१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सशस्त्रका पूर्व आईजीपी वन्त र कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष महत विरुद्धको अनुसन्धान तामेलीमा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको कसुरमा अनुसन्धानमा तानिएका सशस्त्र प्रहरी बल (एपीएफ)का तत्कालीन महानिरीक्षक (आईजीपी) कोषराज वन्त र कर फर्स्योट आयोगका पूर्व अध्यक्ष लुम्बध्वज महतसहित २१ जनाको मुद्दा तामेलीमा राखेको पाइएको छ ।

सशस्त्रका पूर्व आईजीपी वन्त र कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष महत विरुद्धको अनुसन्धान तामेलीमा

सार्वजनिक पदमा बसेर सरकारी सम्पत्ति दोहन तथा गैरकानुनी सम्पत्ति आर्जन गर्नेमाथि अख्तियार ‘नरम’ बन्ने गरेको आरोप लागिरहेका बेला दुई ‘हाइप्रोफाइल’ सहित २१ बहालवाला तथा पूर्व कर्मचारीको अनुसन्धान फाइल तामेलीमा गएको हो ।

प्रमुख आयुक्तबाट अवकाश पाउनु १ महिना नवीनकुमार घिमिरेको अध्यक्षतामा बसेको आयोग पूर्ण बैठकले पूर्व आईजीपी वन्त विरुद्धको अनुसन्धान तामेलीमा राखेको हो । प्रमुख आयुक्त घिमिरेले २०७७ भदौ २९ मा अख्तियारबाट अवकाश पाएका थिए । अवकाशको एक महिना अघि साउन ५ गते घिमिरेको अध्यक्षतामा बसेको आयोगको पूर्ण बैठकले वन्त विरुद्धको फाइल तामेलीमा राखेको हो ।

अख्तियारले नै २०७२ मा सशस्त्रका चार पूर्व महानिरीक्षकहरु वन्तसहित बासुदेव वली, सनतकुमार बस्नेत र शैलेन्द्रकुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार आरोपमा विशेषमा मुद्दा दायर गरेको थियो । सशस्त्रका लागि बन्दोबस्तीका सामान खरिद र ढुवानीमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको थियो । तर, विशेषले चारैजनालाई प्रमाण नपुग्ने भन्दै आरोपबाट सफाइ दिएको थियो ।

प्रमुख आयुक्त घिमिरेले अवकाश पाउनु केही दिन अघि अन्य तीनजनाको अनुसन्धान पनि तामेलीमा राखिएको पाइएको छ । भदौ २३ मा जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गुल्मीका इन्जिनियर निश्चल काफ्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा कार्यरत सिनियर डिभिजन इन्जिनियर दीपक केसी र भदौ २५ मा राष्ट्रिय योजना आयोगमा कार्यरत शाखा अधिकृत लोकराज बोहरा विरुद्धको अकुत सम्पत्ति आर्जन सम्बन्धी अनुसन्धान फायल पनि तामेलीमा राखिएको हो ।

यसैगरी कर फर्स्योट आयोग–२०७१ का अध्यक्ष महत विरुद्धको अकुत सम्पत्ति सम्बन्धी अनुसन्धान फाइल तामेलीमा राखिएको छ । घिमिरेले अवकाश पाएको करिब ४ महिनापछि कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीको अध्यक्षतामा बसेको बैठकले महत विरुद्धको अकुत सम्पत्ति आर्जन सम्बन्धी फाइल २०७७ पुस २३ को निर्णयबाट तामेलीमा राखिएको अख्तियारले जनाएको छ । अकुत सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानमा अख्तियारले ‘सौदाबाजी’ गर्ने गरेको भन्दै प्रश्न उठ्ने गरेको छ ।

अख्तियारका अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाइ गोरखाका इन्जिनियर रामशरण आचार्य, राजस्व अनुसन्धान विभागका तत्कालीन शाखा अधिकृत मनोजकुमार गौतम, जिल्ला वन कार्यालय बाजुराका तत्कालीन जिल्ला वन अधिकृत धनीचन्द्र ठकुरी, काठमाडौं महानगरपालिकाका उपनिर्देशक साधुराम भट्टराई र धर्म मुनिकार, राजस्व अनुसन्धान विभागका निर्देशक खिमबहादुर कुँवर र नासु रामकृष्ण तिवारी, पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय दमकका प्रमुख दिपककुमार भट्टराई, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत केशवराज ओली विरुद्धको फाइल तामेलीमा राखेको हो ।

यसैगरी अख्तियारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपसचिव कपिलप्रसाद सुवेदी, रसुवा भन्सार कार्यालयका नासु भुपेन्द्रराज मैनाली, मध्पहाडी लोकमार्गका सिनियर डिभिजन इन्जिनियर सूर्यबहादुर भाट, सडक विभागका सुपरिटेण्डेन्ट इन्जिनियर सुशील बाबु ढकाल, पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका तत्कालीन क्षेत्रीय निर्देशक उत्तमलाल प्रधान विरुद्धको फाइल पनि तामेलीमा राखिएको छ ।

प्रेमकुमार राई अख्तियारको प्रमुख आयुक्तमा आएपछि दक्षिण कोरियाका लागि तत्कालीन नेपाली राजदूत स्वर्गीय कमानसिंह लामा र अर्थ मन्त्रालयका उपसचिव डिलबहादुर क्षेत्री विरुद्धको फाइल पनि तामेलीमा राखिएको छ ।

प्रकाशित : मंसिर १६, २०७८ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?