कामु प्रधानन्यायाधीश नतोकिँदा सर्वोच्चमा अझै पेसी तोकिएन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कामु प्रधानन्यायाधीश नतोकिँदा सर्वोच्चमा अझै पेसी तोकिएन

'प्रधानन्यायाधीश बिरामी अस्पताल भर्ना भएको औपचारिक जानकारी सर्वोच्चलाई छैन'
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासम्बन्धी विवादले सर्वोच्च अदालतमा पेसी तोक्न पनि समस्या उत्पन्न भएको छ । बिहीबार १२ बजिसक्दासम्म पनि पेसी तोकिएको छैन । 

सामान्तया: साढे १० बजेसम्म पेसी तोकिँदै आएको छ । बिहीबार भने १२ बजेसम्म पेसी तोकिएको छैन । बुधबारदेखि गोला प्रणालीबाट पेसी तोक्न सुरु गरिए पनि इजलास बस्न सकेको थिएन । प्रधानन्यायाधीश जबरा कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका छन् । तर, कायममुकायम प्रधानन्यायाधीश नतोकिँदा समस्या भएको हो ।

न्यायाधीशहरूले १२ बज्दासम्म पनि गोला नथुतेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । न्यायाधीशहरू अहिले छलफलमा रहेका छन् ।

प्रधानन्यायाधीशको विषयमा छलफल गर्नका लागि नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एसोसिएनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले न्यायाधीशहरूलाई भेटेका थिए ।

'प्रधानन्यायाधीशविहीनताको अवस्था संविधानले परिकल्पना गरेको छैन । एकैसाथ दुई प्रधानन्यायाधीश पनि परिकल्पना गरेको छैन । संविधानको धारा १२९ को व्यवस्थाअनुसार प्रधानन्यायाधीश अशक्त भएर अनुपस्थित भइसकेपछि वरिष्ठतम् न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीश लिने संविधानको जिम्मेवारी हो । तपाईले पालन गर्नुपर्‍यो भन्यौं,' बारको तर्फबाट श्रेष्ठ र शाक्यले भनेका थिए ।

जवाफमा न्यायाधीशहरूले प्रधानन्यायाधीश जबरा बिरामी भई अस्पताल भर्ना भएको जानकारी सर्वोच्च अदालतलाई थाहा नभएको भनेका थिए । 'प्रधानन्यायाधीश जबरा बिरामी भएर विदा बसेको, अस्पताल भर्ना भएको कुरा सर्वोच्च अदालतलाई औपचारिक जानकारी दिनुभएको छैन,' न्यायाधीशहरूले बारका अध्यक्षहरूलाई भनेका थिए ।

सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोक्न सुरु भए पनि प्रधानन्यायाधीशको विवाद बढेसँगै सत्तारुढ गठबन्धनले बिहीबार बिहान विदामा बस्न सुझाव दिएको थियो ।

प्रकाशित : मंसिर १६, २०७८ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्

'विशाल संघर्ष'का लागि तयार हुने उत्तर कोरियाको घोषणा

एजेन्सी

प्योङयाङ — उत्तर कोरियाली नेता किम जोङ उनले रक्षा, कृषि र पूर्वाधारको क्षेत्रमा प्रगति गर्न अर्को वर्ष 'विशाल संघर्ष'का लागि देश तयार रहनुपर्ने बताएका छन् ।

नेता किमले सत्तारुढ वर्कर्स पार्टीको पोलिटब्यूरो बैठकको क्रममा बुधबार यस्तो प्रतिक्रिया दिएका हुन् । पोलिटब्यूरो बैठकले अर्को महिना केन्द्रीय कमिटी बैठक तय गरिसकेको छ ।

उत्तर कोरियाले पछिल्लो समय आर्थिक चुनौतीको सामना गरिरहँदा नेता किमले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनको सत्तारुढ पार्टीले नीतिगत लक्ष्यसहित यस वर्षको सुरुमा सार्वजनिक गरेको पञ्चवर्षीय योजना कार्यान्वयनमा सफलता मिलेको उत्तर कोरियाली सरकारी मिडिया कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ ।

'राज्यको अर्थतन्त्रको स्थिर व्यवस्थापन र कृषि तथा भौतिक निर्माणका क्षेत्रमा ठूला सफलतासँगै राजनीति, अर्थतन्त्र, संस्कृति, राष्ट्रिय सुरक्षा लगायत राज्यका समग्र मामिलामा सकारात्मक परिवर्तन देखिनु उत्साहजनक छ,' नेता किमले भनेका छन् ।

साथै आफूहरूले ठूलो संघर्ष गर्नुपर्ने भएकाले अर्को वर्ष महत्वपूर्ण भएको किमको भनाइ छ । यस्तै आणविक र क्षेप्यास्त्र कार्यक्रम, कोभिड-१९ महामारी र प्राकृतिक प्रकोपका कारण लगाइएका प्रतिबन्धका कारण उत्तर कोरियामा खाद्यान्न र बिजुलीको अभाव उत्पन्न भएको खबर आइरहँदा नेता किमले आफूहरूले अर्थतन्त्र र बिजुली वितरण बढाउने योजना अघि सारेका छन् ।

कोरोना संक्रमणबाट समग्र विश्व नै प्रभावित भइरहँदा उत्तर कोरियाले भने हालसम्म कुनै पनि कोरोना संक्रमितको बारेमा जानकारी दिएको छैन । यद्यपि उत्तर कोरियाले आफ्ना सीमा र घरेलु यातायातमा प्रतिबन्ध लगाएको छ ।

प्रकाशित : मंसिर १६, २०७८ १२:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×