विद्यार्थी कुट्ने शिक्षकलाई उन्मुक्ति- समाचार - कान्तिपुर समाचार

विद्यार्थी कुट्ने शिक्षकलाई उन्मुक्ति

अर्जुन राजवंशी

बिर्तामोड — होमवर्क नगरेको निहुँमा एक विद्यार्थीलाई नीलडाम हुने गरी कुटपिट गरिएको घटना सहमतिका नाममा सामसुम पारिएको छ । बिर्तामोड नगरपालिका–५ स्थित सुनगाभा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक विकास पोखरेलले विद्यार्थीलाई निर्घात कुटपिट गरेकामा सामसुम पारिएको हो । वडा प्रतिनिधि, प्रहरी, टोल समितिका प्रतिनिधि, विद्यालय प्रशासन र पीडित पक्षबीच बिहीबार विद्यालयको एउटा कोठाभित्र सहमति भएको जनाइएको छ ।

कक्षा ३ मा अध्ययनरत ९ वर्षीय अविरल तिम्सिनालाई शिक्षक पोखरेलले बुधबार गृहकार्य नगरेको भन्दै बाँसको लट्ठीले निर्घात कुटेको पीडित पक्षको भनाइ छ । कुटाइबाट तिम्सिनाको तिघ्रा, गाला र डढेलोमा नीलडाम बसेको छ । ‘नानीले होमवर्क राम्ररी नगरेको भन्दै यति साह्रो कुटपिट गरेछन्,’ पीडित विद्यार्थीकी आमा अञ्जनाले भनिन् । उनले बालबालिकालाई यसरी यातना दिने शिक्षकलाई कारबाही गर्नुपर्ने माग राखिन् ।

शिक्षक पोखरेलले विद्यार्थीलाई कुटपिट गरेर नराम्रो घटना घटाएको विद्यालयका प्रिन्सिपल मिलन श्रेष्ठले बताए । उनले घटनाका विषयमा पीडित पक्षसँग गल्ती स्वीकार गरी आइन्दा यस्तो घटना दोहोरिन नदिने उल्लेख गर्दै कुटपिट गर्ने शिक्षकलाई बुधबार नै विद्यालयबाट हटाइएको बताए । इलाम घर भई झापाको चारआलीमा बसेर शिक्षण पेसा गर्दै आएका पोखरेललाई जिल्लाका कुनै विद्यालयमा काम नपाउने गरी प्याब्सन/एनप्याब्सनलाई पत्र पठाउने सहमति जुटेको बिर्तामोड–५ का वडा सदस्य लक्ष्मी बाँस्कोटाले बताए । उनका अनुसार कुटपिटबाट नीलडाम बसेको विद्यार्थीको उपचार विद्यालयले गर्ने सहमति जुटेको छ । शिक्षकको कुटाइपछि विद्यार्थी निकै डराएको पीडित परिवारले जनाएको छ ।


प्रकाशित : मंसिर १६, २०७८ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्

अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १ लाख 

मकर श्रेष्ठ

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवार बन्न कम्तीमा १५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिले तोकिएको शुल्क लिएर शुक्रबार उम्मेदवारको मनोनयन गर्दैछ । 

निर्वाचन अधिकृत राजु बस्नेतका अनुसार राप्रपा अध्यक्षको उम्मेदवार हुनेले एक लाख रुपैयाँ उम्मेदवारी दर्खास्त दस्तुत तिर्नु पर्ने हुन्छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यस्तै केन्द्रीय उपाध्यक्षको उम्मेदवारले ७५ हजार, महामन्त्रीले ५० हजार, केन्द्रीय सदस्य बन्न चाहनेले १५ हजार रुपैयाँ दस्तुर तिर्नु पर्ने व्यवस्था गरेको छ । महाधिवेशनले १ सय ९४ जना केन्द्रीय कार्यसमिति चयन गर्ने छ । उम्मेदवारी दर्ताबाट मात्रै पार्टीले कम्तीमा ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको महाधिवेशन स्रोत व्यवस्थापन समितिका एक सदस्यले बताए ।

राप्रपाको महाधिवेशन प्रतिनिधि विवाद भएपछि निर्वाचन प्रक्रिया बिहीबार साँझदेखि सुरु भएको छ । शुक्रबार निर्वाचन हुने भनिए पनि विवाद प्रतिनिधि विवाद टुङ्ग्याउन ढिलाई भएपछि मतदाता नामावली बिहीबार साँझ मात्रै सार्वजनिक गरिएको छ । बस्नेतका अनुसार निर्वाचन प्रक्रिया शनिबार मध्याह्नबाट मात्रै सुरु हुनेछ । उम्मेदवारको मनोनयन भने शुक्रबार हुने उनले बताए ।

प्रकाशित : मंसिर १६, २०७८ २१:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
थप केही समाचारबाट
×