भारतमा देखियो ओमिक्रोन, नेपाल पनि जोखिममा 

विज्ञ भन्छन् –‘खोप सबैलाई र फ्रन्टलाइनरलाई बुस्टर डोज आवश्यक’
बुनु थारु

काठमाडौँ — तीव्र गतिमा फैलिरहेको नयाँ भेरिएन्ट ओमिक्रोन छिमेकी देश भारतमा पुष्टि भएसँगै नेपाल पनि जोखिममा परेको छ । बिहीबार दुई जनामा पुष्टि भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । ६६ वर्ष र ४६ वर्षका पुरुषमा यो भेरिएन्ट पुष्टि भएको छ । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा यो भेरिएन्ट पुष्टि भएकोमा बिहीबार साँझसम्म भारत गरी ३० देशमा  फैलिसकेको छ र ३७५ जना संक्रमित भइसकेका छन् ।

भारतमा देखियो ओमिक्रोन, नेपाल पनि जोखिममा 

विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको यो भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएको र तीव्र रूपमा फैलिने भन्दै वैज्ञानिकहरुले बताइरहेका छन् । दक्षिण अफ्रिका, अमेरिका, क्यानडा, बोट्सवाना, जर्मनी, इजरायल, बेलायत, बेल्जियम आदि देशमा यो भेरिएन्ट देखा परिसकेका छन् ।

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले यो भेरिएन्ट संक्रमणशील भएको अनुमान गरिएकाले संसारमै फैलिरहेको बेला भारतमा देखिनु स्वाभाविक भएको बताए । उनका अनुसार नेपालसँग अझै पनि केही हप्ताको समय बाँकी रहेको छ ।‘नेपालमा आउनै नसक्ने बनाउन त सकिँदैन तर एकैचोटी यो भेरिएन्ट धेरै संख्यामा नआओस् भनेर कोसिस गर्न सक्छौं ’उनले भने ।

उनले हवाईमार्गबाट बढी संक्रमण आउन सक्ने भन्दै आउने यात्रुलाई अनिवार्य क्वारेन्टाइन, खोप लगाए पनि परीक्षण गर्नुपर्ने बताए । डा अनुप भन्छन् –‘भारतमा केश बढ्न थालेपछि नाकामा समस्या हुन सक्छ । स्थायी खालको क्वारेन्टाइन बनाउने कुरा गरिएको छ त्यो तुरुन्त काम थालनी गरिहाल्नुपर्छ । अनि नाकामा परीक्षण गर्न सक्ने बन्दोबस्त गर्न सक्नुपर्छ । त्यसो गर्दा सुरुमा धेरै मान्छे पस्न पाएनन् भने एकैचोटी संक्रमणको संख्या ह्वात्तै बढ्दैन। अलिकति नियन्त्रित तरिकाले बढ्छ र त्यसले हामो स्वास्थ्य संयन्त्रण अस्तव्यस्त बनाउन सक्दैन।’

उनले नेपाल छिर्ने यात्रुको कडाइ नगरे तथा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएन भने ठूलो लहरको सामना गर्नुपर्ने खतरा रहेको औंल्याए । उनका अनुसार खोप सकेसम्म धेरैलाई लगाउन आवश्यक रहेको र फ्रन्टलाइन कर्मचारीहरुलाई बुस्टर डोज लगाउनुपर्ने सुझाए । उनका अनुसार सरकारले अहिले नेपालमा कोरोना संक्रमणको संख्या कम भएको हुँदा नै परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ अहिले नै समुदायमा गरिए परिस्थिति नियन्त्रणभन्दा बाहिर जान सक्दैन ।

ओमिक्रोनको जोखिमका कारण सरकारले बुधबार आवश्यक नपरेको खण्डमा विदेश भ्रमण नगर्न आग्रहसमेत गरेको छ । स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेसन्सिङ र क्वारेन्टाइन गरिरहेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारले भारतमा देखिएसँगै नेपाल पनि जोखिममा भएकाले यसतर्फ सचेत रहेको बताउँदै आवश्यक निगरानी गरिरहेको बताए ।

अहिले विश्वव्यापीकरण यति तीव्र छ कि हामीले कुनै सीमाभित्र भाइरस रहन्छ भन्ने कुरा व्यवहारिक र सम्भव हुँदैहुँदैन । कहीं न कहींबाट एक देशबाट अर्को देशमा जाने सक्ने सम्भावनाहरु एकदमै रहेकोले सरकारले निगरानी गर्ने सकेसम्म चाँडै पत्ता लगाउने, नाकामा प्रवेश गर्ने व्यक्तिलाई अनिवार्य क्वारेन्टिनको व्यवस्थाहरु गरेको छ ।

उनले नेपाल प्रवेश गर्नेले अनिवार्य कोरोना संक्रमणको परीक्षण गरेर आउनुपर्ने व्यवस्था गरिएको बताउँदै त्यसरी आएका व्यक्तिहरुमध्ये संक्रमण पुष्टि भएका नमुनामध्ये जीन सिक्वेन्सिङ गरेर कुन भेरियन्ट हो भन्ने पत्ता लगाउने काम सम्बन्धित निकायहरुसँग समन्वय गरेर कामहरु अगाडि बढिसकेको बताए ।

‘हामीले सिक्वेन्सिङहरु नियमित जीन सिक्वेन्सिङ गरिराखेका छौं र अन्तराष्ट्रिय रुपमा समझदारी भएका निकायहरुसँग पनि समन्वयमा नमुनाहरु पठाइराखेका छौं’, उनले भने ।

उनले संक्रमण फैलिन नदिन देशभित्र जनस्वास्थ्यका मापदण्डका कुराहरुलाई लिएर अलि बढी व्यवहारमा लानुपर्ने जरुरी रहेको बताए छ । ‘तीव्र गतिमा यो बारे सोचिएन र व्यवहारमा ल्याउन सकेनौं भने स्थलमार्गबाट वा हवाई मार्गबाट संक्रमण फैलिने डर छ । कोभिडविरुद्धको खोप अहिले पनि प्रभावकारी रहेको कुरा आएको छ । खोपलाई तीव्र गतिमा सबै मान्छेलाई लगाइ सक्ने गरी कामहरु सरकारले गरिराखेको छ,’उनले भने ।

अहिलेसम्म कहाँ कति देखा परे?

भारत – २

दक्षिण अफ्रिका – १८३

बोत्सवाना – १९

नेदरल्याण्ड्स – १६

हङकङ – ७

इजरायल – २

बेल्जियम – २

बेलायत – ३२

जर्मनी – १०

अष्ट्रेलिया – ८

इटाली – ४

चेकिया – १

डेनमार्क – ६

अस्ट्रिया – ४

क्यानाडा – ७

स्वीडेन – ४

स्विजरल्याण्ड – ३

स्पेन – २

पोर्चुगल – १३

जापान – २

फ्रान्स – १

घाना – ३३

दक्षिण कोरिया – ३

नाइजेरिया – २

ब्राजिल – २

नर्वे – २

अमेरिका – १

साउदी अरेबिया – १

आयरल्याण्ड – १

संयुक्त अरब इमिरेट्स – १

प्रकाशित : मंसिर १६, २०७८ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?