हलमा सय/डेढ सय विद्यार्थी हुन्थे । सरले घुमी–घुमी पढाउथें तर उनी सुन्दैनथिए । पढ्दा भोगेको समस्या अढाई दशकपछि पनि उस्तै रहेको उनले बताए ।

सुनाइसम्बन्धी अपांगता भएका व्यक्तिहरू प्रायःजसो विपन्न र सीमान्तकृत समुदायका छन् । सुनाइ समस्याले पढाइमा असर पुगेपछि व्यक्तित्व विकासमा बाधा पुग्छ । उनले सरकार, शिक्षा मन्त्रालय र मातहतका निकायमा श्रवण यन्त्रलगायत सुन्नका लागि सहायता लिइने उपकरण खरिदमा छुट तथा सहुलियत सुविधा दिने, शैक्षिक संस्थामा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिदिन पटक–पटक आग्रह गरे । ‘विदेशका स्कुल, कलेजमा क्याप्सनर, लाउड चेकर, लुप सिस्टमको प्रयोग हुन्छ, श्रवणयन्त्रलगायत उपकरण निःशुल्क उपलब्ध गराउँछन्, यो भए अध्ययनमा सजिलो हुन्थ्यो, शिक्षा मन्त्रालयसँग कुरा राखेको पनि हो, स्रोतसाधन पर्याप्त छैन भन्ने जवाफ आउँछ,’ उनले भने ।

२०६८ सालको जनगणनाअनुसार सुनाइसम्बन्धी अपांगता भएका व्यक्तिहरूको संख्या ७९ हजार ३ सय ७ छ । यसभित्र बहिरा र सुस्तश्रवण दुवैखाले अपांगता भएका व्यक्ति पर्छन् । सुस्तश्रवण संघ नेपालका पूर्वअध्यक्ष महर्जनको भनाइमा स्कुलमा सुस्तश्रवण भएकालाई प्राथमिकता दिएर सिकाइँदैन । पढाइ वातावरण मैत्रीपूर्ण छैन । कतिपय विद्यालयले भर्ना लिन मान्दैनन् । बहिरा स्कुलमा जाऊ भन्छन् । यिनै कुराले गर्दा पढ्न, सिक्न र आत्मनिर्भर बन्न चाहनेलाई निराशा थपिदिने गर्छ ।

रामेछापकी २४ वर्षीया रजिता तामाङको आर्मी बन्ने सपना थियो । २०६९ जेठमा रूखबाट खसेर खुट्टा भाँचिएपछि यसको असर कानसम्म पर्‍यो । उनी एउटा आँखा राम्रो देख्थिनन् । नसुन्ने समस्या पनि थपिएपछि पढ्न लेख्न गाह्रो भयो । २०७० सालमा जसोतसो एसएलसी पास गरिन् । आर्मी बन्ने सपना त्यागेर प्लस टु पढेर जापान जाने सपना देखिन् । गाउँमै ११ कक्षामा पढ्न सुरु गरिन् तर उनले शिक्षकले बोलेकै सुन्दिनथिन् । त्यसपछि पढ्ने मन हुँदाहुँदै छाडिदिइन् । आर्मी बन्ने र जापान जाने सपना त्यागिन् । हाल उनी ललितपुरमा आफन्तकामा बस्छिन् । सहयोग उठाएर कान र आँखाको उपचार गरिरहेको मेसेन्जर कुराकानीमा बताइन् । उनले कानमा श्रवणयन्त्र राखेकी छन् । ‘मेसिनले खासै काम गर्दैन, आवाज ठूलो सुन्ने मात्र रहेछ, बुझ्न निकै मुस्किल छ,’ उनले भनिन् । नक्सालको बहिरा स्कुलमा पुनः कक्षा ११ मा भर्ना गर्ने योजनामा छिन् । सांकेतिक भाषा जानेर भर्ना हुन बहिरा स्कुलले सुझाएको छ । यसले उनलाई दोधारोमा पारेको छ ।

महोत्तरीको गौशाला नगरपालिकाका २३ वर्षीय उमेश धिमाललाई नसुन्ने समस्याले पढ्नै झन्झट लाग्यो । प्लस टु पास गरेपछि छोडिदिए । उनी १६ वर्षको भएपछि कानको नसा सुक्खा भएकाले बोली नसुनिएको थियो । कानमा श्रवणयन्त्र राखेका छन् । १० कक्षासम्म बोर्डिङ पढे । २०७४ सालको एसईईमा ‘ए’ ग्रेड ल्याएर पास गरे । त्यसपछि सरकारी स्कुलमा कक्षा ११ र १२ पढे । स्नातक पढ्ने हिम्मत गर्न सकेका छैनन् । ‘मेसिन प्रयोग गर्छु तैपनि केही बुझिँदैन, अहिले भर्ना गरेको छैन,’ उनले भने ।

स्कुलमा विद्यार्थीलाई मात्रै होइन, शिक्षकलाई पनि उति नै विभेद हुन्छ । झापाका शिक्षक ओमप्रकाश संग्रौलाको अनुभवमा बहिरा, सुस्तश्रवणका विद्यार्थी, शिक्षकलाई अरूले हेर्ने नजर, गर्ने व्यवहार फरक हुन्छ । विद्यालय परिसरभित्रै सुस्तश्रवण भएकालाई खिसिट्युरी गर्ने, हेलाँ गर्ने गरिन्छ । यसले गर्दा विद्यार्थीले राम्रो सिक्ने अवसर पाउँदैनन् । सुस्तश्रवणका शिक्षकले पनि उत्साहित भएर सिकाउन सक्दैनन् । ‘पर्याप्त शैक्षिक सामग्री हुँदैनन्, सेवासुविधा अपुग छ, विद्यालय प्रशासनले कमजोर ठान्छ, भनेजस्तो सिकाउन सकिँदैन,’ संग्रौलाले फोन सम्पर्कमा भने ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा समावेशी शिक्षा शाखाकी निर्देशक दिव्या दवाडीले सुस्तश्रवण भएका विद्यार्थीलाई (उनीहरूको) आवश्यकता अनुसारको शैक्षिक वातावरण बनाउन पहल भइरहेको बताइन् । ‘भर्ना नलिने समस्या हामीले थाहा पाएसम्म सुल्झाइरहेका छौं, छात्रवृत्ति दिने, शैक्षिक सामग्री, अडियो सामग्री उपलब्ध गराउने गर्छौं, क्याप्सनिङको काम भइरहेको छ, सांकेतिक भाषामा कक्षा चलाइरहेका छौं,’ उनले भनिन्, ‘शिक्षकलाई तालिम दिँदा विद्यार्थीहरूलाई पहिलो डेस्क बेन्चमा राखेर पढाउने, शिक्षकले ठूलो स्वरमा बोल्ने, पढाउने सिकाउँदै आएका छौं, विद्यार्थीको आवश्यकताअनुसार पठनपाठनलाई मैत्रीपूर्ण बनाउनेमा संवेदनशील छौं ।’

प्रकाशित : मंसिर १७, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?