१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बुस्टर डोजको तयारी शून्य

अतुल मिश्र

काठमाडौँ — धेरै मुलुकले कोभिडविरुद्ध खोपको दोस्रो वा पूर्ण डोज लिएर ६ महिना नाघेकालाई बुस्टर डोज लगाउन थालिसके पनि नेपालमा तयारी शून्य छ । सरकारले बुस्टर डोजबारे कुनै औपचारिक निर्णय गरेको छैन ।

बुस्टर डोजको तयारी शून्य

न कुनै तयारी सार्वजनिक गरिएको छ, न विचार–विमर्श वा रणनीति बनाउन थालिएको छ । विज्ञहरूले भने लामो समयदेखि बुस्टर डोजका लागि ढिलाइ गर्न नहुने चेतावनी दिँदै आएका छन् ।

ओमिक्रोनका कारण आउन सक्ने कोरोनाको नयाँ लहरको जोखिम कम गर्न तत्काल ४० वर्षमाथिकालाई बुस्टर डोज खोप दिनुपर्ने विज्ञहरूले बताएका छन् । बेलायतले ओमिक्रोनलाई ध्यानमा राख्दै १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउने घोषणा गत सोमबार नै गरिसकेको छ । दोस्रो र तेस्रो डोजबीचको अवधि ६ महिनाबाट ३ महिना घटाउने निर्णयसमेत गरिएको छ । यसअघि बेलायतमा ४० वर्षमाथिका लागि मात्र बुस्टर डोज प्रस्ताव गरिएको थियो । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले पनि सोमबार नै १८ वर्षमाथिका लागि बुस्टर डोज प्रस्ताव गरेको थियो । सीडीसीले फाइजर वा मोडर्ना खोप लगाएको ६ महिनापछि वा जोन्सन एन्ड जोन्सन लगाएको दुई महिनापछि बुस्टर डोज लगाउन प्रस्तावत गरेको हो ।

छिमेकी भारतमा पनि बुस्टर डोजका सम्बन्धमा चाँडै निर्णय लिने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार खोप उत्पादक सिरम इन्स्टिच्युट अफ इन्डियाले बुस्टर डोजका लागि नियमक निकायसँग अनुमति मागेको छ । पाकिस्तानले समेत बुधबार कोभिडको बुस्टर डोजलाई अनुमति दिएको छ ।

खोप विज्ञहरू १८ वर्षमाथिका लक्षित समुदायको ५० प्रतिशतभन्दा बढीले कम्तीमा एक डोज पाइसकेको अवस्थामा संक्रमणको उच्च जोखिम भएका समूहमा बुस्टर डोज लगाउन ढिलो गर्न नहुने बताउँछन् । ‘अहिलेको परिस्थितिमा ४० वर्षमाथिका वा दीर्घरोगी, फ्रन्टलाइनर, प्रतिरोधक क्षमता कम भएकालाई बुस्टर डोज लगाए हुन्छ । ६० वर्षमाथिकालाई त दिनैपर्छ,’ खोप विज्ञ डा. श्यामराज उप्रेतीले कान्तिपुरसँग भने, ‘खोप अभियानलाई थप सशक्त बनाउँदै बुस्टर डोज लगाउन जरुरी भइसक्यो ।’ अनुदानमा आएका खोपको गुज्रने मिति छोटो हुने भएकाले ती खोपलाई बुस्टर डोजका रूपमा प्रयोग गर्न सकिने उनको सुझाव छ ।

हालसम्म मुलुकमा १ करोड ८६ लाख ८६ हजार ६ सय ४९ डोज खोप लगाइएको छ । कुल जनसंख्याको ३३.३ प्रतिशत अर्थात् १ करोड १ लाख २७ हजार ४ सय ७ जनाले एक डोज र २८.२ प्रतिशत अर्थात् ८५ लाख ५९ हजार २ सय ४२ जनाले पूर्ण खोप लगाएका छन् । कोरोनाको दोस्रो लहरको कारक डेल्टा भेरिएन्ट (बी.१.६१७.२) भन्दा ओमिक्रोन ७ गुणा बढी संक्रामक देखिएको विज्ञहरूको भनाइ छ ।

भारतमा भेटियो ओमिक्रोन

छिमेकी देश भारतमा कोभिड–१९ को पछिल्लो भेरिएन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कर्नाटक प्रान्तमा दुई जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरू ६६ र ४६ वर्षका पुरुष छन् । मन्त्रालयका सहसचिव लव अग्रवालले उनीहरूलाई निगरानीमा राखिएको र कुनै गम्भीर लक्षण नदेखिएको उनले बताए ।

६६ वर्षीय पुरुष दक्षिण अफ्रिकाबाट भारत आएका थिए । खोपको पूरा डोज लिएका उनी दुबई हुँदै भारत आएर यसअघि नै आफ्नो देश फर्किसकेका छन् । नोभेम्बर १ मा संक्रमण पुष्टि हुने ४६ वर्षीय पुरुष चिकित्सक हुन् । उनले हालै कुनै देशको भ्रमण नगरेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय राजधानी नयाँदिल्लीमा संक्रमण पुष्टि भएका ६ जना र महाराष्ट्रमा शंकास्पद ६ जनाको नमुना ओमिक्रोन भए/नभएको पत्ता लगाउन जिन सिक्वेन्सिङका लागि पठाइएको छ । अधिकारीले ती नमुनाको परीक्षण नतिजा आउन बाँकी रहेको र अन्य भारतीय सहरमा पनि ओमिक्रोन परीक्षण सुरु गरिएको जनाएका छन् । ओमिक्रोन पुष्टि भएपछि भारतले उच्च जोखिममा रहेका दक्षिण अफ्रिका, बेलायत, न्युजिल्यान्ड, बंगलादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरेको छ । ती देशबाट आएका यात्रुको भारत उत्रनेबित्तिकै स्वास्थ्य परीक्षण गरिने र नतिजा नआएसम्म विमानस्थलबाहिर जान नदिइने अधिकारीहरूले जनाएका छन् । संक्रमण पुष्टि नहुने यात्रुहरू ७ दिन घरैमा क्वारेन्टिन बस्नुपर्ने र त्यसपछि फेरि परीक्षण गर्नुपर्ने जनाइएको छ ।

पछिल्लो समय विश्वव्यापी त्रास फैल्याइरहेको ओमिक्रोन भेरिएन्ट पुष्टि हुने भारत ३० औं देश हो । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पुष्टि भएको थियो । नोभेम्बर ९ लिइएको नमुना परीक्षण पछि दक्षिण अफ्रिकाका स्वास्थ्य अधिकारीले नोभेम्बर २४ मा यो भेरिएन्ट पुष्टि गरेका हुन् । विश्व स्वाथ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोनलाई ‘संक्रमणको उच्च जोखिम’ सूचीमा राखिसकेको छ । ओमिक्रोन ठूलो संख्यामा उत्परिवर्तित भइरहेको र तीव्र रूपमा फैलिइरहेको भन्दै उसले विश्व समुदायलाई सतर्क रहन चेतावनी दिएको छ ।

‘ओमिक्रोन भेरिएन्टमा धेरै उत्परिवर्तनहरू भइरहेका छन् र तीमध्ये केहीले निकै चिन्ताजनक अवस्था सिर्जना गरेका छन्,’ डब्लूएचओले भनेको छ । तर, पहिलेका तुलनामा पछिल्ला उत्परिवर्तन बढी घातक भए/नभएको स्पष्ट भइसकेको छैन । यसअघि, दक्षिण अफ्रिकी स्वास्थ्य अधिकारीले यसअघि फैलिएका अन्य भेरिएन्टको तुलनामा ओमिक्रोन फरक देखिएको र आश्चर्यजनक रूपमा उत्परिवर्तन भइरहेको बताएका छन् । विश्वभर हालसम्म ३० देशमा ओमिक्रोन देखा परिसकेको छ । बिहीबार साँझसम्म यो भेरिएन्टबाट करिब ४ सय जना संक्रमित भइसकेका छन् ।

प्रकाशित : मंसिर १७, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?